जुम्लामा यातायात तथा सडक सुरक्षा सचेतना अभियान

जुम्ला । यात्रु बाहक सवारीले रुट प्रमिट बिना कुनै पनि सडकमा सवारी गुडाउन नमिल्ने कानुनी प्रावधान छ । रुट प्रमिट बिनाका सवारी दुर्घटना हुँदा मृत्तक र घाईतेले राहत तथा बिमा भुक्तानी केहि पाउँदैनन् । तर जुम्लाको एयरपोर्ट हुदै उर्थु पातारासी सडकमा वर्षौदेखि रुट प्रमिट बिना धमाधम दर्जनभन्दा बढी अटो,बस,जीप लगायतका सवारी सञ्चालन हुदैँ आएका छन् ।

रुट प्रमिट नलिएर,कागजात नबोकेर क्षामता भन्दा बढी यात्रु कोचेर जुम्ला हुदैँ उर्थु पातारासी सडकमा दैनिक रुपमा दर्जनौ सवारी चल्छन् । यात्रुहरु छिटो छरितो गन्तव्यमा पुग्नका लागि कुनै प्रक्रिया नबुझी महंगो भाडा तिरेर चढ्न बाध्य छन् । ट्राफिक नियम उलंघन गरेर मनपरी रुपमा सवारी सञ्चालन भईरहेका छन् । जसले जोखिम बढेको छ ।
२० वर्षभन्दा पुरा सवारी चलाउन नपाइने नियम भएपनि पातारासी सडकमा रुट प्रमिट बिनाका अगाडी पछिका लाईट सम्म नभएका, बस्ने सिट राम्रा नभएका अतिनै थोत्रा सवारी गुडिरहेको थाहा पाएपछि यातायात व्यवस्था सेवा कार्यालयको आयोजना र ट्राफिक कार्यालय जुम्लाको समन्वयमा पातारासीको उथ्र्रु चौतारामा यातायात तथा सडक सुरक्षा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

कार्यक्रममा रुट प्रमिट नलिएका,कागजात भएको सवारीमा नचढ्न स्थानीयलाई सम्झाइएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोक बहादुर महतले बताए ।

उनले भने,“जनचेतना संगै गरिएको निरिक्षणमा रुट प्रमिट बिना,कागजात नबोकेर क्षामताभन्दा बढी यात्रु बोकेर गाडी चलाइरहेका ४ जनालाई कारबाही गरिएको छ । चाडै प्रक्रिया पुरा गरेर मात्र सवारी चलाउन सम्झाइएको छ । भने नागरिकलाई अबैधानिक सवारीमा नचड्न अनुरोध गरिएको छ ।”

रुट प्रमिट बिनाका सवारीमा चडेर दुर्घटना हुँदा राहत उपचार खर्च केहि नपाउने समेत स्थानीयलाई बुझाएको महतले जानकारी दिए । साथै यातायात व्यवस्था सेवा कार्यालयले प्रदान गर्ने विभिन्न सेवा प्रवाहका बारेमा पनि नागरिकलाई जानकारी गराइएको छ । पातारासी सडकमा ट्राफिक नियम उलंघनका घटना बढेको सूचनाका आधारमा निरिक्षण संगै सचेतना कार्यक्रम लिएर गएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी जवान दिलेन्द्र भट्टले बताए ।

उनका अनुसार रुढ प्रमिट बिना गाडी चलाउने हुने कानुनी कारबाही,क्षामताभन्दा बढी यात्रु हाल्दा हुने जरिवाना,तथा सडक सुरक्षा र दुर्घटना न्युनिकरण कसरी गर्न भन्नेबारे सिकाइएको छ ।

ट्राफिक नियम चालकले मात्र नभइ आम नागरिक र सडकमा यात्रा गर्ने यात्रुले पनि पालना गर्नु पर्ने भएकोले ट्राफिक नियम पालनाबारे प्रष्ट गरिएको प्रहरी जवान पवन कुमार शाहीले बताए । उनका अनुसार सडक र सुरक्षा र यातायातबारे सेचतना गाउँगाउँमा गर्न जरुरी छ ।  यातायात व्यवस्था सेवा कार्यालयको नियमित कार्यक्रम अन्तरर्गत आगामी शनिवार तातोपानीको एैरेनीमा समेत ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

यातायात तथा सडक सुरक्षा कार्यक्रमलाई अभियानकै रुपमा गाउँगाउँमा गएर सञ्चालन गरिने छ ।

बढ्दो सवारी चापलाई व्यवस्थापन गर्नका लागि पछिल्लो समय ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयका कर्मचारी नियमति रुपमा फिल्डमै खटेर काम गरिरहेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस