जुम्ला। जुम्लाका किसान यतिबेला यहाँको ऐतिहासिक पहिचानसँग जोडिएको प्रसिद्ध रैथाने बाली कालो मार्सी धान भित्र्याउन व्यस्त छन्। चैत महिनादेखि सुरु हुने लामो खेती प्रक्रिया पूरा गर्दै किसानहरू अहिले कात्तिकमा धान काटेर भित्र्याउन लागिपरेका छन्।
जुम्लामा परम्परागत रूपमा चैत १२ गते बरुवाको दिन धानको बीउ पानीमा भिजाएर राख्ने गरिन्छ। चैत १६ गते बीउ राख्ने वा उमार्ने प्रक्रिया अघि बढाइन्छ भने चैत २० गते बेर्ना छरिन्छ। त्यसपछि करिब एक महिनासम्म बेर्ना हुर्काइन्छ।
बेर्ना तयार भएपछि जेठ महिनामा खेतमा धान रोपाइँ गरिन्छ। रोपाइँपछि असार महिनामा गोडमेल सुरु गरिन्छ भने धानबालीको राम्रो वृद्धि र उत्पादनका लागि दुई पटकसम्म गोडमेल गर्ने परम्परा छ। यसरी चैतदेखि सुरु भएको खेती प्रक्रिया कात्तिकमा धान भित्र्याएपछि पूरा हुन्छ।
कालो मार्सी धान जुम्लाको कृषि उपज मात्र नभई यहाँको इतिहास, संस्कृति र परम्परासँग जोडिएको महत्त्वपूर्ण बाली हो। पुस्तौँदेखि किसानले अपनाउँदै आएको खेती प्रणालीले स्थानीय जीवनशैली र पहिचानलाई निरन्तरता दिँदै आएको छ। मार्सी धानको बीउ राख्नेदेखि रोपाइँ, गोडमेल र भित्र्याउने बेलासम्मका परम्परागत अभ्यासले जुम्ली समाजको कृषि ज्ञान र अनुभवलाई प्रतिबिम्बित गर्छन्।
जुम्लाको चिसो हावापानी र स्थानीय माटोमा उत्पादन हुने कालो मार्सी धान आफ्नो विशिष्ट स्वाद र ऐतिहासिक महत्त्वका कारण परिचित छ। स्थानीय किसानका लागि मार्सी धान खाद्यान्न उत्पादनको माध्यम मात्र नभई पुर्खाले हस्तान्तरण गरेको अमूल्य सम्पदा पनि हो।
यतिबेला पाकेको धान भित्र्याउन किसानहरू बिहानैदेखि खेतमा खटिने गरेका छन्। कामको चटारोका कारण किसानहरू अबेर साँझसम्म मात्रै नभई राति अबेरसम्म पनि खेतमै बसेर धान काट्ने, बोक्ने र सुरक्षित रूपमा भित्र्याउने काममा जुटिरहेका छन्। वर्षभरि गरेको मेहनतले फलाएको बाली भित्र्याउने समयमा किसानहरू थकानको पर्वाह नगरी आफ्नो काममा खटिएका देखिन्छन्।
कालो मार्सी धानको संरक्षण, उत्पादन प्रवर्द्धन र बजारीकरणमा जोड दिन सके यसले स्थानीय किसानको आम्दानी बढाउनुका साथै जुम्लाको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ।




