जुम्लाका आधा दर्जन सरकारी, सवारी प्रहरी नियन्त्रणमा

नन्दराम जैशी

जुम्ला । जिल्लामा पछिल्लो समय सरकारी सवारी साधनको दुरुपयोग बढ्दै गएपछि प्रहरीले ६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । मंगलबार सार्वजनिक विदाको दिनमा मोटरसाईल लिएर मेला हेर्न गएका करीब दुई दर्जनजति सरकारी मोटरसाईकल मध्य ६ वटा बाईक प्रहरीले नियन्त्रत्रणमा लिएको हो । बैशाख १३ गते देखि संचालनमा रहेको प्रादेशिक औद्योगिक व्यापार मेला हेर्न सार्वजनिक बिदाको दिनमा पनि दिनहुँ सरकारी सवारी साधनको प्रयोग हुन थालेपनि प्रहरीले मंगलबार छापाहान्दा ६ वटा बाईक फेला पारेको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख हवल्दार हिरालाल सार्कीका अनुसार प्रहरीको टोलि तत्काल मेलामा पुग्दा ६ वटा बार्ईक भेटिएका हुन् । ‘हाम्रो टोलि पुग्दा ६ वटा मात्र भेटायौ, अरु भागेछन्, भेटिएका मोटरसाईकल नियन्त्रण लिएर कारवाही अगाडी बताईने छ’ उनले भने, ‘विदाको दिन प्रशासनको अनुमति विना संचालन हुने सरकारी सवारी साधन कारवाहिमा पर्नेछन् ।’

यस अघि जिल्ला प्रशासनले बाराम्बार सार्वजनिक सुचना प्रकाशन, प्रशारण गर्दा पनि बिदाको दिन सरकारी सवारी साधन जथाभावी, मनपरी ढंगले आफ्नो नीजि सम्पत्ति सरह प्रयोग हुदै आएका छन् । जुम्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले नै सरकारी सवारीको दुरुपयोग गर्दै आएका हुन् । प्रहरीले मंगलबार नियन्त्रणमा लिएका मोटरसाईलहरु मध्य क १ ब ४६, क १ ब ४०, क १ ब १०, क १ ब ६३, बा २ ब ४३५९ र बा १ ब ६३०२ नम्बरको मोटरसाईकल रहेका छन्, तर कार्यालय भने खुलाइएको छ्रैन ।

जिल्लाका सरकारी कार्यालयदेखि सबै स्थानीय तहले करोडौँ रकम खर्च गरेर वडाध्यक्ष देखि प्रमुख, उपप्रमुख समेतलाई मोटरसाईकल खरिद गरेका छन् । करोडौँ रकममा खरिद गरिएको सवारी साधन सरकारी कर्मचारी र जनप्रतिनिधिहरुले आफ्नो नातेदारदेखि भाईछोराहरुलाई समेत प्रयोग गर्न दिन्छन् । सार्वजनिक बिदाको दिनदेखी मेला, पर्वमा यसरी सरकारी सवारीको दुरुपयोग बढ्दै गएको स्थानीयको गुनासो छ ।

सरकारी सवारीको दुरुपयोग रोकौँ

सरकारी सवारीको दुरुपयोग पुरानै विषय हो । उच्च पदस्थ कर्मचारीका लागि दिइएका र कार्यालय प्रयोजनका लागि विभिन्न तहका कर्मचारीले प्रयोग गर्ने सवारी साधन व्यक्तिगत साधन सरह प्रयोग हुने गरेको छ । सरकारी सवारी साधन दुरुपयोग हुने अनेक तरिका छन् । जस्तो ः सार्वजनिक विदाका दिन निजी काममा सरकारी गाडी चलाउने, अन्य दिन पनि निजी काममा प्रयोग गर्ने र कर्मचारीका परिवार जनले प्रयोग गर्ने गरेको पाइन्छ । यसरी सरकारी गाडीको दुरुपयोग गर्न नहुने नियम छ, तर दुरुपयोग भइरहेको छ ।

दुरुपयोगको अर्को तरिका छ, निजी नम्बर प्लेट प्रयोग । द्वन्द्वकालमा सरकारी गाडी तत्कालीन विद्रोही माओवादीको निशानामा परेपछि त्यसबाट जोगिने उपायका रूपमा केही उच्च पदस्थ कर्मचारीलाई सेतो प्लेटको सरकारी गाडीमा निजीको रातो प्लेट प्रयोग गर्न अनुमति दिइएको थियो । तर अहिले पनि ठूलै संख्यामा रातो प्लेटका सरकारी गाडी निजी सरह प्रयोगमा रहेको पाईन्छ ।

यतिबेला जिल्ला प्रशासन कार्यालय जुम्ला सरकारी गाडीको दुरुपयोग रोक्न अग्रसर भएको छ । प्रशासनले सार्वजनिक विदाका दिन सरकारी गाडी प्रयोग नगर्न निर्देशन दिएको छ । सरकारी कामका लागि प्रयोग गर्नुपर्ने अवस्था भए अनुमतिपत्र अर्थात पास बनाउन भनेको छ । सरकारी गाडीको दुरुपयोग त्यसको सञ्चालन खर्चसँग जोडिएको हुन्छ । तैपनि जुम्लामा सरकारी सवारी दुरुपयोग बढ्दो छ । जसको एक उदाहरण मंगलबार मात्र सार्वजनिक बिदाको दिन प्रहरीले मेला हेर्न प्रयोग गरीएका आधा दर्जन सरकारी मोटरसाईकल नियन्त्रणमा लिई कारवाहि प्रक्रिया बढि बढाईने जनाइएको छ ।

सरकारी गाडीको दुरुपयोग रोक्ने यस किसिमको प्रयास पहिलो होइन, तर दुरुपयोग रोकिएको छैन । यस्ता घटना केही दिन चर्चा बटुल्न सफल भए पनि न दुरुपयोग रोकिन्छ, न त त्यसले वैधानिकता पाउँछ । यस्ता कदमहरु मौसमीमात्रै नभई यसलाई कडाइका साथ निरन्तरता दिनसके दुरुपयोग रोकिन सक्छ । निर्देशन अवज्ञा गर्ने वा कुनै बहाना खोजेर दुरुपयोग गर्ने सम्भावना रहेमा पर्याप्त अनुगमन गर्न र अवज्ञा भएकोमा कारबाही हुनसके मात्रै सरकारी सवारी साधन दुरुपयोग रोकिन्छ ।

प्रकाशित मिति : २०७५ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस