चिकित्सकले उपचार नगरेको भन्दै कारवाही गर्न प्याप्सनको माग

जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चिकित्सक करण साहले चन्दननाथ नगरपालिका – २ भण्डारीवाडाका ६ वर्षीय बालक पृथक विक्रम शाहीलाई उपचार नगरी बाल अधिकार उल्लघंन गरेको भन्दै निजि विद्यालयको छाता संगठन प्याप्सनले कारवाही गर्न माग गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गर्दै बालअधिकार उल्लघंन गर्ने चिकित्सकलाई कारवाही गर्न माग गरेको हो ।

एसिया इन्टरनेश्ल बोडिङ स्कूलमा कक्षा यूकेजीमा अध्ययनरत बालक शाहीलाई चिकित्सक साहले ०७९ भदौँ २ गते उपचार गर्न जादा उपचारै गर्न नमानेको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । अस्पतालको इमरजेन्सी कक्षा डियूटीमा रहेका चिकित्सक साहले उपचार सेवा प्रदान नगरी उपेक्षा, भेदभाव, घृणा तथा उत्पीडनमा पारेको सिसिटिभि फटेज अध्ययन गर्दा प्रष्ट देखाएको छ ।
नेपालको संविधान र बालबालिका सम्वन्धी ऐन ०७५ को परिच्छेद २ मा उल्लेखित बाच्न पाउने अधिकार (१) मा सम्मानपूर्वक बाच्न पाउने अधिकार हुने छ भन्ने उल्लेख छ । नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारले बालबालिकाको बाच्न पाउने अधिकार र बालबालिकाको समग्र विकास लागि बालबालिका माथि हुन सक्ने दुर्घटनाको रोकथाम, जोखिमको न्यूनिकरण लगायतका प्रतिरोधात्मक र सुरक्षा सेवाका लागि आवश्यक उपाय अवलम्वन गर्नु पर्दछ भनि प्रष्ट उल्लेख छ ।
उल्लेखित ऐनका आधारमा डियूटीमा रहेका चिकित्सकले अपस्तालमा आएका सेवाग्राही बालक शाहीलाई उपचार नगरेकोले विभिन्न कानुन आक्रशित हुन्छ । सोही बमोजिम कारवाही गर्नु पर्ने देखिएको प्याप्सनका सचिव रतनबहादुर शाहीले बताए ।


चिकित्सकविरुद्ध प्रहरीमा उजुरी
डा साहले अस्पतालमा उपचार गर्न आएको बालक शाहीलाई उपचार नगरेको आरोेपमा बालकका आमा आशा हमालले जिल्ला प्रहरी कार्यालय जुम्लामा भदौँ १३ गते उजुरी गरेकी छन् ।
बालकका बुबा धनबहादुर शाहीले छोरा पृथकविक्रमले पेट दुख्यो भनेपछि उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा लिएर गराएका थिए । ‘छोराको उपचारका लागि डा साहसँग बारम्बार अनुरोध गर्दा पनि उहाँले मान्नु भएन’, आमा आशाले भनिन् । बच्चाको उपचार नगर्दा डा साह र धनबहादुरबीच झगडा भएको तथा पछि छोराको ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर प्रालि जुम्लामा उपचार गरिएको उनले बताए ।

यही भदौ ६ गते साहविरुद्ध बाल हिंसाको जाहेरी दरखास्त दर्ता गर्न खोज्दा प्रहरीले नमानेपछि जिल्ला सरकारी वकिल कार्यालय जुम्लामा जाहेरी दरखास्तको सिफारिस मागेको र त्यही अनुसार भदौ १० गते सिफारिस प्राप्त भएको बालकका बाबु धनबहादुर शाहीले बताए ।
हमालले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा २ को (ट), दफा १६ को (१) र (२), दफा ६६ को उपदफा ९१० र (२) को खण्ड (घ) र (ङ) मा परिभाषित कसुर अपराधअन्तर्गत ऐनको दफा ७२ को उपदफा ३ (क) बमोजिम कारबाहीको माग गर्दै यही भदौ १३ गते डा साहविरुद्ध दिएको जाहेरी दरखास्त दर्ता गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
‘जाहेरी दरखास्त दर्ता भएसँगै डा साहलाई कानुनी दायरा ल्याउन प्रक्रिया अगाडि बढाएका छौँ’, उनले भने, ‘घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।’


चिकित्सक कुट्ने कर्मचारी निलम्बित
अस्पतालको आकस्मिक विभागमा कार्यरत चिकित्सक साहलाई उपचार गर्न नमानेको भन्दै कुटपिट गर्ने कर्मचारी शाही निलम्बनमा परेका छन् ।
प्रतिष्ठानको भदौ ४ गते बसेको कार्यकारी परिषद्को बैठकले शाहीलाई निलम्बन गरेको हो । उहाँलाई ४५ दिनको लागि निलम्बित गरिएको हो ।
शाहीले भदौ २ गते आकस्मिक विभागमा आफ्नो छोराको टाका निकाल्न डाक्टर साहसँग आग्रह गरेका थिए । उक्त विषयमा भएको विवादका कारण शाहीले चिकित्सक साहलाई आक्रमण गरेका थिए ।
चिकित्सक कुटपिट गर्ने शाही पनि अहिले प्रहरी हिरासतमा छन् । उनलाई पनि प्रहरीले भदौँ २ गते नै गिरफ्तार गरेको जनाएको छ । उक्त घटना अहिले अनुसन्धान प्रक्रियामै रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस