जुम्ला । कर्णाली प्रदेशको सवाँ दुई लाख घरधुरी सौर्य उर्जाको पहूँचमा पुगेको छ । जलविद्युत उत्पादनको प्रचुर सम्भावना भएपनि प्रयाप्त लगानी नहुँदा कर्णालीमा सौर्य उर्जामा नागरिकको पहुँच बृद्धि हुदैँ गएको छ । तथ्यांकनुसार कर्णाली प्रदेशको १० जिल्लाका सवाँ दुई लाख घरधुरी सौर्य उर्जाको पहुँचमा पुगेका हुन् ।
जलस्रोतका हिसाबले कर्णाली मुलुककै दोस्रो धनी प्रदेशका रुपमा रहेको छ । कर्णालीमा मात्रै १८ हजार मेघावाट जलविद्युत उत्पादनको क्षामता रहेको समेत सरकारी तथ्यांक छ । तर जलविद्युतको सम्भावना भएपनि विद्युत उत्पादनका लागि आन्तरिक तथा बाह्य लगानी जुट्न नसक्दा कर्णालीका अधिकांश नागरिक अहिले सौर्य उर्जामै निर्भर रहेका छन् । जलविद्युत विकासका लागि प्रयाप्त स्रोत भएपनि स्रोतको परिचालन तथा सदुपयोगमा तीनै तहको खास्सै ध्यान पुगेको छैन् । जसका कारण कर्णालीमा सौर्य उर्जा निर्भर घरधुरी बढ्दै छन् ।

राष्ट्यि जनगणना २०७८ को तथ्यांकनुसार कर्णाली प्रदेश सौर्य उर्जा प्रयोग गर्ने घरधुरी संख्या मात्रै एक लाख ७५ हजार तीन सय छ रहेको छ । जबकी जलविद्युतको पहुँचमा एक लाख ८१ हजार ६७६ घरधुरी पुगेका छन् । जलविद्युतको सम्भावनानुसार यहाँको अधिकांश नागरिक विद्युतीय पहुँचमा पुग्नु पर्ने भएतापनि विद्युत विकासले अपेक्षित गति नलिँदा कर्णालीका ६५ प्रशितभन्दाबढी नागरिक अझै अध्याँरोमा दिन गुजारा गर्न बाध्य छन् ।
२०७८ को जनगणनानुसार कुल १६ लाख ९४ हजार ८८९ जनसंख्या रहेको कर्णालीमा अपेक्षित अझै विद्युतको विकास हुन सकेको छैन् । नाम मात्रको राष्ट्यि प्रशारण लाईन सेवा भन्दा सास्ती दिने गरेको छ । शहरी क्षेत्रभन्दा सौर्य उर्जाको बढी प्रयोग ग्रामिण भेग हुने गरेको देखिन्छ ।
सौर्य उर्जाको पहुँचमा कुन जिल्लामा कति ?
१० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा सबैभन्दा बढी दैलेख जिल्लामा सौर्य उर्जाको पहुँच विस्तार भएको देखिन्छ । तथ्यांकनुसार दैलेखको ३६ हजार ३९८ घरधुरी सौर्य उर्जाको पहुँचमा छ । भने सबैभन्दा कम डोल्पामा तीन हजार ७७९ घरधुरी सौर्य उर्जाको पहुँचमा पुगेको पाइएको छ ।
त्यस्तै,जुम्लाको सात हजार ५२५ घरधुरी,मुगुको सात हजार ८१७ घरधुरी, हुम्लामा चार हजार ३६८ घरधुरी,कालिकोटको १९ हजार ६९४ घरधुरी सौर्य उर्जाको पहुँचमा पुगेको तथ्यांकले देखाएको छ ।

साथै,जाजरकोटमा २६ हजार ७० घरधुरी,रुकुम पश्चिममा १२ हजार ३४ घरधुरी,सल्यानमा २८ हजार ७०६ घरधुरी र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २८ हजार ९०५ घरधुरी सौर्य उर्जाको पहुँचमा पुगेका छन् ।
सबै जिल्लाको सदरमुकाम क्षेत्र भन्दा ग्रामिण भेगमा सौर्य उर्जा जडान गरेको देखिन्छ । जुम्लाको हकमा दुर्गम तिला गाउँपालिको पोख्री गाउँ,गुठिचौरको गडीगाउँ लगायतका क्षेत्रमा सौर्य उर्जा जडान भएको छ । तिला गाउँपालिका प्रवक्ता जंग रोकायाले तिलाका सबै दुर्गम वस्तीमा सौर्य उर्जा विस्तार गर्ने तयारी भईरहेको बताए ।
पोख्रीमा रहेको सौर्य उर्जालाई घोडे लगायतका गाउँमा विस्तार गर्न नेपाल विद्युत प्राधिरकणसंग पालिकाको सम्झौता समेत भईसकेको उनको भनाई छ । जलस्रोत नभएका उच्च हिमाली तथा पहाडी क्षेत्रका गाउँका लागि सौर्य उर्जा निकै प्रभावकारी रहेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । उनले तिलाका वडा नं. ६,७,८ र ९ का दर्जनौ बस्तीमा सौर्य उर्जाको विस्तार गर्न लागि परेको उल्लेख गरे ।
तिलामा सौर्य उर्जा विस्तार,टान्सफरर्मर जडान,लाईन जडान लगायतका काममा प्राधिकरणले सहयोग गर्ने सम्झौता भएको नेपाल विद्युत प्राधिरकण जुम्लाका प्रमुख राम आशिष शाहले जानकारी दिए । पोख्री गाउँको सौर्य उर्जा घोडे गाउँमा पुराउनका लागि सौर्य उर्जा संचालन केन्द्रको लिखित सहमती आईसकेपछि मात्रै काम अघि बढाउने सहमतीपत्रमा उल्लेख छ ।
सौर्य उर्जा प्रयोग गर्ने घरधुरी कुन जिल्लामा कति छ भनेर थाहा पाउन तलको भिजुवल नक्सामा क्लिक गर्नुहोला ।



