चन्दननाथ नगरपालिकाको प्राथमिकतामा, मेयर रोजगार कार्यक्रमदेखि जमिनभित्र तार

नन्दराम जैसी

जुम्ला । चन्दननाथ नगरपालिका जुम्लाले मेयर रोजगार कार्यक्रम संचालन गर्ने भएको छ । नगरपालिकाले आईतबार सार्वजनिक गरेको आर्थिक बर्ष ०७५÷०७६ को बजेट, निति तथा कार्यक्रममा मेयर रोजगार कार्यक्रमलाई नमुनाको रुपमा संचालन गर्ने उल्लेख गरीएको छ । सो कार्यक्रम नगरपालिका भित्रका विपन्न, दलित, जनजाति तथा पिछडिएका र बेरोजगार युवा समुदायहरुको सघन बसोबास भएका वडाहरुमा आ.ब ०७५÷०७६ देखि लागु हुने भएको छ ।

बजेट, निति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमेयर अप्सरादेवि न्यौपानेले मेयर रोजगार कार्यक्रम संचालनका लागि तत्काल कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याईने बताईन् । ‘यो कार्यक्रमले महिला, दलित, युवा तथा फरक क्षमता भएका बेरोजगार ब्यक्तिहरुलाई समेट्ने गरी सार्वजनिक निर्माण कार्य मार्फत न्युनतम एक बर्षको ६० दिन बराबरको रोजगारी सृजना गरीने छ’ उनले भनिन्, ‘मेयर रोजगार कार्यक्रम संचालनपछि एउटै बर्षमा कम्तिमा ४ सय ५० जना विपन्न परीवारका सदस्यले रोजगार पाउने छन् ।’ यो कार्यक्रम संचालनका लागि नगरपालिकाले आवाश्यक अनुरुप बजेट विनियोजित गर्नेछ । भने कार्यक्रम कार्यान्वयनका लागि संघिय सरकारसँग १ करोड र प्रदेश सरकारसँग ५० लाखको बजेट माग गरीएको छ ।

यस्तै बजेट, निति तथा कार्यक्रमले नगरपालिका भित्र टेलिफोन, विधुत्, केबुल लगाएत अन्य लथालिंग अवस्थामा रहेका लाईन तारहरुलाई ब्यवस्थीत गर्न जमिनभित्र तार बिछ्याउने कार्यक्रम ल्याईएको छ । जसका लागि सरोकारवालाहरुसँग समन्वय गरी आवाश्यक बजेट छुट्याईने भएको छ ।

नगरक्षेत्रको विकासका लागि विभिन्न महत्वकांक्षी निति तथा कार्यक्रम सहित नगरपालिकाले आ.ब ०७५÷०७६ का लागि आईतबार कुल ३७ करोड ४९ लाख ३ हजारको प्रस्तावीत बजेट सार्वजनिक गरेको छ । सोहि बजेटको आधारमा नगरको फोहोरमैला ब्यवस्थापन, ल्याण्डफिल्ड साईड निर्माण, बालमैत्रि नगर घोषणा, कृषि क्षेत्रलाई आधुनिकिरण र ब्यवसायीकरण गर्न ८ ‘स’ मिसन, ब्यवस्थीत शहर विकास गर्न गुरु योजना, भू उपयोेग योजना, विकास निर्माणमा वान डोर प्रणाली, लगानी सम्मेलन, आफ्नो टोल आफै सुधार, डिपिआर निर्माण, नगर गुरु योजना स्विकृत, टुक्रे योजना निरुत्साहीत लगाएत नगरपालिकाको प्रशासनिक सेवा प्रवाहलाई मुस्कान सहितको सेवा प्रवाहको निति अख्तियार गर्ने कार्यक्रम ल्याईएको छ ।

प्रकाशित मिति : २०७५ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस