
मानदत्त रावल
जुम्ला । तिला गाउँपालिकाका स्वाथ्यकर्मीहरुले सेवा सुविधा माग गर्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिकाका कार्यरत स्वास्थ्यकर्र्मीले लामो समयदेखि सेवा सुविधा नपाएको भन्दै आइतबातर ज्ञापन पत्र बुझाएका हुन् । ४८ घण्टे अल्टिमेटम दिएका उनीहरुले आफ्नो माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।
तिला गाउँपालिकामा २४ जना स्वास्थ्यकर्मी छन् । उनीहरुले विगत लामो समयदेखि स्थानीय भत्ता र पोसाक भत्ता पाएका छैनन् भने दुई महिनादेखि तलव पनि नपाएको तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदिश नेपालीले बताए । लामो समय सम्म कर्मचारीले काम गरे वापत राज्यले तलव उपलब्ध नगराएको प्रति नेपालीले दुःख व्यक्त गरे । गाउँपालिकालाई छिटो छरितो तलव उपलब्ध गराउन पहल गरिदिन उनले आग्रह गरे । समयमा तलव उपलब्ध नगराए स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवासुविधा समेत रोकिने उनीहरुको चेतावनी छ ।
सरकारले स्वास्थ्यकर्मीलाई दरवन्दी अनुसारको तलव नपठाउनु र भोकभोकै काममा खटाउनु मानवअधिकारको हनन् भएको बताए । उनले भने, ‘धेरै दिन भोकै काम गर्ने अवस्थामा छैनौ, तत्काल तलवको व्यवस्था गर्न माग गरेका छौँ, सरकारले सुनुवाई गरेको छैन ।’ तिला गाउँपालिकामा दुर्गम भत्ता २३ लाखको बजेट आवश्यक हो । तर, चार लाख रुपैया दिइएको छ । पोशाकमा ३ लाख ६० हजार रुपैया पठाउनु पर्नेमा डेढ लाख रुपैया मात्र आयो । महंगी भत्ता ६ लाख रुपैया पठाउनु पर्नेमा १ लाख ९२ हजार रुपैया पठाएपछि स्वास्थ्यकर्मीलाई तलव सुविधा उपलव्ध गराउन समस्या भएको हो ।
स्वास्थ्य संयोजक नेपालीका अनुसार स्वास्थ्यकर्मीको तलव गाउँपालिकामा सवा करोड आउनु पर्नेमा ७० लाख ९६ हजार रुपैया मात्रै उपलव्ध हुँदा समस्या भएको हो । अहिले खान, वस्न, दैनिक गुजारा चलाउन निकै कठिन भइसकेको स्वास्थ्यकर्मीहरु बताएका छन् ।
एक महिना अघि कोलेनिका मार्फत थप बजेट पठाउनको लागि मन्त्रालयमा माग गरिएकोमा अहिले सम्म सुनुवाई हुन सकेको छैन । चालु आर्थिक वर्षको हालसम्म तलव सुविधा पाइएको छैन, अर्को बर्ष पनि पाउने नपाउने कुनै ठेगान छैन, स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । संघियताले शिक्षा, पशु, कृषिका कर्मचारीलाई सवै सुविधा उपलव्ध गराइसकेको भन्दै स्वास्थ्यकर्मीलाई भोकभोकै मार्न लागेको स्वास्थ्यकर्मीको आरोप छ ।
जिल्लामा झण्डै दुई सय स्वास्थ्यकर्मी छन् । जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल र क्षेत्रिय स्तरका स्वास्थ्यकर्मीलाई सवै सुविधा दिइसकेको बेला स्थानीय तहका स्वास्थ्यकर्मी मारमा परेका छन् । जेठ महिनाको अन्तिमसम्म स्वास्थ्यकर्मीको सेवा सुविधा वारे सरकार जिम्मेवार नभए खोप सेवा, सुत्केरी सेवा, स्वास्थ्य संस्थामा हुने इमरजेन्सी सेवा बन्द गरेर सडकमा आन्दोलनका लागि उत्रिने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन ।
सरकारले स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको मागको सुनुवाई नगरे सवै स्वास्थ्य संस्था बन्द गरेर सदरमुकाम केन्द्रित आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी उनीहरुले गरेका छन् । जुम्लाका स्वास्थ्यकर्मीले स्थानीय तहले पनि स्वास्थ्यकर्मीका सेवासुविधाका लागि पहल नगरेको प्रतिक्रिया दिएका छन् । गाउँपालिका अध्यक्ष रतननाथ यौगीले स्वास्थ्यकर्मीका माग जायज रहेको भन्दै आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।