जुम्ला । गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले जनताबाट अनुमोदित भएको पदको आँडमा आफुहरुलाई अपहेलित,निरुत्साहित हुनेगरी दादागिरी देखाएको गुठिचौरका कर्मचारीले आरोप लगाएका छन् । ऐन कानुन विधि पद्धतीको धज्जी उडाउदै अध्यक्ष बुढाले कर्मचारीमाथि ज्यादती गरेको कर्मचारीको आरोप छ ।
संघियताले प्रत्याभुत गरेको राजनीतिक,प्रशासनिक र वित्तिय संघियताको कार्यान्वयनमै आँच पुग्नेगरी गुठिचौरका अध्यक्षले विभिन्न गतिविधि गरिरहेको बताएका छन् । मंसिर १९ र २० गते वार्षिक नीति कार्यक्रम कसरी संचालन गर्ने सम्बन्ध आयोजित बैठकको छलफलकै क्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंह बहादुर खत्रीले आफ्ना कुरा राखेलगत्तै अध्यक्ष बुढा राजनीतिक भाषा शैली प्रयोग गर्दै सम्पुर्ण कर्मचारीलाई तथानाम बोलेका थिए ।
तिमीहरु मलाई चुनाव हराउन मरिमेटी लागेका थियौ,तुरुन्त सबै अन्त गए हुन्छ,एक वर्ष सम्म कुनै कर्मचारी नभएपनि हुन्छ,म ५ वर्षपछि फेरी गाउँपालिका अध्यक्ष उठ्ने पनि हैन्, विकासका कामहरु रोकिए पनि केहि फरक पर्दैन भन्ने जस्ता गैरजिम्मेवारी अभिव्यक्ति दिएको कर्मचारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै मंसिर १८ गते प्रमुख प्रशासकिय अधिकृत लगायत प्राविधिक,आइटी,लेखा र योजना शाखाका कर्मचारीहरु कार्यालयकै काममा सदरमुकाम रहेको बेला उपाध्यक्ष,केही वडाध्यक्ष, कार्यपालिका सदस्यहरु र प्रमुख प्रशासकिय अधिकृत बैठकमा सहभागी नभएकाे बेला षड्यन्त्रपुर्ण सुनियोजित ढंगबाट शाखा अधिकृत स्तरका कर्मचारी कार्यरत रहँदा रहदै अधिकृत छैटौ स्थानीयतहको कर्मचारीलाई निमित्त प्रमुख प्रमुख प्रशासकिय अधिकृत तोक्ने निर्णय गरिएको प्रति कर्मचारी आपत्ती जनाएका छन् । मंसिर १८ गते आफू जिल्लाबाहिर गएकाे र विबादका विषयमा थाहा नभएकाे उपाध्यक्ष शान्तिमल्ल भण्डारीले जानकारी दिईन् । अध्यक्षकै निर्देशनमा कर्मचारीहरुले काम गरेबापत पाउनु पर्ने प्रति व्यक्ति ३ महिनाको तलब भत्ता समेत भुक्तानीमा रोक लगाइएको थियो ।
यत्ति हुँदा हुँदै पालिकाका अध्यक्ष दान बहादुर बुढाले प्रशासनिक तथा वित्तिय संघियतालाई स्खलित पार्ने गरी मंसिर २० गते चलानी नम्बर ५४० को पत्रमा अर्को नियम विपरित काम गरेका छन् ।
उक्त पत्रमा भनिएको छ,“म अध्यक्ष दान बहादुर बुढा कामविशेषले काठमान्डौ जानु पर्ने भएकोले अर्को प्रमुख प्रशाकिय अधिकृत हाजिर नहुन्जेल मंसिर २१ गतेदेखि कुनै पनि आर्थिक कारोबार नगर्न र गरेको पाइएमा आबश्यक कारबाहि गरिने छ ।”
यसरी विभिन्न पटक अध्यक्षले पदको आँडमा पालिकाका दैनिक कार्यसम्पादन प्रभावित हुनुका साथै सम्पुर्ण कर्मचारीलाई हतोसाहित हुने गतिविधि गरेको प्रमुख प्रशासकिय अधिकृत सिंह बहादुर खत्रीले बताउनुभयो । मन्त्रालयले दिएको आर्थिक अधिकारलाई रोक लगाएर अध्यक्षले वित्तिय र प्रशासनिक संघियतालाई स्खलित हुने काम गरेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो,“उच्च मनोबलका साथ काम गरिरहेका कर्मचारीहरुलाई निरुत्साहित हुने गरी कानुन विपरित अध्यक्षले निर्णय र अभिव्यक्ति दिदै आएकोले कर्मचारी रुष्ट भएका छन् । यसले गर्दा पालिकाको विकासमा बाधा पुगेको छ । जनतालाई असुविधा भएको छ । यसको पुर्ण जिम्मेवारी अध्यक्षलनै लिनुपर्छ ।”
कार्यसम्पादन सन्तोषजनक नहुँदा एक्सन लिएःअध्यक्ष
गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले प्रमुख प्रशासकिय अधिकृत सिंह बहादुर खत्रीको कार्यसम्पादन सन्तोषजनक नहुँदा एक्सनमा गएको बताउनुभयो । टेलिफोनमा कुरा गर्दै उहाँले भन्नुभयो,“कार्यपालिका बैठकमा बोलाउँदा नआउने,अध्यक्षको निर्देशन पालना नगर्ने,सामान्य फाईल पनि अट्काएर जनतलाई दुख दिने,कर्मचारीको मोर्चा बनाउने, जनताप्रति बफादार नहुने र समग्रमा कार्यसम्पादन सन्तोषजन नदेखिएपछि बहुमत कार्यपालिका सदस्यको बैठकले हटाउने निर्णय भएको हो ।”
प्रमुख प्रशासकिय अधिकृत खत्री सहित अन्य सबै कर्मचारीलाई लाई जनताको हितमा काम नगर्ने भए अन्त गए हुन्छ,भनेको अध्यक्ष बुढाले स्वीकार गर्नुभयो । विज्ञप्ती निकालेर मोर्चाबन्दी गरेर ‘जो चोर,उसकै ठुलो स्वर’ भने जस्तो हर्कत देखाएका छन् । विज्ञप्तीको कुनै अर्थ छैन् । विज्ञप्तीमा लेखीएका सबै कुरा निधार भएको उहाँको दाबी छ ।
पालिकाको काममा बाधा पुराउने सबै कर्मचारीलाई काठमान्डौबाट आइसकेपछि लिखित स्पष्टीकरण माग्ने समेत उल्लेख गर्नुभयो । काठमान्डौ जानु अघिनै कुनै आर्थिक गतिविधि नगर्न निर्देशन दिएको र नयाँ प्रमुख प्रशासकिय पठाउन सामान्य प्रशासन मन्त्रालयमा पत्रचार भएको जानकारी दिनुभयो ।
नियम विपरित कुनै पनि गतिविधि नगरेको दाबी गर्दै गर्छन् । आफ्नो क्षेत्राधिकारको प्रयोग गर्दै सबै ऐन कानुनको अध्यायन गरेर पालिकाको हित विपरित काम गर्ने कर्मचारी विरुद्ध याक्सनमा गएको दाबी गर्नुभयो ।