शान्ति सुरक्षा सुनिश्चितता गर्न स्थानीय प्रशासनलाई आग्रह

जुम्ला ः राष्ट्यि मानवअधिकार आयोग जिल्ला शाखा जुम्लाले एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनलाई शान्ति सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेको छ ।


आयोगको जिल्ला शाखा जुम्लाका प्रमुख रमेश कुमार थापाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ चन्दननाथ नगरपालिका–२ का नयाँ शक्ति पार्टी जुम्लाका पूर्व जिल्ला संयोजक तथा केन्द्रीय सदस्य राधाकृष्ण बुढ्थापाको ०७५ साउन २० गते साँझ रहस्यमय तरिकाबाट मृत्यु भएको तथा जुम्ला जिल्लामा केहि दिन यता घटेका विभिन्न आपराधिक घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले घटना सम्बन्धमा अनुगमन गरिरहेको छ । आत्महत्या भनिएका तथा विभिन्न आपराधिक घटनाहरु घटिरहेका र बेवारिसे शवहरु भेटिएको आयोगको आनुगमनबाट पाइएको विज्ञप्तीमा उल्लेख गरेको छ । स्थानीय प्रहरी प्रशासनबाट घटनाहरुको अनुसन्धान भइरहेको अनुगमनबाट बुझिएता पनि घटनाका दोषीहरुलाई कानुनी दायरामा ल्याउन नसक्दा जुम्लाका आमनागरिकहरु भयभित एवं असुरक्षित भएको महसुस गरेका छन् ।
घटना प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, नागरिकको भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको संरक्षणार्थ शान्ति सुरक्षाको सुनिश्चितता गर्न आयोग स्थानीय प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस