मानदत्त रावल
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको छ । स्वास्थ्य संस्थामा औषधि अभावका कारण उपचारका लागि आएका बिरामी फर्केर जाने गरेका छन् ।
औषधि अभावका कारण स्वास्थ्य संस्थाको ढोका खोलेर बस्ने मात्र काम भएको छुमचौर स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश सापकोटाले बताए । ‘औषधि परिपूर्तिका लागि गाउँपालिकामा माग गरेका छौँ तर अहिलेसम्म पूर्ति भएको छैन,’ उनले भने ।
गाउँपालिकामा रहेका चारवटै स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । औषधि अभाव भएको दुई महिना बितिसक्दा पनि गाउँपालिकाबाट उपलब्ध हुन नसकेको इन्चार्ज सापकोटाले बताए । राज्यले तोकेका ३५ प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसकेका कारण जुम्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको उनले बताए । स्वास्थ्य संस्थाहरू स्थानीय तहमा हस्तान्तरण भएपछि जिल्लाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव हुँदै आएको छ ।
स्थानीय तहले औषधि खरिदका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् । बिरामी जाँच गरेर औषधि लिन निजी मेडिकलमा पठाउनुपरेका उनको भनाइ छ । गाउँपालिकामा औषधि माग गर्दा महिनौँ दिन लाग्ने भएका कारण उपचारका लागि आएका बिरामीलाई मेडिकलतिर पठाउनुपरेको जनाइएको छ ।
स्वास्थ्य संस्थामा सबै खाले अत्यावश्यक औषधि र बालबािलकाका लागि दिइने औषधिको समस्या रहेको उनले बताए । रुघाखोकी, दम, झाडापखालाका बिरामी तथा स–साना बालबालिका उपचारका लागि आउने गरेका छन् ।
स्वास्थ्यकर्मीले तलब पाएनन्
त्यस्तै, पातारासी गाउँपालिका स्वास्थ्यकर्मीले चार महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य चौकीमा कार्यरत सबै कर्मचारीले तलब नपाउँदा समस्या भएको छुमचौर स्वास्थ्य चौकीका इन्चार्ज सापकोटाले बताए ।
गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराका अनुसार औषधि खरिद गरेर उर्थुचौतारामा थन्किएको छ । लगातार वर्षात्का कारण उर्थुदेखि डिल्लीचौर सडक खण्ड अवरुद्ध भएकाले सबै स्वास्थ्य चौकीमा औषधि ढुवानी गर्न सकिएको छैन ।
अबको केही दिनमै सबै स्वास्थ्य संस्थामा औषधि पठाइसक्ने अध्यक्ष बोहोराले बताए । स्वास्थ्यकर्मीको तलब रकम फुकुवा नआएकाले समस्या भएको उनको भनाइ छ ।