माओवादीद्धारा जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान


जुम्ला । तिला गाउँपालिका वडा नंं. ९ निवासी रमिता बोहोराले गुठिचौर गाउँपालिका ५ का उमेश दमाई संग प्रेम विवाह गरिन् । २०६६ सालमा उमेश संग विबाह गरेकी बोहोरालाई अन्तजातीय विवाह गरेकै कारण समाजमा स्थापित हुन मुस्किल थियो । माईतीले पनि स्वीकार गरेका थिएनन् ।
जातका आधारमा विभेद गर्नु अपराध हो भन्ने बुझेका रमिता र उमेशले मन मिलेर बिवाह गरे ।

तर उपल्लो जातका समुदायले अझै अन्तरजातीय विवाह गर्नु जगन्य अपराध जस्तै ठान्छन् । जसका कारण रमितलाईलाई दलित यूवासंग विवाह गरेका कारण समाजमा स्थापित हुन मुस्किल थियो । कसैको साथ भरोसा नपाउँदा कहिले काहि अन्तरजातीय विवाह गर्नु गलतनै भयो की भन्ने सोच्थीन् ।

तर विहिबार आयोजित एक भव्य कार्यक्रमका बीच रमिता बोहोरा र उमेश परियार अन्तरजातीय विवाह गरेकै कारण सम्मानित भएपछि निकै खुसी छन् । सम्मानले जातका आधारमा हुने विभेद अन्त्य गर्न अन्तरजातीय विवाह गर्नु सफल विद्रोह सावित भएको उमेशले बताए । उनले भने,“सम्मानसंगै जातीय विभेदका घटना संग संलग्न व्यक्तिलाई कारबाहि गर्न जरुरी छ । सरकारले नीति बनाउने कार्यान्वयनमा राजनीतिकरण हुने प्रबृत्तिले समाजमा विभिन्न खाले विभेद बढेका छन् । सचेतना जरुरी छ ।”

रमिता र उमेश जस्तै अन्तरजातीय विवाह गर्ने जुम्लाका ६० वटा जोडी सम्मानित भएका छन् । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनका क्रममा यहाँकाा आठै स्थानीयतहका अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मा गरिएको हो ।

समाजमा विद्यमान जातका आधारमा हुने विभेदलाई अन्त्य गरी सभ्य समाज निर्माणका लागि अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरिएको दलित मुक्ति मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्र बहादुर नेपालीले बताए ।

उनले भने,“दलित एकताको कमी,मुखदर्शक राज्य भएर अन्तरजातीय विवाह गरेकै जाजरकोटका प्रेम विक जस्ता दलित यूवाको विभत्स हत्या भयो । राज्यले अन्तराजातीय विवाह गर्नेलाई प्रोत्साहन नगर्नु,अन्तरजातीय विवाह गरेकै कारण हत्या गरिएका पिडितले न्याय नपाउनु लगायतका कारण बढ्दो जातीय विभेद बढ्दो छ । त्यस्ता गतिविधि रोक्न हामीले प्रोत्साहन गरेका हौ ।”

तातोपानीका अम्रिते नेपालीको जोडी,मयालु सार्की जोडी,चन्दननाथका पुष्पा विष्ट, तिलाका जनक परियार गुठिचौरका चन्द्र नेपाली लगायत अन्तरजातीय विवाह गर्ने जुम्लाका ६० जोडीलाई दोसल्ला,प्रशांसा पत्र सहित सम्मान गरिएको हो ।

कार्यक्रममा दलित समुदायबाट निर्वचित भएका जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ । दलित माथि हुने दमन,शोषणा र उत्पीडन अन्त्य गर्नकै कारण माओबादीले आन्दोलन गरेको भन्दै अझै समाजमा विभेद कायम रहेकोले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको माओबादी केन्द्र जुम्लाका ईन्चार्ज नरेश भण्डारीले बताए ।

कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद .रणसिंह परियारले दलितले वनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति अन्त्य गर्न नीति कार्यान्वयनमा निर्मम बन्नु पर्नेमा जोड दिए । साथै दलित मुक्तिमोर्चा जिल्ला समन्वय समितिको जिल्ला भेलाले अध्यक्ष चन्द्रबहादुर नेपाली र सचिव पुन्न वहादुर वि.कको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कार्यसमिति गठन समेत गरेको छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस