कर्णाली उत्सवः ‘आर्थिक समृद्धी,नीति निर्माण र सम्भावना पहिचानको बौद्धिक बहस’

स्रोत र सम्भावनाले मुलुककै आत्मनिर्भर कर्णाली प्रदेशले नीति र लगानीको अभावमा अशिक्षा,गरिबी,रोग र भोकको परिचय पाएको छ । सम्भवाना भएर पनि ठोस नीति र लगानी नहुँदा कर्णालीले अझै आफ्नो परिचय बदल्न सकेको छैन् । यहाँका बहुमूल्य जडिबुटि,कृषि,भाषा साहित्य र सभ्यता,जलविद्युतको सम्भावना,र पर्यटनको फराकिलो दिर्घकालिन भविष्य कर्णाली प्रदेश बाहेक अन्य प्रदेशको कमै देखिन्छ । मुगुको राराताल,जुम्लाको गिडिदह चन्दननाथ,डोल्पा शेफोक्सण्डो,हुम्ला मानसरोवर सहित कर्णालीका १० वटै जिल्लामा उत्कृष्ट पर्यटकिय छन् ।

कृषि जडिबुटि,जलविद्युत र जंगलको सम्भावना उस्तै छ । जसको उचित प्रर्बद्धन,परिचालन तथा प्रयाप्त लगानी भएको खण्डमा कर्णालीलाई आर्थिक रुपमा समृद्ध बनाउन कुनै कठिनाई छैन् । तर,लगानी नीतिकै अभावकै कारण यहाँका सम्भावनाहरू अवसरमा रुपान्तरण हुन सकेका छैनन् । युवाहरूमा आफ्नै ठाउँमा भविष्य नदेख्ने प्रवृत्ति अझै विद्यमान छ । विकासको अनुभूति दिने यहाँका गौरवका आयोजना दशकौंदेखि अलपत्र छन् । अनि कसरी हुन्छ समृद्ध कर्णाली ? कर्णाली सरकारले समृद्ध कर्णाली, सुखारी कर्णालीबासीको नारा तय नगरेको पनि हैन् । आबश्यकता एकतिर सरकारी लगानी अर्कैतिर हुँदा उपलब्धी अपेक्षाकृत हुन सकेन् ।

प्रदेश सरकार स्थापनाको ६ वर्ष बित्दा पनि कर्णालीमा आन्तरिक तथा बाह्य लगानीमात्रै भित्रिन सकेन् । रोजगारी सृजना,उद्योग कलकारखामा स्थापना,उत्पादन बृद्धि,पर्यटन प्रर्बद्धनका कुनै क्षेत्रमा पनि आशा लाग्दो काम हुन सकेको छैन् । फल स्वरुप विकास र चेतनामा कर्णाली अझै बामे सर्दै छ । अहिले पनि कर्णालीमा सरकारी अनुदानको नुनदेखि चामल पाउन आन्दोलन गर्नुपर्ने तितो यर्थात छ । कर्णालीको दुःख देख्ने सिंहदबारमा झयाल छैन् । कर्णालीका वास्तविक पिडा पोख्ने नेता छैनन् । नीति निर्माणतहमा बसेकाहरुलाई सम्भावनाहरुले गिज्याईरहेका छन् ।

सुनको सिरानीमा नुनको खोजी गर्ने,आर्थिक समृद्धीका सम्भावना हुँदा पनि गरिब प्रदेशको परिचय बोक्न बाध्य हुनु पर्ने,सम्भावनाहरुलाई उपेक्षा गर्दै परनिर्भर बन्नु पर्ने मुख्य कारणनै मुख्य कारण विचार विमर्श बहस तथा आबश्यकतामुखी सार्वजानिक नीति र लगानी अभावनै हो ।

कर्णाली उत्सवको पाँचौ संस्करण हुदैँ
बहस विमर्श सम्भावना पहिचान,नीति निर्माण तथा लगानी जुटाउन सम्भव नरहेको कुरालाई मध्यनजर गर्दै विगत चार वर्ष यता कर्णाली केन्द्रित राष्ट्यि स्तरको बहस ‘कर्णाली उत्सव,कुडा कर्नालीका’ नामक बहस हुदैँ आएको छ । चार वर्षदेखि ऋति फाउण्डेसनको आयोजनामा निरन्तर हुदैँ आएको यस बहसले सार्वजानिक नीति निर्माण,कर्णालीका सम्भावनाहरुको पहिचान,लगानीको वाताबरण बनाउन केहि हदसम्म राज्य र राज्यका शासकहरुलाई उत्तरदायी बनाएको पाइएको छ ।

कर्णाली चिन्ने र चिनाउने यो उत्सवले आर्थिक,सामाजिक र राजनीतिक विषयमा विगतको समिक्षा,वर्तमानको चित्रण र भविष्यको खाका कोर्न समेत सघाउ पुराएको ‘कर्णाली उत्सव’ को पाँचौँ संस्करण यसवर्षको आगामी फागुन ५ देखि ७ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतको बुलबुले उद्यानमा आयोजना हुने कर्णाली उत्सवका संयोजक कमल लम्सालले बताए । ।

उत्सवको तयारी तिब्र रुपमा भईरहेको छ । पाँचौँ संस्करण पुर्ननिर्माण,विपद व्यवस्थापन,लगानीमैत्री वाताबरण बनाउन,नीति निर्माण तथा कर्णालीका सम्भावानाको पहिचान केन्द्रित हुने छ । उनले भने,‘हामीले विभिन्न विषय विशषज्ञ संग छलफल गरेर सेसनका बक्ताहरु छनोट गर्दै छौ । विगतको भन्दा पाँचौँ संस्करणलाइ थप व्यवस्थित गने योजना छ ।’

कर्णाली उत्सवको पाँचौ संस्करण फागुन ५–७ गतेसम्म सुर्खेतमा हुदैँ छ । उत्सवमा पुर्ननिर्माणदेखि विपद् व्यवस्थापन,राहत उद्दार,लगानीमैत्री वाताबरण सृजना तथा समग्र आर्थिक सामाजिक र राजनीति केन्द्रित राष्ट्यि बहस हुने छ ।

कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला, संस्कृति, पूर्वाधार विकास र कर्णालीको अर्थतन्त्रका गहन विचार मन्थन हुने गर्दछ ।
उत्सव कर्णालीको विम्ब, धारणा र सोच बदल्ने अभियान पनि हो । उत्सवको पहिलो र दोस्रो संस्करणमा १४÷१४ सत्र, तेस्रोमा १३ र चौथोमा १६ सत्र सञ्चालन भएका थिए । सबै सेसनले सुनेको र वास्तविक कर्णालीमाथि गहन विमर्श गरिएको थियो ।


फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णाली उत्सवको चौथो संस्करणसम्म पुग्दा मोफलसबाट पनि राष्ट्रिय विचारको महोत्सव गर्न सम्भव रहेछ भन्ने तथ्य स्थापित भएको बताए । उनले भने,‘यो कर्णालीलाई ब्रान्डिङ गर्ने विचार निर्माणको विशेष कार्यक्रम हो जसले खाना, भाषा, संस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन प्रवद्र्धनमा पनि टेवा पु¥याएको छ।’

फागुन ५ देखि ७ गतेसम्म सञ्चालन हुने पाँचौ संस्करणको पहिलो सत्रमा भूकम्पछिको पुनःनिर्माण, राहत वितरण, अनुभव र अनुभूति र सरकारको जवाफदेहितका बारेमा विशेष बहस हुने छ । कर्णालीको पैकेलो पहिचान,लगानी सम्मेलन र सम्भावना पहिचान तथा बजेटको समुचित परिचालनका विषयमा बहस थालिने उनको भनाइ छ । यो विचार र बहसको उत्सवले कर्णालीको परिचय बदल्न पुलको काम गर्ने आयोजकको विश्वास छ ।

कर्णाली उत्सव गरेर के हुन्छ ? गफ किन गर्नुपर्यो र ? भन्ने जस्ता टिप्पणी नभएका हैनन् । कर्णाली उत्सवको औचित्य माथि टिप्पणी गर्नेलाई कर्णाली उत्सवका आयोजक प्रकाश लामिछाने भन्छन,‘उता पोखरामा पनि लिटरेचर फेस्टिभल हुँदैछ, सारा पोखरेली ’देशलाई पोखरामा स्वागत् छ’ भन्दैछन् । जनकपुरमा ’जनकपुर साहित्य महोत्सव हुँदैछ, जनकपुरबासीहरु त्यसको चटारोमा छन् । सुनसरीमा थारु साहित्य महोत्सव हुँदैछ, थारुहरुले यसलाई गौरवको उत्सवका रुपमा मनाउँदैछन् । यता हाम्रो सुर्खेतमा पनि सोही समयमा कर्णाली उत्सव हुँदैछ । केहीकेहीले ‘कर्णाली उत्सव गरेर के हुन्छ ? गफै मात्र गरेर के उपति पर्छ भनेपनि कर्णाली चिनाउन यो उत्सवको आफ्नै विशेष र महत्व छ ।’

कर्णाली उत्सव बोल्ने, प्रश्न गर्ने, जवाफदेहिता खोज्ने, इतिहास, वर्तमान र भविष्यका बारेमा गन्थन, मन्थन र चिन्तन गर्ने थलो भएकोले यसले वर्तमानमा हाताहातीमा के दियो भन्दापनि भविष्यमा प्रभाव छोड्ने बिरासत कसरी दिन्छ ? त्यसका लागि रचनात्मक आलोचना गर्नुपर्नेमा लामिछानेले जोड दिएका छन् ।

यसकारण सम्भव छैन् सुर्खेत बाहिर उत्सवको आयोजना
विगत चार वर्षदेखी निरन्तर आयोजना हुदैँ आएको ‘कर्णाली उत्सव,कुडा कर्नालीका’ नामको बहसको पाँचौ संस्करण फागुन पहिलो साता हुदैँ छ । विगतको जस्तो धेरैले हरेक वर्ष सुर्खेतमै किन ? मुगु,जुम्ला,हुम्ला,डोल्पा लगायतका अन्य ठाउँमा किन आयोजना हुन सकेन् ? सुर्खेत मात्र नभई अन्य ठाउँमा हुनु पर्ने जिज्ञासा र प्रश्न धेरैले राखेका छन् ।

आयोजक ऋति फाउण्डेसनले आर्थिक व्यायभारका हिसाबले कर्णाली उत्सव सबै ठाउँमा गर्न सम्भव नरहेको बताएको छ । फाउण्डेसनका निर्देशक दिनेश गौतम भन्छन,‘एउटै संस्करणमा अनुमानित ५० लाखसम्म खर्च हुन्छ । सुर्खेतमा हवाई तथा सडक यातायातको सहज पहुँच हुँदा र खर्च बढ्दो छ । यस्तै बहस मुगु डोल्पा हुम्ला गर्दा आउआउमा समस्या त छनै । खर्च जुटाउनै मुस्किल हुन्छ । अपेक्षित संख्यामा सहभागीनै हुदैनन् । त्यसैले पनि कर्णाली उत्सव सुर्खेत बाहेक अन्त गर्न सम्भव छैन् ।’

सुर्खेत प्रदेशको राजधानी भएकोले पनि सबै जिल्लाका,विभिन्न पेशा व्यवसायका मान्छे सुर्खेतमै बस्छन् । यातायात,खानबस्न पनि सहज छ । त्यसैले कर्णाली उत्सवल सुर्खेतमै गरिदै आएको हो । कर्णाली उत्सवनै अन्य जिल्लामा गर्नुपर्छ भन्ने तर्क सान्दर्भिक छैन् । सबै जिल्लामा आफ्नै स्वरुपको समसामायिक विषयमाथि बहस गर्न सकिन्छ । बरु त्यसका लागि केहि आईडिया,समन्वय सहकार्य गर्न सक्छौ । जस्तो जुम्लामा लाम्रा संवाद सुरु भएको छ । त्यो कर्णाली उत्सवको प्रेरणा हो ।

त्यस्तै बहस अन्य जिल्लामा पनि शुरु गर्न सकिन्छ । तर कर्णाली उत्सवनै सुर्खेत बाहेक अन्य ठाउँमा हुनुपर्छ भन्नु उचित नभएको आयोजकले बताएको छ । कर्णालीको राजधानी सुर्खेतलाई व्यवस्थित सहरीकरण गर्नेदेखि दुर्गम जिल्लाको समानुपातिक आर्थिक सामाजिक राजनीति विकासमा यूवाको पहुँच बृद्धि गर्न,आफ्नै जन्मभुमिमा भविष्य देख्न, यूवा पलायन रोक्न,आबश्यकतामुखी नीति बनाउन,उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन तीनै तहका सरकारलाई उत्सवले प्रेरित गर्ने अपेक्षा छ ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस