अभियन्ताको एक कदम,समाज परिवर्तन गर्ने सपना

जुम्ला । समाज परिवर्तनको सपना देख्नु सजिलो छ, तर त्यसलाई व्यवहारमा उतार्नु चुनौतीपूर्ण छ। सपना साकार पार्न अघि बढ्दा अनेकौँ बाधा, अपमान र निराशासँग जुध्नुपर्छ। विशेषगरी जातीय विभेद, छुवाछूत र सामाजिक अन्यायविरुद्ध आवाज उठाउने दलित अधिकारकर्मीको जीवन सङ्घर्ष, त्याग, आशा र पीडाले भरिएको हुन्छ। उसको एक कदम केवल व्यक्तिगत प्रयास होइन; पुस्तौँदेखि दबिएका आवाजलाई बुलन्द बनाउने र समानतामूलक समाज निर्माण गर्ने अभियान हो।

दलित समुदायको अधिकार, पहिचान र सम्मानका लागि काम गर्ने क्रममा मैले समाज परिवर्तन भाषण र नाराले मात्र सम्भव हुँदैन भन्ने अनुभव गरेको छु। यसका लागि निरन्तर प्रयास, जनचेतना, सङ्गठन, इमानदारी र सामूहिक एकता आवश्यक पर्छ। जातका कारण अपमानित व्यक्ति, समुदाय, वर्ग,जात र तिनीहरूको आर्थिक अभावले शिक्षाबाट वञ्चित विद्यार्थी र अवसर नपाएर पछि परेको परिवारको पीडा न्याय नपाएर तड्पिएकाे समाज, घर समाज र संस्कारबाट हेपिएको एउटा नारी जस्ता पीडितका पक्षमा आवाज उठाउनु नै अभियन्ताको मुख्य जिम्मेवारी हो। यही उद्देश्यले मलाई सामाजिक सेवाको यात्रामा अघि बढ्न प्रेरित गरेको छ।

तर अरूको दुःखमा साथ दिने व्यक्तिको आफ्नै जीवन सधैँ सहज हुँदैन। समुदायको हितमा समय र श्रम खर्चिँदा परिवारका आवश्यकता, आर्थिक अवस्था र व्यक्तिगत भविष्य प्रभावित हुन सक्छन्। अरूलाई अघि बढाउन हात समातेको मानिस आफैँ कठिनाइमा पर्दा अपेक्षित सहयोग नपाउनु झन् पीडादायी हुन्छ। 

त्यस्तो बेला मनमा प्रश्न उठ्छ जसको अधिकार र सम्मानका लागि मैले सङ्घर्ष गरेँ, कठिन समयमा मेरो पीडा बुझ्ने मानिसहरू किन कम भए ? अरूका लागि काँध थाप्ने व्यक्तिले आफूलाई अप्ठ्यारो पर्दा सहारा खोज्नुपर्ने अवस्था सामाजिक आन्दोलनका लागि पनि आत्मसमीक्षाको विषय हो।

अभियन्ताको अर्को चुनौती आफ्नो विचार, क्षमता र नेतृत्वको उचित पहिचान स्थापित गर्नु हो। सङ्गठन निर्माण र समुदायलाई एकजुट बनाउन योगदान दिए पनि आफ्ना योजना र विचारले उचित स्थान नपाएको अनुभूति हुन सक्छ। राजनीतिक पूर्वाग्रह, गुटबन्दी र व्यक्तिगत स्वार्थले अभियानको मूल उद्देश्य कमजोर बनाउन सक्छन्। उपलब्धिको श्रेय लिने विवादमा अल्झिँदा समाज परिवर्तनको लक्ष्य ओझेलमा पर्छ तथापि सबै असहमति षड्यन्त्र होइनन् र सबै आलोचना पूर्वाग्रह पनि होइनन् । 

अभियान्तालाई लिएको सबै पाटो पलत र अनविज्ञताले गरेको हो भन्ने ठम्याइ पनि भ्रम हुन जान्छ। त्यसैले अभियन्ताले अरूका विचार सुन्ने, सबैजनाको कुरामा लहि लहिमा लागेर आफ्नो योजना मा हस्बहादुर बन्न पनि सुहाउँदैन । आफ्ना कमजोरी स्वीकार गर्ने र संवादबाट समाधान खोज्ने संस्कार विकास गर्नुपर्छ । मेरो अभिमत नै सर्वपरि हो मान्नपर्छ भन्ने खालको अडान लिन पनि त्यो अभियान्ताको एक कमजोर पक्ष हो अरुकाे मनमा पसेर  सह अस्तित्वलाई स्वीकार गर्नु भनेको भविष्यको मार्ग तय गर्ने एउटा सफल कदम हो।

दलित समुदायको पछौटेपनलाई व्यक्तिगत कमजोरीका आधारमा मात्र बुझ्न सकिँदैन। ऐतिहासिक विभेद, शिक्षामा असमान पहुँच, आर्थिक अभाव, सामाजिक अन्याका प्रताडित हामी र हाम्रा पुर्खाहरूको परम्परागत पेशा धरापमा पर्नु हाम्रा सीप कलाहरू ओझलमा पर्नु हाम्राे समाजका प्रगतिका बाधकहरू हुन त्यसैले अधिकारका लागि आवाज उठाउनुका साथै शिक्षा, रोजगारी, सीप विकास, कानुनी सचेतना र संस्थागत सशक्तीकरणमा जोड दिनुपर्छ भन्ने मेराे ठम्याई हाे । अभियन्ताको सफलता पद वा व्यक्तिगत प्रतिष्ठामा मात्र होइन, समुदायलाई सक्षम बनाउनु र समान अवसरको वातावरण सिर्जना गर्नु हो । 

अबको आवश्यकता विगतका पीडामा मात्र अल्झिनु होइन, अनुभवबाट सिकेर स्पष्ट कार्ययोजना सहित अघि बढ्नु हो । समुदायका आवश्यकता पहिचान गर्ने, प्राथमिकताका आधारमा कार्यक्रम सञ्चालन गर्ने, आर्थिक तथा सङ्गठनात्मक पारदर्शिता कायम गर्ने र नयाँ नेतृत्व विकास गर्ने कामलाई प्राथमिकता दिनुपर्छ। राजनीतिक दल तथा अन्य संस्थासँग सहकार्य गर्दा अभियानको स्वतन्त्रता र मूल उद्देश्य जोगाउनुपर्छ। समस्या उत्पन्न हुँदा आरोपप्रत्यारोपमा अल्झिनुभन्दा संवाद, प्रमाण र विधिसम्मत प्रक्रियाबाट समाधान खोज्नुपर्छ अझै भन्ने हो भने समाजलाई गुम्रामा पारेर आफ्नो एकात्मक ढङ्गले मोनोपोली गर्दा विषयवस्तु एकातिर हाम्रो दौडान अर्कातिर हुन सक्दछ। मलाई लागेको कुरा के छ भने म सधैँ अर्काको हलिया बने। 

म सधैं अर्काको मनमा भिजे। अरुले शासन गरुन् जस्ले नेतृत्व लियपनि हाम्रै दाजु भाइ न हाे ! राम्रै तरिकाले गरुन् बाटा फरक भएपनि हामी पुग्नुपर्ने लक्ष्य र उद्देश्य एउटै हो भन्ने लाग्दछ । त्यसै भएको हुँदा काेहि सधै भरि अर्काको भरिया हुने अरुको साधन बन्दै गए कुनै बेला अरु साधन बनेर त्यो ब्यक्ति साध्य भई उभिएको खण्डमा समाजमा अपाच्य हुन्छ। समाजले अरुलाई आफूभन्दा माथि उठाउनै चाहँदैन। जहिले पनि आफू मालिक र अरु दास हुन् भन्ने मानसिकता बोकेको हुन्छ। माथिल्लोले तल्लोलाई थिच्दै ,तल्लोले तल्लोलाई थिच्दै जाने परम्परा रहन्छ यस्ता अन्याय र विरोधका आवाजहरु उठायो भने अभियान अधुराे र अपुरो हुन जान्छ सधैँ भरि अरुकै भर्‍याङ बनेर अरुकै सह अस्तित्वलाई स्वीकार्दै जाँदा उस्ले अभियान्ताको बाटो बिराउँछ त्यसलाईअभियानको तारो लगाईराख्न सकिँदैन  अभियान भनेको पुल र सहकार्यको भूमिका निर्वाह गर्ने मध्यस्तकर्ताको हो। 

ऊ आफै नेतृत्व होइन र शासक बन्दैन । जसले अर्काको अस्तित्व स्वीकार्दै अरुको राय सुझाव सल्लाहसँग माझिन सक्दछ त्यो अभियन्ता हो। नत्र भने उसले राजनीतिको गन्ध बोकेर अभियन्ताको खोल उडेमा उसलाई समाजले अभियन्ता भनेर स्वीकार्ने वातावरण बन्दैन । 

अभियन्ताको पीडा व्यक्तिगत गुनासो मात्र होइन; यो सामाजिक आन्दोलनभित्रको एकता, नेतृत्व, जवाफदेहिता र मानवीय संवेदनाको परीक्षा हो। समाजले अभियन्ताको योगदानको निष्पक्ष मूल्याङ्कन गर्दै कठिन समयमा साथ दिनुपर्छ। अभियन्ताले पनि आत्मसमीक्षा गर्दै सामूहिक हितलाई प्राथमिकता दिनुपर्छ ब्यक्तिगत होईन ! त्यो कुरा मैले बुझेको छु। यात्रा कठिन हुँदैमा गन्तव्य समाप्त हुँदैन। आजको पीडा भोलिको अनुभव र आजको एक्लो कदम भोलिको सामूहिक अभियान बन्न सक्छ। 

अभियन्ताको एक कदम त्यतिबेला सार्थक हुन्छ, जब त्यसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर न्याय, समानता र मानवीय सम्मानको बाटो खोल्छ।  अभियन्ताको एक कदम सानो देखिए पनि त्यसले समाजमा ठूलो परिवर्तनको आधार तयार गर्न सक्छ। आज उठाइएको आवाज तत्काल सुनिएन भन्दैमा त्यो व्यर्थ हुँदैन। आज रोपिएको चेतनाको बीउ भोलि नयाँ पुस्ताको आत्मविश्वास बनेर उम्रिन सक्छ। तर परिवर्तनको जिम्मेवारी अभियन्ताको काँधमा मात्र छोडेर समाज उम्कन मिल्दैन। परिवार, समुदाय, सङ्गठन र राज्यले पनि उसको प्रयासमा साथ दिनुपर्छ।

राजनैतिक गर्नु शिध्दान्तमा टेकेर बिचारको धरातलबाट समाज परिवर्तनकाे तय गरिन्छ त्यस्ले व्यक्ति माथि उठाउँछ भने अभियानले उत्पिडनमा परेको अधिकारबाट बञ्चित र समाजदेखि राज्यबाट समेत प्रताडित निकायलाई मुक्ति मार्ग तिर डोर्याउदै अधिकार प्राप्तिको खाेजि गर्न  अभिप्रेरित गर्छ । त्यसैले अभियन्ताको भूमिका बढी महत्व देखिन्छ उसले म त्यस्तो गर्दाको भूमिका निर्वाह गर्छ र पुलको काम गर्दछ । 

मेरो निष्कर्षमा, समाज परिवर्तनको यात्रामा लागेको ब्रेक अन्तिम हार होइन, आत्मसमीक्षा र नयाँ सुरुवातको अवसर हो । विगतका अनुभवबाट सिक्दै, कमजोरी सुधार्दै र स्पष्ट कार्ययोजनाका साथ अघि बढ्नु नै अबको आवश्यकता हो। अभियन्ताको वास्तविक सफलता अरूलाई पराजित गर्नु वा व्यक्तिगत प्रतिष्ठा कमाउनुमा होइन, विभेद घटाउनु, अधिकार स्थापित गर्नु र समुदायलाई आत्मनिर्भर बनाउनुमा हुन्छ किनकि समाज परिवर्तनको इतिहास अभियन्ताको आँसुले मात्र लेखिँदैन; ती आँसु बुझ्ने, उसको हात समात्ने र उसको सपनालाई साझा सपना बनाउने मानिसहरूको एकताले लेखिन्छ।

लेखक भिम नेपाली ´साने` दलित सेवा संघ जुम्लाका अध्यक्ष हुन् । 

प्रकाशित मिति : २०८३ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस