
जुम्ला । तातोपानी गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने तातोपानी गाउँपालिका वडा नं. ३ लिताकोटका जग्गादातालाई सम्मान गरिएको छ ।
गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि जग्गा दिने मध्य ९ जना जग्गादातालाई पहिलो चरणमा वडाबाट दोसल्ला ओडयाएर गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि लाखौको जग्गा निशुल्क दिएर योगदान दिएको भन्दै सम्मान गरिएको तातोपानी ३ का वडाध्यक्ष गोर्कण रावलले बताए ।
उनले भने,“पालिकालाई निशुल्क जग्गा दिने ९ जना जग्गादातालाई सम्मान गरिएको छ । ९ जना जग्गादाताले २ हजार ६ सय ६३ वर्गमिटर जग्गा पालिकाको नाममा नामसारी गराएपछि उनिहरुलाई सम्मान गरेका हौ । पालिकाको प्रशासकिय भवनका लागि जम्मा १२ हजार वर्गमिटर जग्गा आबश्यक पर्ने प्रावधान छ । थप जग्गा पालिकाको नाममा ल्याउन पनि पहल गरिने छ ।”
पालिकाको नाममा २६ सय ६३ वर्गमिटर जग्गा पास गराउने जग्गादाता तातोपानी ३ का दिनेश सार्की,आइते सार्की,शक्ति सार्की,सप्रे कार्की,सर्पनन्द उपाध्याय,हर्क सार्की,खडानन्द उपाध्याय,मणिकृष्ण कार्की र राम बहादुर कार्कीलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरिएको वडाध्यक्ष रावलले कर्णाली पोष्टलाई जानकारी दिए ।
पालिकाका लागि अन्य जग्गादाताले पनि निशुल्क जग्गा दिएका छन् ।
तर सबै जग्गादाताको नामावली आउन बाँकी छ । भने नामसारी गर्न पनि बाँकी रहेको छ । शुक्रबार २३६३ वर्गमिटर जग्गा निशुल्क पालिकाका नाममा पास गराउने ९ जनालाई मात्र सम्मान गरिएको हो । यदपी पालिकाकाे प्रशासकिय भवन निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराउनुमा ३ नम्बर वडाका निवर्तमान वडाध्यक्ष डिल्ली रावलकाे पनि महत्वपुर्ण पहल र याेगदान रहेकाे छ ।



