जुम्ला । जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेर हेलिकोप्टर मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याहइएकी एक गर्भवतीको सफल शल्यक्रिया गरिएको छ। हुम्ला ६ चंखेलीकी १९ वर्षीया वसन्ती शाहीको कर्णाली अस्पतालमा सफल शल्यक्रिया गरिएको हो।
पहिलो पटक गर्भ रहेको र बच्चा पेटमै मरेपछि जिल्ला अस्पताल हुम्लाले सुर्खेत क्षेत्रीय अस्पतालमा रेफर गरिएको थियो। तर, कर्णाली अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालनमा आएकाले हेलिकोप्टर मार्फत जुम्ला ल्याइएको थियो।
जुम्ला पुर्याइएको एक घन्टाभित्रै शल्यक्रिया गरेर आमाको ज्यान जोगिएको हो। स्त्रीरोग विशेषज्ञ चिकित्सक विनोद अर्यालको नेतृत्वको टोलीले शाहीको शल्यक्रिया गरेको थियो।
गर्भवती शाहीको मृत बच्चाको हात बाहिर निस्किसकेको थियो। अहिले आमाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जटिल गर्भवतीको सफल शल्यक्रिया गर्दै आएको छ।