जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं ५ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा अभियान चलिरहेको छ । पालिकाले पहिलो चरणमा तातोपानी-३ र ५ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने अभियान चलाएको छ । जसअन्तर्गत मंगलबार तातोपानी-५ को बालमैत्री स्थानीय शासन वडाका ५१ सूचक र पोषणका ४९ सूचक कार्यान्वयनका बारेमा सयुंक्त अनुगमन गरिएको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसार तातोपानी गाउँपालिका वडा नं. ५ मा बालमैत्री स्थानीय शासन कार्यान्वयन अवस्थाको संयुक्त अनुगमन गरिएको हो ।
तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलको संयोजकत्वमा
बालमैत्री स्थानीय शासन कार्यान्वयन समितिको आयोजनामा वडा कार्यालय, विधालय र स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ ।
अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत कबिराज उपाध्याय, विषयगत शाखाका प्रमुख तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा वडा नं. ५ अन्तर्गत दुर्गा माध्यमिक विद्यालय, लामा, कालिका आधारभूत विद्यालय, लामा, स्वास्थ्य चौकी तथा वडा कार्यालयको बालमैत्री स्थानीय शासन कार्यान्वयन अवस्थाबारे स्थलगत अनुगमन गरिएको थियो।
निर्देशिकामा व्यवस्था भएअनुसार ५१ सूचक तथा २८ चरणका आधारमा विभिन्न पक्षको मूल्याङ्कन गरिएको थियो। अनुगमनका क्रममा केही सूचकहरूमा थप सुधार तथा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिएको छ। विशेषगरी बाल उद्यान केन्द्रको व्यवस्था, बालकेन्द्रित बजेटको सुनिश्चितता, समुदायस्तरमा प्रभावकारी सचेतनामूलक कार्यक्रम सञ्चालन, बालमैत्री संरचना निर्माण तथा बालबालिकाको स्थिति प्रकाशन लगायतका विषयमा सुधार गर्नुपर्ने सुझाव दिइएको छ।
वडा नं. ५ लाई बालमैत्री स्थानीय शासनतर्फ थप सुदृढ बनाउन सम्बन्धित निकायबीच समन्वय, नियमित अनुगमन तथा बाँकी सूचकहरू पूरा गर्न आवश्यक कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जोड दिइएको छ।
कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोग, किर्डाक नेपालद्वारा सहजीकरण तथा तातोपानी गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको समन्वय रहेको थियो।




