मदिरा विरुद्ध महिलाको अभियानमा प्रहरीको साथ

जुम्ला ः गुठिचौर गाँउपालिका जुम्लाका महिलाहरुले मदिरा विरुद्धको अभियान संचालन गरेका छन् । उक्त अभियानलाई प्रहरीले पुर्ण साथ दिने भएको छ । पछिल्लो समय जिल्लामा मदिरा सेवनकै कारण जवरजस्ती करणी र बलत्कारका घटना बढ्दै गएकोले गुठिचौर गाँउपालिकाका महिलाहरुले यस्तो अभियान संचालन गरेका हुन् ।

अनियन्त्रित मदिरा सेवनका कारण आफ्नो गाँउ, ठाँउमा घटेका वा घट्न सक्ने जवरजस्ती करणी तथा बलत्कार सम्बन्धिका घटना न्यूनिकरण गर्न महिलाहरु संगठित भएका छन् । प्रहरी नायब उपरिक्षक डा.तपनकुमार दाहालको नेतत्वमा गएको जिल्ला प्रहरी कार्यालयको टोलीले गुठिचौर गाँउपालिकाका महिला, जनप्रतिनिधि र समाजसेवि अगुवाहरुका बीच जबरजस्ती करणी, बलत्कार र कानुनी ब्यवस्थाका बिषयमा गरेको अन्र्तक्रिया कार्यक्रममा महिलाहरुले आगामी दिनमा गाउँपालिका भरी जवरजस्ती करणी विरुद्धको अभियान चलाउने बताए । महिलाहरुको भनाई अनुसार अबको एक हत्ताभित्र गाउँपालिका स्तरीय महिला संजाल गठन गरी अभियानलाई निरन्तरता दिईने भएको छ ।
प्रहरीमा परेको उजुरी अनुसार आर्थिक बर्ष २०७१÷७२ देखि अहिले सम्म ६ वटा जवरजस्ती करणीका घटना सार्वजनिक भएका छन् । त्यसमध्ये केही मुद्दा चालु अवस्थामा छन्, भने केही घटनाका अपराधी वा दोषीहरुले कैद भुक्तान गरिरहेका छन् । डिएसपि दाहालले जवरजस्ती करणीका घटना न्यूनिकरण गर्ने ध्ययले महिला संजालले मदिरा विरुद्धको अभियान संचालन गरे प्रहरीले पुर्ण साथ दिने बताए । समाजमा रहेका विकृति र विसंगतिहरु प्रहरी एक्लैले नियन्त्रण गर्न नसक्ने भन्दै सबै बर्ग, समुदाय र निकायले साथ दिएमा समाजमा रहेका सबै विकृतिहरु न्युनिकरण हुदै जाने उनको भनाई छ ।
‘मदिरा सेवनकै कारण समाजमा जवरजस्ती करणी र बलत्कारका प्रयास बढ्दै गएका छन् । सबै घटना प्रहरीकहाँ पुग्दैनन्, त्यसैले अपराधीलाई उम्कन नदिन संयुक्त अभियानको आवश्यक छ’ उनले भने । ‘समाजमा कुनै पनि प्रकारका विकृति गर्ने दोषीलाई उम्कन दिनहुन्न, कानुन अनुसार दण्ड हुनुपर्छ, त्यस्ता घटनाको प्रहरीलाई समयमै सप्रमाण सहित जानकारी दिनुहोस्, हामी कारवाहीको दायरामा ल्याउछौ ।’
समाजमा दिनप्रतिदिन बढ्दै गएको लागुऔषध, मध्यपान सेवन तथा जथाभावी जुवातास खेल्ने क्रियाकलापले करणीका घटना बढ्दै गएको अन्र्तक्रियामा सहभागीले बताए  । गाउँ समाजमा करणीका घटना भएपनि महिलाहरुले सहेरै बस्ने चलन विद्यमान छ, तर उजुरी दिने बानीको भने अझै विकास भएको छैन । करणी वा बलात्कृत भएको कुनै महिलाले उजरी दिएमा पारिवारिक बेईजत हुने, त्यसपछिको बैवाहिक सम्बन्ध बिग्रने, ब्यक्तिगत असुरक्षा हुने लगाएतका परम्परागत कारणले महिलाहरुले अझै हिंसा सहेरै बस्ने  गरेको पाईन्छ ।
प्रत्येक पाँच, सात घरधुरी पिक्छे मदिरा भट्टी छ, मदिरा सेवनकै कारण पुरुषहरुले अपशब्द बोल्छन् । जवरजस्ती करणीका घटना जहिलेपनि हुनसक्ने भएकाले महिलाहरु डरमा छौ’ अगुवा महिला गोमा गिरीले भनिन्, ‘साँझ ६ बजेपछि दानसाँघुदेखि माथितिर एक्लै जान डर लाग्छ, अब हामी महिलाहरु संगठित भएर मदिरा विरुद्ध अभियान संचालन गर्छौ ।’
पाँच लाख खर्च भयो मदिरा नियन्त्रण भएन
यसअघि मदिरा नियन्त्रण अभियानका नाममा गाउँपालिकाले ५ लाख रकम खर्च गरिसकेको छ, तर परिवर्तन भने देखिने गरी भएको छैन । आगामि दिनमा अभियानको नेतृत्व महिलाहरुले लिए, गाउँपालिकाले पनि पुर्ण साथ दिने अध्यक्ष हरीबहादुर भण्डारीले बताए । मदिरा नियन्त्रण अभियानमा आवश्यक कार्ययोजना बनाएर उनिहरुसँगै जिल्लाभर अघि बढ्ने समाबेशी महिला संजालकी अध्यक्ष लक्ष्मीकन्या बुढाको भनाई छ ।

प्रकाशित मिति : २०७५ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस