पालिकाबाट हराएको २८ लाख विद्यालयको खातामा

जुम्ला ः कर्मचारीको कार्य दक्षताको कमीका कारण तिला गाउँपालिकाको खाताबाट हराएको २८ लाख रकम असुली भएको छ । एक विद्यालयको खातामा भेटिए पछि उक्त असुली गरिएको हो । गाउँपालिकामा कार्यरत शिक्षकहरुलाई गत बर्षको द्रोस्रो चौमासिक तलब खुवाउने क्रममा पालिकाको खाताबाट हराएको २८ लाख रकम देउराली माध्यामिक विद्यालय जुम्लाकोटको खातामा भेटिएको थियो । गत पुस महिनामा देउराली मा.विमा कार्यरत शिक्षकको तलब स्वरुप १७ लाख रकम विद्यलयको खातामा पठाउनु पर्नेमा मानवीय त्रृछिका कारण २८ लाख रकम बढिजाँदा सो रकम हराएको थियो ।

गाउँपालिकाले गत बर्षको अन्तिम चौमासिकमा शिक्षकहरुलाई तलब खुवाउन खोज्दा पालिकामा रकम अपुग भएपछि खोजी गर्दा आठ महिनापछि मात्र रकम पत्ता लागेर असुल गरिएको हो । गाउँपालिकामा रहेका २७ बढि विद्यालयमा कार्यरत सयौँ शिक्षकहरु आर्थिक बर्ष सकिए पनि तलब नपाएको भन्दै साउन पहिलो साता देखि आन्दोलित भए । शिक्षकहरुले तलब माग्दै आन्दोलन गरेपछि पालिकाले तलब भत्ता खुवाउन नसकिने अवस्था आएको थियो । पुस महिनामा हराएको रकमको खोजी नगरी शिक्षकको तलब अपुग भएको भन्दै पालिकाले शिक्षा विभाग, मन्त्रालयमा तलब माग गर्र्यो । तलब, भत्ता माग्दै शिक्षकले गाउँपालिकामा घेराऊ, धर्ना र तालाबन्दी गरेपछि कार्यवहाक अध्यक्ष विष्णु बुढाले एक हप्ता भित्र तलब दिने गरी सहमति गरिन् । एकातर्फ शिक्षक आन्दोलित र अर्कोतर्फ पालिकामा तलब खुवाउने रकम नभएपछि तातोपानी गाउँपालिकाका लेखापाल र तिला गाउँपालिकाका कर्मचारीले रकम अपुग हुन नसक्ने भन्दै मसिनो ढंगले तलबको बारेमा खोजी गरे । खोजी गर्दैगर्दा सो अवसरमा २८ लाख रुपैयाँ देउराली मावि जुम्लाकोटको खातामा हालिएको फेला पर्र्यो । यसबारे सोध्दा विद्यालयले आफ्नो खातामा रकम आएको स्वीकार गर्र्यो । यता गाउँपालिकामा शिक्षकलाई तलब खुवाउन आवश्यक रकम २७ लाख रुपैयाँ हो, तर एउटै विद्यालयमा २८ लाख रुपैयाँ बढि हालेपछि पालिकालाई रकम अभाव भएपछि १८ नम्वर फारम भरेर मन्त्रालय, विभागमा समेत तलबको लागि रकम माग गरियो । यसले गर्दा पालिकाको नियत माथि प्रश्नचिन्ह खडा भएको शिक्षक मानबहादुर शाहीले बताए । यो घटनाले गाउँपालिकाको कार्य सम्पदानमा स्थानीयले शंका गरेका छन् । पालिकाका लेखा अधिकृत, प्रशासकिय अधिकृत र अन्य कर्मचारी तथा देउराली माविका प्रधानाध्यापकले शिक्षक तलवको २८ लाख रुपैयाँ अनियमिता गर्न खोजेको शिक्षकको आरोप छ । पुस महिनामा दोस्रो चौमासिकको तलब हाल्दा एउटै विद्यालयलाई २८ लाख रुपैयाँ बढि भुत्तानी गरिनु र हालसम्म त्यसको कुनै खोजी नभएकोले यो रकममा अनियमितता गर्ने चलखेल भएको पालिकाका प्रवक्ता सन्तविर रावतले बताए ।
यस्तो भन्छन् सरोकारवाला
‘शिक्षक तलवको बारेमा गाउँ कार्यपालिकाको बैठकमा अहिलेसम्म कुनै जानकारी थिएन, लेखापाल, कार्यकारी र गाउँपालिका अध्यक्षको लापारवाही र गैरजिम्मेवारी पनका कारण रकम हराउँदा यहाँका शिक्षक तलब खान बञ्चित भएका हुन्’ कार्यवहाक अध्यक्ष विष्णु बुढाले भनिन्, ‘देउराली माविको खातामा २८ लाख रुपैयाँ एकै रातमा जम्मा भएको छ, त्यो रकममध्य शिक्षकले पटक पटक झिकेर १६ लाख खर्च गरिसकेका छन् ।’ तर लेखापालको दवाव र प्रभावमा प्रधानाध्यापक रामभजन यादवले खर्च भएको १६ लाख एकै दिनमा खातामा जम्मा गरेपछि शंका उव्जिएको उनले बताईन् । कसरी रकम एकै विद्यालयमा यति ठूलो मात्रामा हालियो ? किन लामो समय सम्म खोजीखवरी हुन सकेन, यसको छानविन गर्न शिक्षकहरुले माग गरेका छन् । १८ नम्वर फारम भरेर रकम हुँदा हुँदै बजेटको माग गरी शिक्षकलाई तलव दिन आलटाल गर्नुले कर्मचारीको नियतमाथि शंका उत्पन्न भएको वडा नं ७ का अध्यक्ष हस्तवहादुर बुढाले बताए । गाउँपालिकाका लेखापाल मुनवहादुर खत्रीले भुलवस रकम विद्यालयको खातामा गएको बताए । प्रशासकिय अधिकृत बिष्णुप्रसाद धितालले विद्यालयमा गएको रकमबारे गाउँपालिकालाई कुनै जानकारी नभएको बताए । सो रकमबारे विद्यालयका प्रधानाध्यापकले पालिकालाई जानकारी नगरेको उनको भनाई छ । यता विद्यालयका प्रधानाध्यापक रामभजन यादबले विद्यालयको खातामा बढि रकम आएको बारे लेखापाललाई तत्कालनै खबर गरेको दावी गरेका छन् । ‘लेखापालसँग रकम बढि आएको बिषयमा दुई पटक कुराकानी भएको थियो, मैले उनलाई रकम फिर्ता लिन भनेको थिँए’ उनले भने, ‘बाराम्बार खाता चेक गर्ने र आफै झिकेर रकम फिर्ता दिने कुरो भएन, प्रक्रिया अनुसार पालिकाले रकम फिर्ता लिएन ।’ गाउँपालिका अध्यक्ष रततननाथ योगीले कर्मचारीको अदक्षताका कारण नियतबस नभई भुलबस रकम हराएको बताए । ‘त्यो रकम कसैले हिनामिना गरी खान खोजेको होईन, भुलबस हराएको रकम अवश्य फिर्ता आँउथ्यो’ उनले भने, ‘अब केन्द्रबाट रकम माग हुदैन, भेटिएको सोही रकम शिक्षकलाई तलब खुवाउँछौ ।’ पालिकाको खाताबाट रकम हराउँदा हिसाब नमिलेपछि गत वर्षको फाँटवारी कालेनिकामा बुझाईएको छैन । रकम लेनदेनमा जनप्रतिनिधिको कुनै भुमिका हुदैन । विलभरपाई सवै हेरफेर देखि खाता संचालनमा प्रशासकिय अधिकृत र लेखापालकै बढी भुमिका हुने अध्यक्ष योगीले बताए । उनले भने रकम हराएको र त्यसको खोजीनीति गर्नेका लागि अध्यक्षको जति जिम्मेवारी हुन्छ उपाध्यक्षको पनि त्यतिकै जिम्मेवारी हुन्छ ।

प्रकाशित मिति : २०७५ साउन ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस