हिमा गाउँपालिका ५ का शतप्रतिशत बालबालिका विद्यालय भर्ना


जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नं. ५ का बाजागाडा र तलिकुडु गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ । विद्यालय उमेर समुहका ४ देखि १६ वर्षका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेपछि दुर्गम दुई गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त गाउँ घोषणा गरिएको हो ।

२ सय १० घरधुरी रहेको तलिकुडुका ६ सय ३० जना र १ सय २५ घरधुरी रहेको बाजागाडाका २ सय ८३ जना विद्यालय उमेर समुहका ९ सयबढी बालबालिका सबै विद्यालयमा भर्ना भएका छन् । हिमा ५ का कुल ३ सय ३० घरमा गरिएको घरधुरी सर्वेक्षण अनुसार विद्यालय उमेर समुहका सबै बालबालिका भर्ना भएको पाइएपछि शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख,गाउँपालिका अध्यक्ष,सिडिओ लगायतले संयुक्त रुपमा बाजागाड र तलिकुडु गाउँलाई विद्यालय बाहिर रहेका बालबालिका मुक्त समुदाय घोषणा गरे ।

हिमा ५ को तलिकुडुमा रहेको कालिका माविमा ६ सय ३० र बाजागाडामा रहेको रुपाकोट आधारभुत विद्यालयमा २ सय ८३ बालबालिका भर्ना भएको छन् । शिक्षा र स्वास्थ्यमा पहिलो प्रथामिकता दिदै आएको हिमाले प्लान ईन्टरनेशनल नेपाल र किर्डाक नेपालसंगको सहकार्यमा जुम्लाकै नमुना कार्यका रुपमा विद्यालय बाहिर रहेका भर्ना उमेर समुहका शतप्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा पुराउन सफल भएको छ ।

विगतमा विभिन्न कारणले दलित तथा गैर दलितका बालबालिका विद्यालय आउदैन थिए । सरकारी दलित छात्रबृत्ति र छात्रा छात्रबृत्ति दिएपनि सामुदायिक विद्यालयमा अपेक्षित विद्यार्थी भर्ना हुन्थे । भने भर्ना भएपनि बीचमै विद्यालय छोड्ने समस्या विकराल थियो । तर हिमा गाउँपालिका,प्लान र किर्डाकले दुर्गम क्षेत्रको शैक्षिक अबस्था सुधार्न विगत लामो समयदेखि गरेको कसरतनुसार दुर्गम गाउँका शत प्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेका हुन् ।

विद्यालय स्थापना भएको दशकौंपछि दुवै गाउँका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेकोमा रुपाकोट आधारभुत विद्यालयकी प्रधानाध्यापक शान्ती शाहीले खुसी व्यक्त गरिन् ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले शत प्रतिशत बालबालिका विद्यालय भर्ना घोषणाले यहाँका कुनै पनि बालबालिका गोठाला नभएको,घरमा बच्चा धराला नभएको श्रमिक नरहेको र शिक्षाबाट बन्चित नरहेको पृष्टी भएको बताए । उनले भने,“विद्यालय बाहिर शुन्य बालबालिका हुनु सुखद कुरा हो । तर गुणस्तर शिक्षा,बालबालिकाको नियमितता र घोषणा कार्यान्वयनमा चुनौती छ । सामुदायिक विद्यालयमा बालबालिका टिकाउन स्थानीय सरकारले शैक्षिक सुधारका ठोस नीति ल्याउन आबश्यक छ ।”

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमाका कुनै बालबालिका अब विद्यालय बाहिर रहेर शिक्षाबाट बन्चित हुन नपर्ने बताए । हिमा सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्रथामिकता दिदै आएको छ । युग सुहाउँदो शिक्षा प्रणाली लागु गर्न तयार छौ । उनले भने,“ आधारभुत तहको शिक्षामा सुधार नभई भविष्यमा दक्ष जनशक्ति उत्पादन सम्भव छैन् । विद्यालय झिकाउने,व्यवहारिक शिक्षा सिकाउने,विद्यालयमा टिकाउने र विकाउने जनशक्ति उत्पादन गर्न शिक्षाको जग बलियो गर्नुपर्नेमा हामी सचेत छौ ।”

पालिकाले रुपाकोट आवि र कालिका मावि विद्यालयको पूर्वाधार विकासंगै पालिकाभरीकै विद्यालयहरुको शैक्षिक तथा भौतिक विकासका लागि नीतिगत रुपमा अघि बढ्ने उल्लेख गरे । विद्यालयमा मैत्रीपुर्ण शौचालय,धारा,कक्षा कोठा व्यवस्थापन र शिक्षक शिक्षणविधि तथा क्षामता विकास तालिम दिएर सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउने योजना रहेको अध्यक्ष शाहीको भनाई छ । हिमामा शिक्षा नीतिको मस्यौदा समेत तयार भईसकेकोले अब त्यसलाई पुर्णता दिएर कार्यान्वयनमा ल्याईने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बाजागाड र तलिकुडु गाउँजस्तै जुम्लाका ६० वटै वडाका सबै बस्तीलाई विद्यालय बाहिर रहेको बालबालिकामुक्त समुदाय घोषणा गर्न अभिभावक,शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध समधुर हुनुपर्ने बताए ।

प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस