असिनापानीले तातोपानीका स्याउ बगैचामा क्षती

जुम्ला । भारी असिना पानीले जुम्लाको स्याउ खेतीमा क्षति भएको छ । शनिवार साँझ आएको हावा हुरी संगै परेको असिना पानीले जुम्ला तातोपानी गाउँपालिका वडा न.ं ४,५ र ६ नम्बर वडाका दर्जनौ स्याउ बगैचामा क्षति गरेको छ ।

हावाहुरीले स्याउका विरुवामा लागेको सबै फूलहरु उठाएको र बाँकी रहेका फूलहरु असिना पुर्ण रुपमा नष्ट गरी बोट रित्तै बनाएको तातोपानी ५ लाम्राका स्थानीय तथा पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले बताए ।

उनका अनुसार तातोपानी क्षेत्रका सबै स्याउ बगैचामा असिना पानीले ठुलो क्षति पुराएको छ । असिना पानीले स्याउका विरुवाको फूलमा क्षति पुराएको छ । लाम्राका स्थानीय तथा तातोपानी गाउँपालिकाका स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईले भने,“शनिवार साँझ हावाहुरी संगै आएको असिना पानीले स्याउ खेतीमा ठुलो क्षती भएको छ । फुलहरु सबै झरेपनि तातोपानीको ४,५ र ६ नम्बर वडामा स्याउ उत्पादन घट्ने निश्चित छ । किसानको राहत र उद्दारमा सम्बन्धीत निकायको ध्यान केन्द्रित होस् ।”

जुम्ली किसानको प्रमुख नगदेबालीका रुपमा रहेको स्याउको उत्पादन पछिल्लो जलवायु परिवर्तनका कारण घट्दै गएको छ । यस वर्ष असिना पानीले फूल झारेपछि विगतको भन्दा बढी स्याउ उत्पादन घट्ने भन्दै तातोपानीका किसान चिन्तीत भएका छन् ।

शिखर इन्सोरेन्स कम्पन्नीले प्राकृति प्रकोपबाट हुने क्षती बापतको राहत पाउनका लागि बिमा गर्न भनेपनि किसानले बिमा नगर्दा घाटा खेप्न बाध्य भएका छन् । त्यस्तै शनिवार साँझ लागेको हावा हुरीले तातोपानी गाउँपालिका वडा नं.२ मा रहेको प्रतिक्षलयको जस्तापाता उडाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस