सीओसी कक्षाले सक्षम बन्दै किशोर किशोरी

जुम्ला । क्याड नेपाल जुम्लाले सिंजा क्षेत्र तीन पालिकामा ४० वटा सीओसी कक्षा संचालन गरेको छ । प्लान नेपालको आर्थिक सहयोगमा क्याड नेपालद्धारा संचालित निर्णय र नेतृत्व परियोजना मार्फत सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका १० वटा वडामा ४० वटा सीओसी कक्षा सञ्चालन भएका हुन् ।

सीओसी कक्षाले सिंजा क्षेत्रका १ हजार किशोरी किशोरीलाई सामाजिक मुद्धा बहस तथा पैरवी गर्न सक्षम बनाएको छ । व्यक्तिगत क्षामता विकास संगै महिला भएकै हिसाबले समाजमा खेप्नु परेको विभिन्न हिंसाका विरुद्धमा सिंजा क्षेत्रका किशोर किशोरीले वकालत गर्न थालेका छन् ।

हिमा गाउँपालिका ४ की सृजना शाही सीओसी कक्षाले आफु जस्ता सिंजा क्षेत्रमा एक हजार किशोर किशोरी सक्षम बनाएको बताउँछन् । उनी भन्छन,“समुदाय शसक्तिकरणका लागि किशोर किशोरीनै एकजुट हुनु पर्छ । पारिवारिक दबाब र प्रलोभनमा बाल बिवाह गराउने विरुद्ध आवाज उठाउने र महिला भएकै नाताले भोग्नु पर्ने महिनाबारीको पिडा विरुद्ध पनि सामाजिक अभियान चलाउन बसह गर्न सक्ने भएका छौ ।”

नमुना गाउँपालिका संचालनदेखि २४ घण्टाका लागि गाउँपालिका अध्यक्ष बनाउने जस्ता कार्यक्रमले नेतृत्व विकास र निर्णय गर्ने क्षामता पनि विकास भएको छ ।

कनकासुन्दरी ३ की अन्जली बुढाले भनिन,“महिलाका मुद्धा महिलाले मात्रै समधान गर्नुपर्छ भन्ने मानसिकता छ । पुरुष किन बोल्नु पर्यो भन्ने सोचाई पनि हाबी छ । तर सीओसी कक्षाले महिला पुरुषका सवालमा सबै मिलेर वकालत गर्नुपर्छ भन्ने सोचको विकास भएको छ । सीओसी कक्षा समग्रमा समाज रुपान्तरणका लागि उपलब्धीमुलक बनेको छ ।”

किशोरीका समस्यामा किशोरहरु पनि लाग्नु पर्छ भन्ने सोचले महिनावारी बालबिवाह,बहुविवाह लगायतका विषयमा पैरवी गर्न थालेको सिंजा ६ का सक्सेस बुढाले बताए । उनले सिंजा गाउँपालिकालाई बालबिवाह मुक्त बनाउन र छुईगोठ मुक्त बनाउन किशोर किशोरीहरुले अगुवाई गर्ने जानकारी दिए ।

विद्यालयमा बालमैत्री संरचना निर्माण र बालमैत्री पठनपाठनका लागि बसह चलाउने छौ । भने, घरदेखि समाज सम्म लैगिक विभेदमुक्त समाज बनाउन अभियान चलाउने किशोर बुढाको भनाई छ ।

क्याड नेपालले प्लान नेपाल संगको सहकार्यमा सिंजा क्षेत्रका तीन पालिकाका शिक्षा,पूर्वाधार क्षामता विकास र सामाजिक कुरिती अन्त्यका लागि विगत २०१८ देखि काम गर्दै आएको छ । विशेषगरी छुई प्रथा अन्त्य र बालबिवाह न्युनिकरणका लागि क्याड नेपालको कार्यक्रमको उल्लेखीय भुमिका रहेको सिंजा स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस