काँग्रेसले गर्यो तिलामा अनिश्चित तालाबन्दी


जुम्ला ।  जुम्लाको तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । १५ बुँदे माग राख्दै नेपाली काँग्रेस जुम्लाले आइतबार साँझदेखि तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको हो । साथै कार्यालय परिसर अघि बन्दकर्ताले पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत विरुद्ध नाराबाजी समेत गरेका थिए ।

तिला गाउँपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएपछि तालाबन्दी गरिएको नेपाली कांग्रेस जुम्लाका सहसचिव धनेन्द्र बोहोराले जानकारी दिए । उनका अनुसार १५ बुँदे माग सम्बोधन नहुँदासम्म ताला नखोल्ने काँग्रेसले चेतावनी दिएको छ ।

प्रेस विज्ञेप्तीमा भनिएको छ,“‘हालसम्म कार्यपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन भएनन् । सरकार जनताप्रति उत्तरदायी नदेखिएकाले ताला लगाउन बाध्य भएका हौं । जनप्रतिनिधि समन्वय नगरी वडासचिव खटनपटन,शिक्षक सरुवा बढुवा जस्ता कुरामा पालिका अध्यक्षदेखि प्रमुख प्रशासकिय अधिकृत दलगत रुपमा अघि बढेका छन् । सेवा प्रवाहमा ढिला सुस्ती हुदै गएको छ । विभित विषयमा सूचना माग्दा नपाएपछि तालाबन्दी गरेका हौ ।”

सहसचिव बोहोराका अनुसार तिला हाइड्रोको डीपीआर, आईए, ईआईए रिपोर्ट र खर्च विवरण सार्वजनिक गर्न पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर ताला लगाइएको हो ।

प्रमुख प्रशासकीय अधिकृतले ३ महिना महिनासम्म कार्यालयमा उपस्थित नहुँदा समेत हाजिर गरेर गैरजिम्मेवार बनेको, गाउँ सभाबाट विनियोजन गरेको म्याचिङ फन्ट मनपरि ढंगले विभिन्न शीर्षकमा विनियोजन गरी योजना सूत्रमा समावेश गरेको समेत आरोप छ । त्यस्तै बजेट कार्यान्वयनमा ढिलासुस्ती भएको, टेन्डर र डीपीआर प्रक्रियामा जान नसकेका, औषधि खरिद प्रक्रिया खरिद इकाई समिति गठन नगरेर प्रक्रिया थालिएको भन्दै भन्दै कांग्रेस कार्यकर्ताले अनिश्चितकालीन ताला लगाएका हुन् ।

विद्यार्र्थी दिवा खाजा र सेनेटरी प्याडको ८० लाख रुपैयाँ फ्रिज गरेकाले उचित छानबिन गरी दोषीमाथि कारबाही गर्न समेत माग गरिएको छ । पालिकामा रिक्त पदमा समयमै पदपूर्ति नगरेको र लोकसेवामा माग गर्नुपर्ने पदहरूको माग नभएको, शिक्षा विकास तथा समन्वय इकाई, कार्यपालिका र शिक्षा समितिको निर्णयबिना शिक्षक सरुवा र प्रधानाध्यापक नियुक्ति गरिएको विषयलाई समेत कांग्रेसले जोडदार उठाएको छ ।

सार्वजानिक चासोका विषयमा गम्भीर नभएर पार्टीगत रुपमा जनप्रतिनिधि अघि बढेको तालाबन्दीकर्ताको आरोप छ । १५ बुँदे मागहरुको उचित सम्बोधन नभए सम्म तालाबन्दी कुनै पनि हालतमा नखोलिने बन्दकर्ताले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस