बालबिवाह रोक्न सक्रिय बन्दै कनकासुन्दरीका स्थानीय

जुम्ला । कनकासुन्दरी गाउँपालिकाका स्थानीय बालबिवाह मुक्त गाउँ बनाउने अभियानमा जुटेका छन् । पहिले अशिक्षाका कारण बालबिवाह भएपनि अहिले प्रविधिको दुरुपयोगले बुझ पचाएरै बिवाह भएको भन्दै परामर्श,छलफल तथा दण्डित गरेर भएपनि गाउँमा बालबिवाह रोक्ने अभियान चलाएको कनकासुन्दरी ४ का वडासदस्य सिंहराज सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“अहिले हामीले बालबिवाह अपराध हो भन्ने बुझिसकेका छौ । आत्म सम्मानका लागि सहाकार्य (क्याड) नेपालले बालबिवाह मुक्त गाउँ बनाउने अभियानमा साथ दिएको छ । क्याडले पटक पटक बालबिवाहका असर,कानुनी सजाय,ढिलो विहे गर्दाका फाइँदाका बारेमा तालिम दिएर सचेत बनाएको छ । बालविबाह रोक्न निगरानी समिति बनाएर प्रतिबद्ध भएर जुटेका छौ ।”

बालबिवाह गर्नेलाई वडाको सार्वजानिक सेवाबाट बन्चित गर्नेदेखि बिवाहनै बहिस्कार गर्ने संस्कारको विकास भएको कनकासुन्दरी ६ का लालु नेपालीले बताउनुभयो ।

दलित समुदायमा बालबिवाह बढी भएकोले कनकासुन्दरीका दलित समुदायनै अहिले बालबिवाह रोक्न अग्रसर भएको उहाँको भनाई छ । कनकासुन्दरी गाउँपालिका वडा नं. ४,५ र ६ का दर्जनौ बस्तीलाई बालबिवाह मुक्त बनाउन स्थानीय जुटेका छन् ।

भने,गएको सोमबार र मंगलबार कनकासुन्दरीका ४,५र ६ नम्बर वडामा बालबिवाह तथा छाउपडी न्युनिकरणका लागि अन्तरसंबाद तथा अन्तरक्रिया समेत सम्पन्न भएको क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाइजर शेर बहादुर रोकायाले बताउनुभयो । विगतको तुलनामा छाउपढी कम भएपनि बढ्दो बालबिवाहलाई रोक्न स्थानीयहरुहरुले अभियाननै सञ्चालन गर्न प्रतिबद्ध रहेको उहाँको भनाई छ । उहाँका अनुसार क्याड नेपालले २०१८ देखि सिंजा क्षेत्रका कनकासुन्दरी,सिंजा र हिमा गाउँपालिकामा बालबिवाह न्युनिकरण,छाउपडी प्रथा न्युनिकरणका क्षेत्रमा काम गर्दै आएको छ । सिंजा क्षेत्रका दुर्गम बस्तीलाई बालबिवाह मुक्त गर्ने उदेश्यले प्लानको आर्थिक सहयोग र क्याड नेपालको सहजीकरणमा सिंजा क्षेत्रमा विभिन्न कार्यक्रम भईरहेका छन् ।

तथ्यांक अनुसार जुम्लामा अझै ७० प्रतिशत बालबिवाह हुने गरेको छ । गत आवमा जुम्लाका ८ सय ६० किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन् । जुन बढ्दो बालविबाह पराकाष्ठ हो । जसमा कनकासुन्दरीका मात्रै ९० जना किशोरीले २० वर्ष नपुगी बालबिवाह गरेका थिए । पछिल्लो समय प्रविधिको दुरुपयोग,अभिभावले निगरानी नगरकै कारणले जुम्लामा बाल बिवाह बढेको हो ।

पहिले अशिक्षा,अहिले प्रविधिले बालविवाह बढ्यो
कनकासुन्दरी गाउँपालिका ६ का नरविर सार्कीले २०५५ सालमा करिब १३÷१४ वर्षकै उमेरमा पारिवारिक दबाबले बालविवाह गर्नुभयो । बिवाह गरेको एक वर्षमै श्रीमती गर्भवती भईन् । श्रीमती पनि करिब १४ वर्षकी थिइन् । शारिरिक प्रजनन स्वास्थ्य परिपक्क नभएको र उम्मेर सानै भएका कारण सुत्केरी हुन सकेर श्रीमतीको मृत्यु भयो । नरविर भन्छन,“त्यतिबेला बालबिवाहको कानुन पनि थिएन् । शिक्षाको कुरा धेरै दुर थियो । अशिक्षा,गरिबी,अन्धविश्वासले गर्दा परिवारको दबाबमै बिवाह गरे । जसका कारण श्रीमती गुमाए । भने मैले पढ्न लेख्न पाइन् ।”

अहिलेको जस्तो तालिम,कानुनका कुरा त्यतिबेला भएको भए साहेत बालबिवाह हुन्थेन् । विगत सम्झेर ठुलो पश्चताप लाग्छ । कनकासुन्दरी ६ की धर्मा सार्कीले भन्नुभयो,“अशिक्षाकै कारण मैले १३ वर्षको उम्मेरमा विवाह गरे । अहिले ४७ वर्षकी भए । सानैमा बिहे गरेका कारण गर्वमै ३ बच्चा मरे। शिक्षाबाट पनि बन्चित भए,शारिरिक रुपमा कच्चा भए । सबै त्यतिबेला विवाह हुनुको मुख्य कारण चेतनाको अभाव हो ।”

नरविर र धर्मा जस्तै सयौ महिला पुरुष अशिक्षाका कारण बालबिवाह गरेर पश्चात गरिरहेका छन् । पहिले शिक्षाको अभाव,ऐन कानुन नभएका कारण बालबिवाह गर्यौ । अहिले कानुन छ । शिक्षाको अभाव पनि छैन् । गाउँगाउँमा तालिम चल्छन् । तर पनि बालबिवाह रोकिएको छैन् । कनकासुन्दरी ४ की ५६ वर्षिय छिटु सार्की भन्छन,“अहिले बालबिवाह हुनुको मूख्य कारण प्रविधिको दुरुपयोग हो । ५÷६ कक्षा पढ्ने १२÷१३ वर्षका बालबालिकाको हात हातमा मोबाईल छ । फोन,म्यासेज जस्ता गतिविधिले सानै उमेर बिवाह गर्ने भाग्ने क्रम बढेको छ ।”

आफ्ना बालबालिका प्रति गैर जिम्मेवार अभिभावकै कारण पनि बालबिवाह बढेको पाइएको छ । सामाजिक सञ्जालको दुरुपयोग,फोन म्यासेज जस्ता प्रविधिको दुरुपयोगले बालबालिका बिग्रेका छन् । अझ गाउँमा काममै बढी ध्यान दिने,छोराछोरीलाई फोन दिएर घरभन्दा बाहिर पढ्न पठाउने तर निगरानी नगर्दा बालबिवाह बढेको कनकासुन्दरी गाउँपालिकाका पन्जीकरण शाखा प्रमुख दिपेन्द्र उपाध्यायले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस