सरुवा पुनर्विचारपछि वैद्य निरीक्षक न्यौपानेको भव्य स्वागत

जुम्ला। आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लामा लामो समयदेखि नागरिकको सेवामा निरन्तर खटिँदै आएका वैद्य निरीक्षक नन्दप्रसाद न्यौपानेको सरुवा पुनर्विचार भई जुम्लामै कामकाज गर्ने निर्णय भएपछि जिल्लामा खुसी छाएको छ। सरुवाको निर्णयले निराश बनेका ज्येष्ठ नागरिक, योगसाधक, कर्मचारी तथा सेवाग्राहीले उहाँलाई फूलमालासहित भव्य स्वागत गरेका छन्।

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतले मिति २०८३ भदौ १५ गते गरेको निर्णयअनुसार न्यौपानेको सरुवा भएपछि जिल्लाका ज्येष्ठ नागरिक, योगसाधक, कर्मचारी तथा सेवाग्राहीले असन्तुष्टि व्यक्त गर्दै सरुवा पुनर्विचारका लागि पहल गरेका थिए। उनीहरूको मागअनुसार भदौ १७ गते जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत सरुवा पुनर्विचार गर्न अनुरोधसहितको ध्यानाकर्षण पत्र मन्त्रालयमा पठाइएको थियो।

जुम्लामा लामो समयदेखि दिनरात नभनी नागरिकलाई सेवा दिँदै आएका न्यौपानेको सरुवाले स्थानीय सेवाग्राही निराश बनेका थिए। नागरिकको स्वास्थ्य सेवासँग जोडिएको विषयमा स्थानीयस्तरबाटै आवाज उठेपछि मन्त्रालयको ध्यानाकर्षण भएको हो। अन्ततः न्यौपानेले जुम्लामै रहेर कामकाज गर्ने जानकारी प्राप्त भएपछि स्थानीय नागरिकले फूलमाला लगाएर स्वागत गरेका हुन्।

न्यौपानेको सरुवा पुनर्विचार हुनु केवल एक कर्मचारीको कार्यस्थल परिवर्तनको विषय मात्र नभई जनताको चाहना, सेवाप्रतिको विश्वास र स्थानीय आवाजको महत्त्वसँग जोडिएको विषयका रूपमा हेरिएको छ। नागरिकले विश्वास गरेका कर्मचारीलाई निरन्तर सेवामा राख्न गरिएको पहलले जनभावनाको सम्मान भएको स्थानीय सेवाग्राहीको बुझाइ छ।

आफ्नो सरुवा पुनर्विचारका लागि सहयोग र पहल गरिदिने सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री, सचिव, जिल्लाभित्र तथा बाहिर रहेका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, संघ तथा प्रदेशका जनप्रतिनिधि, हुम्ला, सुर्खेत र जाजरकोटका माननीयज्यूहरू, सहयोगी कर्मचारी, शुभचिन्तक तथा सेवाग्राहीप्रति न्यौपानेले हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।

पुनः जुम्ली नागरिकको सेवा गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै न्यौपानेले आगामी दिनमा पनि जनताको इच्छा र भावनाअनुसार सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

नागरिकको आवाज, सेवाप्रतिको विश्वास र सामूहिक पहलपछि सरुवा पुनर्विचार हुनु जुम्लाका सेवाग्राहीका लागि खुसीको विषय बनेको छ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस