जुम्लाका आठै पालिकामा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

जुम्ला ।  आगामी  बैशाख ३० गते हुन लागेको स्थानीयतह निर्वाचनका लागि जुम्लाका आठ वटै पालिकामा एकै साथ निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ  ।
विहिबार जुम्ला सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना  भएसंगै एक नगरपालिका सहित सात वटा गाउँपालिकामा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएका हुन्  ।

आठै स्थानीयतहको पालिका केन्द्रमा निर्वाचन कार्यालय स्थापना भएको मुख्य  निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिए ।
उनका अनुसार निर्वाचन कार्यालय स्थापना संगै स्थानीयतहको निर्वाचनको तयारी विधिवत रुपमा प्रारम्भ भएको छ । गाउँगाउँमा चुनावी सरगर्मि पहिलेदेखि शुरु भएपनि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना पश्चात् निर्वाचनमुखि गतिविधि क्रमिक रुपमा बढ्ने उनकाे भनाई छ ।
चन्दनाथ नगरपालिका सहित ताताेपानी गाउँपालिकाकाे लिताकाेट,तिलाकाे डुण्डेली हिमाकाे कालिकाखेतु,सिंजाकाे नराकाेट,कनकासुन्दरीकाे गाेठिजिउलामा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएका छन् ।
त्यस्तै पातारासीकाे लासी बजार र गुठिचाैर गाउँपालिकाकाे धाैलमुडिमा पालिका केन्द्रमा निर्वाचन अधिकृतकाे कार्यालय विहिबारदेखि स्थापना भएर सञ्चालनमा आएका छन् ।

स्थानीयतहको निर्वाचनलाई भयरहित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्नको लागि सबै संगको समन्वय र सहकार्य हुन आवश्यक देखिएको छ ।
निर्वाचन अधिकृत सिंहले भने,”निर्वाचन कार्यालयहरुले यो भुमिका निर्वाह गर्नेछन । निर्वाचन आचारसंहितको कार्यालयका सवालमा समेत अनुगमन हुने छ  । जुम्लामा निर्वाचनलाई सफल बनाउन सबैकाे भुमिका छ ।”

जिल्ला अदालत जुम्लाको नवनिर्मित भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको घोषणा गर्दै जिल्ला अदालत जुम्लाका न्यायधिस समेत रहेका सिंहले राजनीतिकदल नै निर्वाचनलाई स्वच्छ,धाधलिरहित बनाउनको लागि सचेत हुनु पर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले निर्वाचनलाई शान्तिपुर्ण र भयरहित बनाउन जिल्ला सुरक्षा समिति संवेदनशिल बनेको बताइन् । उनका अनुसार हरेक निर्वाचन कार्यालयको सुरक्षाको लागि सशस्त्र प्रहरी खटिइसकेको छ ।

४ सय ९६ जना कर्मचारी परिचालन हुने भएका छन । निर्वाचनलाई लक्षित गर्दै प्रविधि उन्मुख सुरक्षा रणनीति अवलम्बन गरिएको उल्लेख गरिन् ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन भइसकेका छन् । भने,मुख्य निर्वाचन अधिकृत सिंहले निर्वाचनलाई पारदर्शी बनाउनको लागि निर्वाचन कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए ।
साथै  स्थानीय तह निर्वाचनका लागि जुम्लामा ७९ मतदानस्थल र १ सय २ मतदान केन्द्र कायम गरिएको छ। ७९ मध्ये ४१ मतदानस्थललाई अति संवेदनशील, १५ मतदानस्थललाई संवेदनशील र २३ मतदानस्थललाई सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जानकारी दिईन् ।

बैशाख ११ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने,१२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सुची प्रकाशन गर्ने,बैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने,१४ गते मनोनयनपत्र जा“च गर्ने र उजुरी उपर जा“चबुझ गरी निर्णय गर्ने, र बैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुने भएको छ ।
यसैगरी बैशाख १६ गते उम्मेदवारको नाम फिर्ता लिने,उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नुका साथै बैशाख ३० गते मतदान हुने भएको छ

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस