
जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले सुरुदेखिनै खानेपानीको विकासमा प्रयाप्त लगानी गर्न थालेपछि हिमाबासीको दिनचर्या फेरिएको छ । एक गाग्री पानी ल्याउन खोलामा पुग्नु पर्ने,घण्टौ लाईन कुर्नु पर्ने,सिँचाई त परै जावस पिउन,सरसफाई गर्न समेत दैनिक पानीको अभाव झेल्दै आएका हिमा गाउँपालिकाका घरघरमा खानेपानी धारा पुगेपछि स्थानीयको दिनचर्या फेरिन थालेको हो ।
मानव जीवनको अभिन्न अंग र आधारभुत आबश्यकताका रुपमा रहेको खानेपानी विकासमा हिमा गाउँपालिका र त्यहाँ संचालित सुष्वा परियोजनाले माटो रकम लगानी गरेपछि एक दर्जनबढी गाउँमा एकघर एक धारा पुगी सकेको छ । भने पाँच वर्षमा हिमाका ७ वटै वडाका २१ वटै बस्तीमा शुद्ध खानेपानी धारा पुराउने पालिकाले लक्ष्य लिएको छ ।
खोला,नदीको पानी पिउँदै करिब पाँच दशक बिताई सकेकी हिमा–५ बाजागाड गाउँकी छुमकली रावत आँगमनै धारा पुग्दा दंग छन् । खोलाकै दुषित पानी पिउदैँ र बोक्दै दशकौ बित्यो । स्रोत भएर पनि गाउँमा धारा नहुँदा पानीका दुःख थिए । उनी भन्छन,‘ढिलै भएपनि आँगनमै धारो पुग्यो । आधी जोवन खोलाकै पानी पिएर गइसक्यो । अब केहि सुविस्ता हुने भयो । छोरा नातीले पानीको दुःख नभोग्या भए ।’
छुमकली जस्तै हिमा गाउँपालिका विभिन्न गाउँका सयौ नागरिक घर आँगनमा धारा पुग्दा उत्साहित छन् । सुष्वा परियोजना र हिमा गाउँपालिकाको लगानीमा हिमाका ९ नौ गाउँका ७ सय ७६ घरधुरीमा एकघर एकधारा निर्माण भएका छन् ।
जसमा सुष्वा परियोजनाको लगानीमा बाँजागाडा गाउँमा १३६ घरधुरीमा ७६ लाखबढीको लगानीमा एकघर एकधारा निर्माण भएका छन् । भने वडा नं.१ बड्की गाउँका १ सय ६६ घरधुरी र वडा नं. ६ को डाडाबाडा गाउँका ७४ घरधुरीमा एकघर एकधारा पुगेको सुस्वा परियोजना संयोजक सुमित्रा शाहीले बताईन् । उनका अनुसार तीन गाउँका २ हजार ४ सय १९ जनसख्या आयोजनाबाट लाभान्वित भएका छन् ।
त्यस्तै हिमा गाउँपालिकाको आफ्नै लगानीमा पाँच वर्षभित्र ७ वडाका २१ वटै बस्तीमा एकघर एकधारा निर्माण गर्ने लक्ष्य लिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए ।
उनका अनुसार बितेको एक वर्षमा मात्रै हिमा वडा नं. ४ का सानो चिउडी गाउँका २६ घरधुरी,खेतुका ८३,सिम्तलीका ५८,जार्जीका ८४,तलिकुडुका १२८ घरधुरीमा र वडा नंं ७ को ठुलो चिउडीका ८३ घरधुरीमा एकघर एकधारो पुगेको छ ।
हिमाका ३ सय ७६ घरधुरीमा एकघर एकधारो पुराउन सुष्वा परियोजनाले झण्डै २ करोड ३६ लाख ७ हजारबढी बजेट खर्चिएको छ । जसमा बाजागाडा गाउँमा ७५ लाख ८९ हजार १ सय ६० रुपैया,बड्की गाउँमा १ करोड ११ लाख ६६ हजार १ सय ९७ रुपैया र डाडाबाडा गाउँमा १६ लाख ९ हजार २ सय ८३ रुपैया खानेपानी विकासका लागि लगानी गरेको ।
भने हिमा गाउँपालिकाले पनि खानेपानी विकासमा लगानी बढाएको छ । पालिकाका सबै बस्तीमा एकघर एकधारा पुराउन चालु आवमा ३ करोड ७६ लाख लागतको बृहत्त हिमा खानेपानी आयोजना निर्माण गर्न थालिएको अध्यक्ष शाहीले जानकारी दिए ।
उनले भने,‘पाँच वर्षमा पालिकालाई खानेपानी युक्त पालिका बनाउने सोचका साथ खानेपानी विकास परियोजना र पालिकाको लगानी बढाउदैँ छौ । हरेक वर्ष खानेपानीमा प्रथामिकता हुन्छ । खेर गएको पानीको प्रयोग हुने,महान संरक्षण हुने, नागरिकले सुविधा पाउने अपेक्षा सहित खानेपानी विकासमा लागेका छौ ।’
वाताबरण संरक्षण बिना खानेपानी विकासमा अपेक्षित उपलब्धी हासिल गर्न नसकिने भन्दै हिमाले ग्रिन रिभर,ग्रिन हिमाको नीति अन्तरर्गत २ लाख ५० हजार विरुवा राप्ने अभियान समेत थालेको छ ।
नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक अन्तरर्गत धारा ३५ को उपधारा ४ मा प्रत्यक नागरिकलाई स्वच्छ र सफा खानेपानी तथा सरसफाईमा पहुँचको हक हुने उल्लेख छ । उक्त हकको प्रत्याभुति दिलाउन हिमाले खानेपानी विकासमा लगानी बढाउदै आएको प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाले बताए ।
उनका अनुसार कुनै पनि नागरिक शुद्ध खानेपानीको पहुँचबाट बन्चित नहुनु भन्ने संविधानको परिकल्पनानुसार हिमाले खानेपानीमा काम गरिरहेको छ ।