
कर्णाली पोष्ट दैनिक
जुम्ला ः हिमाली जिल्लाको सुगम जिल्ला जुम्लाको पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिका दुई वटा वडा कार्यालय एउटै भवनबाट संचालन भएका छन् । वडा नं ६र७ एउटै छानामुनि संचालन भएर कार्य सम्पादन भईरहेको छ । संघीय संरचना कार्यन्वयनमा आएको बर्ष्दिन वित्यो तर आफ्नै वडापालिकामा कार्यालय स्थापना हुन सकेका छैनन् ।
साविकको पटमारा गाविसको सानो ३ कोठे भवनको एउटै छानोमुनी संचालन भएका दुई वडा कार्यालय स्थापना भएपछि नागरिकलाई भने पुरानै गाविसको सेवा प्रवाह भईरहेको अनुभुति भईरहेको छ । पातारासी गाउँपालिका वडा नं ७ पटमारा महारुद्र आधारभुत विद्यालयका शिक्षक सुर्यबहादुर बुढाले भने ‘स्थानीय सरकारबाट हामी नागरिकले गरेका अपेक्षा सार्थक हुने देखिँदैन, पहिले आफ्नै वडा कार्यालयबाट पाइने सेवा लिन पनि अहिले अर्काको वडामा जानुपर्ने बाध्यता छ । ’
सेवा प्रवाह प्रभावकारी रहेको दावी
दुई वटै वडा कार्यालय संयुक्त रुपमा संचालन भएपनि सेवा प्रवाहमा भने कुनै कमजोरी नरहेको भन्दै सेवा प्रवाहलाई सजिलो, छिटो छरितो रुपमा प्रभावकारी बनाइएको वडा कार्यालयका कर्मचारीहरुले दाबी गरेका छन् ।
कार्यालय छुट्याउँदै जनप्रतिनिधि
पातारासी गाउँपालिका ७ का वडाध्यक्ष लालबहादुर बुढाका अनुसार पटमारा गाउँ र रिनीगाउँ गरी एउटा ७ नम्बर वडा भएको छ । उनले भने ‘दुई गाउँको विवादले गर्दा अहिले पुरानै पटमारा गाविस भवन उर्थुचौतारामा वडा कार्यालयबाट सेवा प्रवाह भईरहेको हो ।’ ७ नम्बर वडा अर्थात पटमारा गाउँ र रिनी गाउँको सेन्टरमा पर्ने खोडीखोला चौतारामा वडापालिकाको कार्यालय राख्न खोज्दा रिनीगाउँका बासिन्दाको सहमति नभएको उनले बताए ।