जुम्ला ः भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका जुम्लामा घुम्ती मेडिकल टोली स्वाब संकलन गर्ने सुरु गरेको छ । जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन सुरु गरिएको हो ।
पातारासीका २९, गुठीचौरका २२, चन्दननाथका २८, तातोपानीका १३ र तिलाका १७ जनाको स्वाब संकलन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
त्यसैगरी हिमाका ४५ जना, कनकासुन्दरीका ४७ जना र सिञ्जा गाउँपालिकाका ५२ जनाको पनि स्वाब संकलन गरिने छ । संघीय सरकारअन्तर्गतको कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन अप्रेसनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली आएर स्वाब संकलन गर्न सुरु गरिएको उनले जानकारी दिइन् । स्वाब संकलन गर्न जिल्लामा तीन स्थान तोकिएको छ ।
पातारासी, गुठीचौर, तातोपानी, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका लागि जुम्ला विमानस्थल, हिमा गाउँपालिकाका लागि देवारगाउँ खेलमैदान र कनकासुन्दरी तथा सिञ्जा गाउँपालिकाका लागि लासीपाटन चौरमा स्वाब संकलन स्थानमा स्वाब संकलन भईरहेको छ ।
कोरोना परीक्षणको स्वाब संकालन गर्नका लागि जुम्ला विमाल स्थलमा कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन अप्रेसन टोलीका डा. रुजु केसीसहित चार जना, हिमा गाउँपालिकाको देवारगाउँ खेलमैदानमा कर्णाली प्रतिष्ठानका ल्याप टेक्नेसियन विबेक पुनमगरसहित चार जना र कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलसहित चार जना चिकित्सकको टोलीसहित अन्य सहयोगी स्वास्थ्कर्मीहरु परिचालन भएका छन्
प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भारत तथा तेस्रो मुलुकबाट भित्रिनेको संख्या धेरै भएकाले जुम्लालाई कोरोना भाइरस संक्रमणको रिक्स जोनमा राखिएकोले संघीय सरकारको ध्यानाकर्षण भएर जुम्ला प्रथामिकतामा परेका बताइन् । उनले भनिन् प्रशासनको तथ्यांक अनुसार २ सय ५३ जना भएपनि उनीहरुको घरपरिवार पनि आएका केही संख्या थप भएको छ । जुम्लामा कोरोना परीक्षणका लागि संकलन गरिएको स्वाब सवै आजै काठमाडौँ पठाउने प्रजिअ बञ्जाडेले बताइन् ।
यसअघि जुम्लाबाट स्वाब संकलन गरेर पठाइएको तीनजनाको रिपोर्ट नेगेटिभ आएको थियो ।