बाजागाडा गाउँमा एकघर,एकधारा,खोलाको पानी खाने बाध्यता हट्यो

जुम्लामै पहिलो ईनलाईन क्लोरिनशन गरेर घरघरमा पानी,स्थानीय खुसी

जुम्ला । हिमा गाउँपालिका–५ निवासी ५० वर्षिया छुमकली रावतका करिब ४ दशक खोलाकै दुषित पानी बोक्दै बित्यो । शुद्ध पानी त परै जावस गाउँमा स्रोत भएर पनि गाउँसम्म पानी ल्याउने पहल नहुँदा छुमकलीलाई खोलाको पानी बोक्न र पिउनु पर्ने बाध्यता थियो । पछिल्लो समय केहि संस्थाले गाउँभरी ३÷४ धारा निर्माण नगरेका हैनन् । माग र आबश्यकतानुसार पानी नभएपछि खोलाकै पानी पिउन छुटेन् ।

तर लामो समयको अन्तरालपछि सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (सुष्वा) परियोजना मार्फत जुम्लाकै पहिलो (ईनलाईन क्लोरिनेशन) गरेको पानी धारा घरमै छर्किएपछि छुमकली दंग छन् । उनले भनिन,“खोलाको पानी बोक्दै वर्षौ बित्यो । पानीकैपथ घरमा झगडा हुन्थ्यो । सरसफाई त परै जावस राम्मरी पिउनै पुग्दैन् छियो बाबु । धारा पानी नखाई मरिजाउला सुच्या छियाँ । कस्तो भाग्य घरघरै धारा पुग्या । हामीले पानीका दुःख पायापुनि छोरानातीले नपाउने भया । जात्ती खुसी छु ।”

त्यस्तै घरमै शुद्ध पानीधारा पुगेपछि बाजागाडा गाउँकी ७० वर्षिया बुझि रोकाया पनि खुसी छन् । गाउँमा धारा नहुँदा विहान ४÷५ नबज्दै गाग्री बोकेर खोला जानुपर्ने कष्ट भोगेकी रोकाया घरघरमा धारा पुग्दा निकै सुखको अनुभुति भएको बताउँछन् । ईनलाईन क्लोरिनेशन गरेको शुद्ध पानी घरमा पुग्दा स्वास्थ्य सुरक्षित,समयको बचत हुने उनको आशा छ ।

घरघरमा धारा पुग्दा छुमकली रावत र बुझि रोकाया मात्र हैन् बाजागाडा गाउँका १ सय ३६ घरधुरीका ९ बढी नागरिकनै उत्साहित छन् । घरघरमा धारा पुगेपछि गाउँलेले पञ्चेबाजा सहित हर्ष मनाएका छन् । भने संरचनाको दिगो व्यवस्थापन,सदुपयोग र संरक्षण गर्ने बाचा पनि गरेका छन् ।

१ सय ३६ घरधुरी रहेको बाजागाडा गाउँ पानी अभावले पिल्सीएको थियो । एक घर एकधाराको विकास भएपछि बाजागाडा बासीको खोलाको पानी खाने बाध्यता र खानेपानी अभावको समस्या अन्त्य भएको स्थानीय दलविर रावतले बताए ।

७६ लाख लगानीमा एकघर एकधारा
हिमा गाउँपालिकाको दुर्गम बाजागाडा गाउँमा जुुम्लाकै पहिलो ईनलाईन क्लोरिनेशन गरिएको पानी घरघरमा पुगेको छ । नेपाल सरकार,यूरोपियन यूनियन फिनल्याण्ड सरकारको सहयोग मार्फत हिमा गाउँपालिकाद्धारा सञ्चालित सुष्वा परियोजना मार्फत २० प्रतिशत श्रमदान सहित ७६ लाख ७७ हजार ८ सय ६७ रुपैया लागतमा एकघर एकधारा निर्माण भएको परियोजना संयोजक सुमिता शाहीले बताईन् ।

उनका अनुसार परियोजनाले हिमा गाउँपालिकाभर,खानेपानी,सरसफाई तथा स्वच्छता र दिगोपनाका लागि काम गर्ने छ । पुर्ण सरसफाईयुक्त पालिका बनाउने लक्ष्य सहित भौतिक संरचना निर्माण,मर्मत संभार तथा जनचेतना मुलक कार्यक्रम हुने संयोजक शाहीले उल्लेख गर्नि ।

सुष्वा परियोजनाको ७६ लाख लगानीमा निर्माण भएको बादाखोला खानेपानी तथा सरसफाई आयोजनाको बुधबार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्षले आयोजनाको उद्घाटन गरेका हुन् । अध्यक्ष लक्ष्मण बहादुर शाहीले हिमालाई खानेपानी,सरसफाई तथा स्वच्छतामा जिल्लाकै अब्बल पालिका बनाउने गरी सुष्वा परियोजना मार्फत विभिन्न काम गरिने बताए ।
उनले भने,“पालिकाका सबैवडामा एकघर,एकधारा,शौचालय,आनीबानी परिवर्तन लगायतका क्षेत्रमा परियोजनाले उल्लेखीय काम गर्ने छ । साथै पालिका पनि खानेपानी सरसफाईका क्षेत्रमा प्रयाप्त लगानी गर्न तयार छ ।”

जुम्लाकै नमुना खानेपानी आयोजनाका रुपमा बाजागाडामा घरघरमा फाईप लाईनबाटै पानी शुद्धीकरण गरेर आएकोले पानीको बहुआयामिक सदुपयोग तथा संरक्षणमा ध्यान दिन स्थानीयलाई समेत आग्रह गरे ।

सुष्वा परियोजनाका प्राविधिक विज्ञ नारायणसिंह खवासले सुष्वा परियोजना लागु भएका कर्णालीका २१ वटै स्थानीयतह मध्य हिमा पहिलो ईनलाईन क्लोरिनेशन मार्फत शुद्धीकरण गरी घरघरमा पानी पुराइएको बताए । उनले भने,“ईनलाईन क्लोरिनेशन गरेको पानी जिवाणु रहित हुन्छ । कोलिफर्मले जीवाणु मार्छ । जसले गर्दा नागरिकको स्वास्थ्यमा कुनै असर पर्दैन । यो प्रविधि कर्णालीकै पहिलो ।”

कर्णालीका अधिकांश नागरिक अझै शुद्ध पानीको पहुँचमा पुगेका छैनन् । त्यसैले ईनलाईन क्लोरिनेशन प्रविधि सबै खानेपानी आयोजनामा लागु गर्न जरुरी छ । सुष्वा परियोजना मार्फत साढे ५ वर्षमा ७ सयवटा योजना निर्माण हुने र त्यसमार्फत २ लाख ६२ हजार ५ सय नागरिक लाभान्वित हुने लक्ष्य राखिएको छ ।

जसअन्तर्गत पहिलो आयोजना स्वरुप बादाखोला खानेपानी तथा सरसफाई आयोजना उद्घाटन भएको हो । हिमामा फागुनदेखि लागु भएको परियोजनाले दिर्घकालिन महत्वको खानेपानी आयोजना निर्माण गरी नागरिकको पिडामा मलम लगाएको हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले बताईन् ।

प्रकाशित मिति : २०८० असार २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस