जुम्ला । जंगल,जडिबुटि र कृषि पातारासी गाउँपालिका समृद्दीका आधार हुन् । जंगल,जडिबुटि र कृषिबाटै समृद्दि पातारासी बन्ने प्रचुर संभावना छन् । कृषि र जडिबुटि भन्दा पातारासीको आर्थिक समृद्दि,रोजगारी सृजनाको मुख्य अस्त्रनै सामुदायिक वन हो । पातारासी गाउँपालिकाका ७ वटा वडाका २६ वटा गाउँमा २९ वटा सामुदायिक वन रहेका छन् ।
वन संरक्षण,प्रर्बद्दन गाउँको आयस्तर बृद्दि,चोरी निकासी नियन्त्रण,बृक्षारोपण लगायतका उदेश्यले सामुदायिक वनको स्थापना गरिएको हो । हरेक सामुदायिक वनमा उपभोक्ता समिति गठन गरेर काम भईरहेको छ ।
तर जुम्लाको पातारासी गाउँपालिकाका समुदायिक वनमा भने बेथिति मौलाएको पाईएको छ । त्यहाका सामुदायिक वनमा वेथेति मौलाएको थाहा पाएपछि पालिका अध्यक्ष पुर्णसिंह बोहोरा सहितको टोली अनुगमनमा गएको थियो ।
बुधबार पातारासीका पाँच वटा सामुदायिक वनको अनुगमन गरिएको छ । भलेनी,देउखोला,लम्तेली,फुर्केसल्ला र जाल्टांग सामुदायिक वनको अनुमगन गरिएको हो । गाउँपालिका अध्यक्ष बोहोराले सामुदायिक वनको अनुगमन अभियान थालेका छन् ।
जसमा पातारासी गाउँपालिका वडा नं १ स्थित स्याला तथा पाडागडिगाउँको सामुदायिक वनमा बेथिति रहेको पाईएको हो । उक्त वडामा भलेनी सामुदायिक वन र देउखोला सामुदायिक वन रहेका छन् ।

जसमध्य भलेनी सामुदायिक वनमा चरम आर्थिक अनियमितता देखि उपभोक्ता समितिको लापरबाहि देखिएको हो । वन समितिको नत लेखाजोखा चुस्त रुदुस्त छन् । नत कार्यालय व्यवस्थापन छ । उपभोक्ता समितिमा अध्यक्ष हावी भएर काम गरेको देखिन्छ ।
भने अध्यक्षले झोलामै सामुदायिक वनको कार्यालय चलाएका छन् । सामुदायिक वनका उपभोक्ता समिति र स्थानीयले नीति र विधि मिचेर मनमर्जि रुपमा पुर्जि दिनेदेखि केहिले पुर्जिनै नलिएर घर लगाएका छन् । भने वनको आम्दानीको कुनै लेखाजोखानै छैन् ।
सामुदायिक वनको आम्दानीमा बेथिति
राम बहादुर ऐैडी पातारासी–१ स्थित भलेनी सामुदायिक वनको अध्यक्ष भएको करिब सात वर्ष बित्यो । बितेको सात वर्षमा वनको कुल आम्दानी खर्च लगानीको कुनै हिसाब छैन् । ४ हजार हेक्टर क्षेत्रफलमा फैलिएको भलेनी सामुदायिक वन मार्फत सात वर्षमा कति घर पुर्जा जारी भयो,वनबाट कति आम्दानी भयो,कति राजश्व संकलन भयो ? कति खर्च भयो ?कति लगानी भयो ? बैंकमा कति मौज्दात छ ? कुनै एकिन हिसाब भेटिएको छैन ।
स्थानीयकानुसार भलेनी सामुदायिक वनको आम्दानीबाट केहि वर्ष अघि गाउँमा ट्याक्टर खरिद गर्ने र अपुग रकम वडाले दिने कुरा चलेको थियो । त्यो हिसाबले वनको आम्दानी र मौज्दात कम्तिमा पनि १५÷२० लाख हुन पर्ने नागरिकको अनुमान छ । तर वास्तविकता भने अर्कै भेटिएको छ ।

अध्यक्ष ऐैडीले दिएको विवरणनुसार आम्दानीको ५÷६ लाख रुपैया गाउँमा लगानी गरिएको,विरामीलाई सहयोग गरेको देखिन्छ । भने वनको नविकरण तथा अनुगमन निरिक्षणका लागि कुल १ लाख ८० हजार खर्च भएको अध्यक्ष ऐैडीले जानकारी दिए ।
अध्यक्षले ऐैडीले वनको नविकरणका लागि मात्रै १ लाख २० हजार दिएको उल्लेख गरे । भने बैंकमा १० हजार मौज्दात रहेको उनको भनाई छ । चालू आव घर पुर्जि बापत १ लाख ६४ हजार रुपैया संकलन भएको छ । त्यसको पनि धेरै पुर्जा कतै छाप कतै हस्ताक्षर छैन् ।
तर उनको विवरणमा कुनै सत्यता देखिन्न । किनकी आम्दानीको एकिन विवरणनै छैन् । लिखित श्रेस्ता कतै छैन् । मौखिक रुपमै भनेको विवरणलाई विश्वास गर्ने आधार समेत छैन् । नविकरणमा बढी बजेट खर्च भएको स्थानीयको गुनासो उस्तै छ । भलेनी सामुदायिक वन उपभोक्ता समितिकै सदस्य दिप बहादुर ऐैडीले समितिका अध्यक्षले कुनै हिसाब किताब नदिने,छलफलनै नगरेको बताए । सामुदायिक वनमा नाममा निश्चित व्यक्तिहरु मोटाएको भन्दै उनले आक्रोस पोखे ।
आम्दानी विवरण बिनाको एकोहोरो खर्चलाई पारदर्शी मान्न नसकिने पातारासी गाउँपालिका वडा नं १ का वडाध्यक्ष लालसिंह ऐैडिले बताए । उनले सामुदायिक वनले वडा संग कुनै समन्वय मनपरी तरिकाले नगरेको बताए ।

यसका साथै सोहि वडाकै देउखोला सामुदायिक वनको पनि अबस्था त्यस्तै देखियो । वन उपभोक्ता समितिका अध्यक्ष विर्खबहादुर बुढाले पछिल्ला वर्षमा कुनै वनको गतिविधि नभएको बताए । यता पातारासी–२ को लम्तेली सामुदायिक वनले करिब ३६ लाख लगानीर गरेको पाइएको छ । भने १८ लाख बैंक मौज्दात रहेको छ ।
लम्तेली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गौरी शंकर बुढाले वनको आम्दानीको ३६ लाख विभिन्न व्यक्तिलाई लगानी गरिएको बताए । उनका अनुसार नविकरण गर्दा समितिका पदाधिकारीले सदरमुकाम धाएको, नियमित खटिएको भन्दै १ लाख रुपैया बाँडफाँड गरिएको छ । नविकरणका लागि विल बिजक भरपाई विनै २ लाख ५० हजार खर्च भएको विषयमा स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन् ।
अन्यभन्दा लम्तेली सामुदायिक वन व्यवस्थित देखिएको छ । पातारासी २ कै फुर्केसल्ला र जाल्टांग सामुदायिक वन पनि अव्यस्थित रुपमै चलेका छन् । फुर्केसल्ला सामुदायिक वनको आर्थिक वर्ष २०७७÷७८ विवरणनुसार ६ लाख ४ हजार ९ सय आम्दानी, खर्च ५ लाख ९५ हजार भएको छ । दुई वर्ष यताको आम्दानी,खर्च तथा अडिट कुनै छैन् । यता जाल्टांग सामुदायिक वनको चालु आवको अहिले सम्म घर पुर्जा बापत १ लाख ६५ संकलन भएको छ ।
अनुगमन गरिएका पाँच सामुदायिक वन मात्र नभई पालिका भरीकै २९ वटै सामुदायिक वनमा बेथिती रहेको पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले बताए । उनले भने,“नत कार्यालय छ । न आम्दानी खर्चको विवरण एकिन छ । समितिकै हालीमुहाली चलेको छ । वनको आम्दानीमा बढ्दो बेथिती रोक्न र व्यवस्थित गर्न अनुमगन थालिएको हो । गाउँ गाउँ पुगेर सबै वनको अनुगमन गरी मनपरी गरी चलेकालाई नियमन गरिने छ ।”



