जुम्लाको गुठीचौर गाउँपालिकाले मदिरा सेवा र विक्रीवितरण गर्नका लागि इजाजत कार्ड लिनुपर्ने व्यवस्था गरेको छ । गाउँपालिकामा मदिरा नियन्त्रण गर्नका लागि यस्तो विधि प्रयोग गरेको हो ।
भदौँ १ गतेदेखि लागु हुने गरी ३१ असार २०८० मा गाउँपालिकाको १५ औँ गाउँसभाबाट मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० पास गरेको छ ।
यो कार्यविधि भदौँ १ गतेदेखि पूर्ण रुपमा कार्यन्वयनमा आउने भएकोले अहिले साउन महिना भरी व्यापाक प्रचारप्रसारमा जुटेका छौँ गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले भने ।
मदिरा सेवन तथा विक्रीवितरणले गाउँसमाजमा शान्ति सुरक्षा खलल गर्नुका साथै चुनौति थपिएकोले गाउँपालिकाबाट कानुन नै बनाएर नियन्त्रण गर्नु परेको अध्यक्ष बुढाले बताए । उनले भने मदिरा सेवन गर्न चाहने व्यक्तिले गाउँपालिकाबाट मदिरा सेवन कार्ड लिनु पर्ने व्यवस्था गरिएको छ । यस्तै अथिति मदिरा सेवन कार्ड, विक्रीवितरण, ओसारपसार गर्न नयाँ इजाजतपत्र लिनु पर्ने र पहिले नै अन्तशुल्क कार्यालयबाट अनुमति लिएका विक्रीकर्ताले पुन पालिकामा अभिलेख राख्ने व्यवस्था गरिएको छ ।
स्थानीय स्तरमा उत्पादन गर्ने विक्रीवितरण तथा ओसारपसार गर्ने व्यक्ति, व्यापारीले साउन महिनाभित्र इजाजत पत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।
मदिरा विक्रीवितरण गर्न इजाजत पत्र लिएको व्यक्ति तथा व्यापारीले सार्वजनिक स्थल विद्यालय, स्वास्थ्य चौकी, मन्दिर, सरकारी तथा गैर सरकारी कार्यालय भन्दा पाँच सय मिटर टाढाको दुरीमा राख्न पाइने कार्यविधिमा उल्लेख गरिएको छ ।
मदिरा पसल अन्य खाद्यजन्य सामग्रीदेखि अलग्गै राख्नु पर्ने छ । मदिरा विक्रीवित्ररण गर्न इजाजतपत्र लिएका विक्रीकर्ताले अभिलेख चुस्तदुरुस्त राख्नु पर्ने छ ।
प्रतिव्यक्तिले दैनिक १८० मिलिलिटर मात्रै
मदिरा सेवन कर्ता प्रतिव्यक्तिले एक दिनमा १८० मिलिटिर मात्रै सेवन गर्न पाउने व्यवस्था गरिएको छ भने वियर एक बोतल मात्रै सेवन गर्न पाउने व्यवस्था गरिएको छ ।
यति मात्रमा मदिरा सेवन गरेबापत सेवनकर्ताले बार्षिक एकमुष्ट पाँच सय रुपियाँ नविकरण, कार्डको पाँच सय र अथिति कार्ड वापत प्रत्येक दिन एक सय रुपियाँ राजश्व तिर्न पर्ने छ ।
मदिरा होलसेल विक्रीकर्ता र ओसारपरारकर्ताले खुद्रा विक्रीकर्तालाई विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म र विक्रीकर्ताले सेवन कर्तालाई बेलुका ६ बजेदेखि ९ बजेसम्म मात्रै विक्रीवितरण गर्न पाउने कानुनी व्यवस्था गरिएको छ ।
कानुन उल्लघंन गरे जरिवाना
मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०८० विपरित कार्य गर्ने जोसुकै व्यक्ति तथा व्यापारीले दण्ड जरिवानाको पनि व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष बुढाले बताए । उनले भने मदिरा सेवन गरी समुदायमा होहल्ला शान्ति भंग हुने क्रियाकलाप झैझगडा गर्ने व्यक्तिलाई पहिलो पटक एक हजार जरिवाना गर्ने कानुनी व्यवस्था गरिएको छ । सोही व्यक्तिले सोही कसुर गरेमा पटक पिच्छे दुई हजारका दरले जरिवाना बढ्दै जाने व्यवस्था गरिएको छ ।
मदिरा विक्रीवितरण, ओसारपसार र उत्पादन कर्ताले कार्यविधि विपरित कार्य गरेको खण्डमा पहिलो पदक १० हजार जरिवानाको व्यवस्था गरिएको गुठीचौर गाउँपालिका प्रवक्ता अर्जुन महताराले बताए । उनले भने सोही व्यापारी तथा विक्रीविरतण कर्ताले कसुर दोहो¥याएमा २० हजारका दरले जरिवाना बृद्धि हुने व्यवस्था कार्यविधिमा गरिएको छ ।
कर्मचारीलाई दोब्बर सजाय
सार्वजनिक पदधारण गरेका व्यक्ति, सरकारी कर्मचारीले मदिरा सेवन गरी सामाजिक रुपमा होहल्ला, गाली बेजती जस्ता क्रियाकलाप गरेमा अन्य व्यक्तिलाई गरिने सजायको दोब्बर सजाय गर्नुका लागि विभागिय कारवाहीको लागि पनि सिफारिस गरिने छ ।
गुठीचौरमा कानुनको दण्डा लगाएर मदिरा नियन्त्रण गरिदै
प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस