जुम्ला। दसैंको फूलपातीका दिन जुम्लामा आयोजना हुने घोडादौड प्रतियोगिताले लोपोन्मुख अवस्थामा पुगेको जुम्ली घोडापालनको संरक्षण र मौलिक संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्याउँदै आएको छ। परम्परागत रूपमा यातायात र मालसामान ढुवानीमा प्रयोग हुँदै आएका जुम्ली घोडा सडक सञ्जाल विस्तारसँगै विस्थापित हुन थालेपछि यस्ता प्रतियोगिताले तिनको महत्त्व पुनः उजागर गर्न थालेका छन्।
यस वर्ष पनि फूलपातीका अवसरमा जुम्लाका विभिन्न स्थानमा घोडादौड प्रतियोगिता आयोजना गरिए। चन्दननाथ नगरपालिका–५ स्थित राजासिममा आयोजित प्रतियोगितामा २५ वटा घोडाले सहभागिता जनाएका थिए। चन्दननाथ नगरपालिकाको आयोजना, पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको सहआयोजना र कर्णाली कला तथा संस्कृति संरक्षण मञ्चको समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा घोडादौड, चाल र पालित विधामा प्रतिस्पर्धा गराइएको थियो।
घोडादौड विधामा चन्दननाथ नगरपालिका–१०, गैरा गाउँका छापेन्द्र न्यौपानेको घोडा प्रथम भयो। गुठीचौर गाउँपालिकाका दिलीप बोहराको घोडा दोस्रो र अर्जुन बोहराको घोडा तेस्रो भए। विजेताले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरे।
त्यसैगरी, चाल विधामा हर्क शाहीको घोडा प्रथम, प्रताप शाही कठायतको दोस्रो र गणेशबहादुर शाहीको तेस्रो भयो। पालित विधामा बिर्खबहादुर भण्डारीको घोडा प्रथम, राजेन्द्रबहादुर रोकायाको दोस्रो र गुठीचौरका नरेश विष्टको घोडा तेस्रो भएको आयोजकले जनाएको छ। घोडापालनमा किसानको आकर्षण बढाउने उद्देश्यले घोडाका लागि दाना सहयोग कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
यता, गुठीचौरस्थित पर्यटकीय क्षेत्र गोठीचौरमा नवौँ जुम्ली घोडादौड सांस्कृतिक महोत्सव पनि सम्पन्न भएको छ। ‘संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित कर्णाली खेलकुद क्लबको आयोजना र गुठीचौर युवा क्लबको सहआयोजनामा सम्पन्न महोत्सवमा यस वर्ष महिला कृषकको समेत सहभागिता रहेको थियो। प्रतियोगितामा महिलातर्फ आठ र पुरुषतर्फ ३४ खेलाडी सहभागी भएका थिए।
महिलातर्फ गुठीचौर गाउँपालिका–१ की धनलक्ष्मी ऐडीको घोडा प्रथम भयो। गाउँपालिका–२ की सपना बोहराको घोडा दोस्रो, शर्मिला बोहराको घोडा तेस्रो र पविता बोहराको घोडा सान्त्वना भयो।
पुरुषतर्फ गुठीचौर गाउँपालिका–१ का ईश्वर ऐडीको घोडा प्रथम भए। गाउँपालिका–२ का शंकर रोकायाको घोडा दोस्रो, अमृत बुढाको तेस्रो, प्रेम बोहराको चौथो र निशाब रोकायाको घोडा पाँचौँ भयो। दुवै विधाका विजेतालाई समान पुरस्कार प्रदान गरिएको थियो। प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार तथा चौथो र पाँचौँ हुनेले जनही दुई हजार रुपैयाँसहित मेडल प्राप्त गरे।
कुनै समय जुम्लाका गाउँबस्तीमा घोडा नै सामान ओसारपसार र सरकारी कामकाजको भरपर्दो साधन थिए। तर, सडक विस्तार, मोटरगाडीको पहुँच र सशस्त्र द्वन्द्वका कारण घोडापालन क्रमशः घट्दै गएको स्थानीयको भनाइ छ। आर्थिक वर्ष २०५५/५६ सम्म जुम्ला विमानस्थलमा समेत घोडादौड आयोजना गरिने गरेको थियो। धावनमार्ग पक्की बनेपछि त्यहाँ प्रतियोगिता रोकिएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए। उनका अनुसार पछिल्लो एक दशकयता घोडादौडलाई निरन्तरता दिइँदै आएको छ।
घोडादौड प्रतियोगिताले मनोरञ्जन प्रदान गर्नुका साथै किसानलाई घोडापालनतर्फ आकर्षित गर्न र नयाँ पुस्तालाई पुर्खाको परम्परासँग जोड्न सहयोग पुर्याएको घोडापालक किसानहरूको भनाइ छ। प्रतियोगिता हेर्न स्थानीय तथा अन्य क्षेत्रबाट आएका दर्शकको उल्लेख्य उपस्थिति रहने गरेको छ।
जुम्ली घोडा केवल यातायातको साधन मात्र नभई कर्णालीको इतिहास, जीवनशैली र सांस्कृतिक पहिचानको प्रतीक पनि हो। त्यसैले फूलपातीमा आयोजना हुने घोडादौडलाई उत्सवमा मात्र सीमित नराखी घोडापालक किसानलाई प्रोत्साहन, संरक्षणका कार्यक्रम सञ्चालन र पर्यटनसँग जोड्न सके जुम्ली घोडाको अस्तित्व जोगाउन महत्त्वपूर्ण योगदान पुग्ने देखिन्छ।




