जुम्ला । जुम्लाको पुर्वमा पर्ने गुठिचौर गाउँपालिका हुदैँ छिमेकी जिल्ला डोल्पा जोड्ने सडकको शिलन्यास गरिएको छ । गुठिचौर गाउँपालिका ४ को प्याकुरेबाडा–मुडुरी हुदैँ डोल्पा जोड्ने सडक निर्माणका लागि शिलन्यास गरिएको हो ।
जुम्ला सदरमुकाम खलंगाबाट दानसाँघु,गज्र्याङकोट हुँदै डोल्पा जाने सडकमा साना सवारी गडिरहेका छन् । डोल्पा जिल्ला संग व्यापारिक सम्बन्ध विस्तार गर्न,ठुला सवारीको आवतजावतलाई सहज गर्नका लागि साढे २ करोड बढीको लगानीमा सडक निर्माण गर्न थालिएको हो ।
मंगलबार सडक निर्माण शिलन्यास गर्दै गुठिचौर गाउँपालिकाका अध्यक्ष हरि बहादुर भण्डारीले चालु आव भित्रै गुठिचौर ४ को प्याकुरेबाडा–मुडुरी हुदैँ डोल्पा जोड्ने निर्माण सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो,“गुठिचौर देखि डोल्पा सम्म सडक निर्माणका लागि २ करोड ६० लाख बजेट विनियोजना भएको छ । सडक निमार्ण गर्न गुठिचौर गाउँपालिकाको १ करोड ३० लाख कर्णाली प्रदेशको समपुरक बजेटबाट १ करोड ३० गरी २ करोड ६० लाख बजेट छुटाइएको छ ।”
प्याकुरेबाडा–मुडुरी,गोठिगाउँ हुँदै डोल्पा जोड्ने सडक हिउँदको लागि निकै उपयुक्त हुने छ । डोल्पा सडक पुराउनका लागि दुहियाभिड फोड्नु पर्ने अध्यक्ष भण्डारीको भनाई छ । गुठिचौर गाउँपालिकालाई सबैतिरबाट डोल्पा जोड्नको लागि सडक सञ्जाल विस्तार गर्ने तयारी भइरहेको हो ।
सडक शिलान्यास गर्दै अध्यक्ष भण्डारीले सडकको गुणस्तरीयता र मापदण्डको बिषयमा ख्याल पुराएयर काम अघि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । सडकको चौडाइँ,लम्बाइ र गुणस्तरमा ध्याय दिनु पर्नेमा जोड दिनुभयो ।
सडक निर्माणको काम अनुसार बजेट भुक्तानी गर्ने गुठिचौरका प्रमुख प्रशासकिय अधिृत मदन प्रसाद देवकोटाले बताउनुभयो । यो सडक निर्माण पछि जुम्ली नागरिकलाई डोल्पा जान निकै छिटो छरितो हुने र व्यापारिक गतिविधि बढ्ने उहाँको विश्वास छ । सडक निर्माण पहिलो चरण सकिएपछि ग्राभेल तथा स्तरबृद्धिका लागि थप बजेट लगानी गर्न संघ र प्रदेश सरकारलाई माग गरिने भएको छ ।
जुम्ला र डोल्पाको पुर्वी व्यापारी नाका गुठिचौर गाउँपालिका हो । जसमा सडक निर्माणले व्यापारका सामान आयत तथा निर्यात गर्न, सजिलो हुने छ । जुम्लाको जडिबुटी र स्याउ,डोल्पाको बहुमुल्य यार्सागुम्बा सहितका जडिबुटी ओसारपसार गर्न राहत पुग्नेछ । माथिल्लो कर्णालीका गुठिचौर–डोल्पा सडक बहुआयामिक हुने विश्वास गरिएको छ ।
यसका साथै गुठिचौर गाउँपालिकाका ७ वटै वडामा सडक सञ्जालको पहुँच पुगेको छ । सबै वडामा साना सवारी पुगिसकेका छन् । ठुला सवारी गुडाउनका लागि सडक स्तरबृद्धिको कामलाई समेत अघि बढाइएको गुठिचौर गाउँपालिकाले जनाएको छ ।