मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान

मुगु । ‎मुगुको छायाँनाथ रारा नगरपालिकाले जातीय विभेद अन्त्य गर्दै सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने २ जोडीलाई जनही १ लाख रुपैयाँका दरले कुल २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

‎छायाँनाथ रारा नगरपालिका दलित ऐन, २०८० अनुसार नगरपालिकामा बिहीबार औपचारिक कार्यक्रमको आयोजना गरी २ जोडीलाई १–१ लाखको चेक हस्तान्तरण गरी रकम उपलब्ध गराएको हो

‎अन्तरजातीय विवाह गरी १ लाख सहयोग प्राप्त गर्नेमा छायाँनाथ रारा नगरपालिका– १० झाकोटका विक्रमबहादुर नेपाली र पवित्रा चौलागाईं तथा वडा नं. १३ थार्पका मानसिंह नेपाली र सरिता सेजुवाल रहेका छन् ।

‎नगरप्रमुख विष्णुकुमार भामले जातीय विभेद र छुवाछुत अन्त्य गरी सबै नागरिकले समान अधिकार र सम्मानका साथ बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताए ।

उनले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने तथा सामाजिक समानता कायम गर्ने उद्देश्यले नगरपालिकाले आर्थिक सहयोगको व्यवस्था कार्यान्वयन गरेको बताए ।

‎त्यस्तै, उपप्रमुख ऐश्वर्य मल्लले समाजमा विद्यमान जातीय विभेद हटाउन सबैको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताइन् । उनले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्नुका साथै समतामूलक र विभेदमुक्त समाज निर्माणमा यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

‎नगरपालिकाको यस पहलले अन्तरजातीय विवाह गर्ने जोडीलाई आर्थिक प्रोत्साहन मिल्नुका साथै सामाजिक सद्भाव अभिवृद्धि र जातीय विभेद न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छायांनाथ रारा नगरपालिकाले जनाएको छ । ऐन निर्माण संगै छायांनाथ रारा नगरपालिकाले हाल सम्म चार जोडीलाई पोहोत्सान रकम उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस