जुम्ला । कर्णालीकै ब्यस्थ तथा यात्रुको बढी चाप हुने जुम्ला विमानस्थल वर्षौपछि विस्तार हुने भएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेसंगै जुम्ला विमानस्थल स्तरबृद्धिको बाटो खुलेको हो । यदपी विमानस्थल विस्तार चाडैनै हुनेमा जुम्ली नागरिक ढुक्क छैनन् । गत वर्ष २०७९÷८० मा विमानस्थल विस्तारका लागि विनियोजित १ करोड बजेट खर्च नभएर फ्रिज भयो ।
२०७६ साल यता वर्षेनी एयरपोर्ट विस्तारको रटान लगाएपनि परिणाम देखिएको छैन् । तर तर चालु आव २०८०÷८१ म अर्थमन्त्रालयले ४ करोड ४२ लाख ४७ हजार ७८७ रुपैया विनियोजन गरेसंगै विमानस्थल विस्तार आशा जागेको छ । २०५१ सालमै निर्मित पुरानो टर्मिनल भवनमै विमानस्थल चलेको छ ।
६७० मिटर लम्बाई,२० मिटर चौडाई भएको धावनमार्गमा विभिन्न समयमा ठुलो दुर्घटना भईसकेका छन् । २०७५ सालमा नेपालगन्जबाट उडेको तारा एयरको विमान जुम्ला विमानस्थलको धावनमार्गमै दुर्घटना भएपछि एयरपोर्ट विस्तारको बहस चर्को रुपमा चलेको हो ।
तर पाँच वर्षपछि विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८७ रुपैया विनियोजन भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले आईतबार अर्थमन्त्रालय मार्फत विमानस्थल विस्तारका लागि बजेट विनियोजन भईसकेकोले आबश्यक समन्वय गर्नका जुम्ला नागरिक उड्यन कार्यालयलाई निर्देशन दिएको छ ।
हाल विनियोजिच ४ करोड ४२ लाख बजेट बाट धावन मार्ग विस्तार,जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण र अप्रोनदेखि जहाज सम्म जाने बाटो (टयाक्सी वय) लगायतका संरचना निर्माण हुने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताए । तत्काल जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभएपनि चाडै केहि रकम विनियोजन हुने आशामा रहेको उनको भनाई छ ।
जग्गा अधिग्रण भएपछि मात्रै सोचेजस्तो विमानस्थल विस्तार हुन्छ । जग्गानै छैन् कहाँ विस्तार गर्ने ? कहाँ संरचना बनाउने ? अहिलेकै संरचनामा के विस्तार गर्ने त्यसैले चाडै जग्गा अधिग्रहणको लागि बजेट विनियोजन भएपछि मात्रै विमानस्थल विस्तारमा सहज हुने प्रमुख अधिकारीको भनाई छ ।
जग्गा अधिग्रहण नगरी विस्तार सम्भव छैन् । त्यसैले चाडो भन्दा चाडो जग्गा अधिग्रहणको लागि बजेट व्यवस्थापन भए काम अघि बढ्ने विमानस्थल प्रमुख अधिकारीले बताए ।
जुम्लाकी सांसद छिरिङ ल्यामु लामा तामाङले बेग्र प्रतिक्षापछि जुम्ला विमानस्थल विस्तारको बाटो खुलेको बताईन् । सबैको साँझा प्रयासमा चालु आवमा कार्यान्वयन हुने गरी ४ करोड ४२ लाख बजेट विनियोजित गराउन सफल भएको उनको भनाई छ । यदपी,आफुले सांसद पदको सपथ खाए संगै विमानस्थल विस्तारका लागि बजेट जुटाउन पहल गर्दै आएको उनको दाबी छ ।
सांसद लामाले भनिन,“विकास ढिलो चाडो हुन्छ । निरन्तर पहल गरे सम्भव छ । लामो प्रयासपछि जुम्ला एयरपोर्टमा गत वर्षभन्दा ३ करोड बढी बजेट आयो । यो अपेक्षाकृत होईन् । अब जग्गा अधिग्रहणको लागि बजेट व्यवस्थापनमा जुट्ने छु ।” यता सांसद कान्तिका सेजुवालले पनि आफु विमानस्थल विस्तारको लागि बजेट जुटाउन लामो समयदेखि लागिरहेको बताउँछन् ।
जग्गा अधिग्रहणका लागि बजेट छैन्
जुम्ला विमानस्थलको धावन मार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्ने तयारी छ । प्राधिकरणले पत्र समेत पठाई सकेको छ । तर बजेट नपठाएका कारण जग्गा अधिग्रहणको काम अघि बढ्न सकेको छैन् । जुम्ला विमानस्थलको लागि १८४.२४ रोपनी अधिग्रहण गर्नुपर्ने छ ।
जसमा ३५० मिटर पुर्वतिर र पश्चिमतिर ९२ मिटर जग्गा अधिग्रहण गर्ने तयारी छ । त्यसका लागि ४८ करोड बजेट आबश्यक पर्ने अनुमान छ । तर अर्थमन्त्रालयले ४ करोड ४२ लाख विमानस्थल विस्तारका लागि विनियोजन गर्दा जग्गा अधिग्रहणका लागि भने बजेट छुटाएको छैन् ।
जग्गा अधिग्रहणको लागि बजेट जुटाउन अर्थमन्त्रीदेखि क्यानका डिजीलाई समेत निरन्तर हारगुहार गरीरहेको जुम्लाकै सांसद कान्तिका सेजुवालले बताएकी छन् । जग्गा अघिग्रहणका लागि चालु आवमा न्युनतम २० करोड छुटाईन दिन माग गरेको उनको भनाई छ । यदपी, हाल सम्म जग्गा अधिग्रहणका लागि बजेट आएको छैन् । जग्गा अधिग्रहण नगरी विमानस्थल विस्तार हुन नसक्ने देखिन्छ ।
जग्गा अधिग्रहण नभएकै कारण गत वर्ष पनि विनियोजित बजेट खर्च नभएर फिर्ता भएको हो । यदपी,सरकारले जग्गा अधिग्रहणको लागि समयमै बजेट विनियोजन नगरेको खण्डमा ४ करोड ४२ लाख रकम पनि फिर्ता हुने देखिन्छ । त्यसैले बजेट व्यवस्थापनमा सांसद देखि स्थानीय नेताको दबाब जरुरी रहेको समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।



