ऋण तिर्न अटेरी गर्दै पहुँचवाला, सहकारीको करोडौ लगानी जोखिममा

जुम्ला । जुम्लामा पहुँचवालाले ऋण तिर्न अटेरी गरेपछि सहकारीको करोडौ लगानी जोखिममा परेको छ । सर्वसाधरणले खाई नखाई नियमित किस्ता तिरेपनि विभिन्न दलका नेता कार्यकर्ताहरुले पहुँचको आडमा ऋण तिर्न अटेरी गरेपछि जुम्लामा सहकारीको लगानी जोखिममा पर्न थालेको हो ।

किस्ता पनि नबुझाउने र ऋण असुलीका लागि गएका सहकारीका कर्मचारीलाई उल्टै धम्याउने जस्ता हर्कत गरेपछि जिल्ला सहकारी संघ जुम्लाले सोमबार जिल्ला प्रशासन समक्ष पहुँचका भरमा ऋण नतिरेर ठग्न खोज्नेलाई कारबाहिको माग गरेको छ ।

जुम्लामा २३२ वटा सहकारी रहेका छन् । जसमध्य जिल्ला सहकारी संघमा ८४ वटा सहकारी आबद्ध छन् । दर्जनबढी सहकारी क्रियाशील रुपमा जिल्लामा आर्थिक कारोबार समेत गरिरहेका छन् । जिल्लामा आर्थिक कारोबार गरिरहेका अधिकांश सहकारीले पहुँचवाला व्यक्तिबाटै ऋण असुलीमा समस्या भएकोले समधानका लागि पहल गर्न सहरकारी संघलाई अपिल गरेका छन् ।

विभिन्न दलकै नेता कार्यकर्ताले ऋण असुलीमा अटेरी गर्नुका साथै सहकारीका कर्मचारीलाई धम्क्याउने गरेपछि जिल्ला प्रशासनमा कारबाहिका लागि माग गरिएको जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष रिसिराम पाण्डेले बताए ।

उनले भने,‘पार्टीका नेता कार्यकर्ताले प्राय ऋण नतिरेर ठग्ने प्रबृत्ति देखाउने गरेका छन् । पहिलो ऋणमा ध्यानर्कषण गराइएको छ । अझै अटेरी गरेमा पत्रकार सम्मेलन गरेर नामै सार्वजानिक गर्ने तयारीमा छौ । गृहमन्त्रालयले सहकारी ठगीका मुद्धा हेर्ने भएकोले जिल्लामा मौलाउँदो सहकारी ठगहरुलाई नियमन गर्न माग गरेका छौ ।’

जुम्लामा रहेका बचत तथा ऋण सहकारी,बहुउदेश्यीय र कृषि सहकारी संस्थाबाट विभिन्न प्रयोजनका लागि कर्जा लिएर तिर्न अटेरी गर्ने सबैको नाममा सूचनानै जारी गर्ने सहकारीको तयारी छ ।

ब्याज नभएपनि साँवा मात्रै तिर्न आग्रह गरेपनि पहुँचवालाले बेवास्ता गरिरहेका छन् । ऋण असुलीमा समस्या हुँदा ऋण जोहो गरी बचत गरेका सदस्यको बचत फिर्ता गर्न सहकारीहरुलाई मुस्किल भईरहेको छ ।

सहकारी क्षेत्रलाई आर्थिक विकासको मेरुदण्ड मानिएपनि शक्ति र सत्तामा रहेकै हरुबाट नियमित विपरित सहकारीको ऋण नतिर्ने र अटेरी गर्ने गरेपछि जुम्लाका सहकारी डुब्न थालेका हुन् । अघिपछि पैसाको धाक लगाउने र राम्रो जीवनशैली बिताउदै आएका नेताकार्यकर्ताबाटै सहकारीको ऋण असुलीमा कठिनाई भएको सहकारी संघका अध्यक्ष पाण्डे बताउँछन् ।

वालाहरुले सहकारीबाट ऋण लिने तर तिर्न नमान्ने अनि सहकारी डुब्न थाल्यो भनेर हल्ला फैलाउने गरेकाले पनी बचतकर्ताहरुमा एक खाल्को त्रास फैलिएको छ । ऋण लिएका ऋणीले समयमै ऋण नतिर्नु एकातिर गल्ती भएपनि चिनजानकै भरमा,हचुवामा ऋण प्रवाह गर्ने सहकारीको पनि कमजोरी देखिन्छ ।

थोरै बचत गरेका भरमा ठुलो परिणामा ऋण दिँदा ऋनय बचत कर्ताको बचत जोखिममा परेको छ । ऋण प्रवाह गर्दा ध्यान नपुराउँदा सहकारीहरुले समस्या भोगी रहेका छन् । उत्पादनशील क्षेत्र भन्दा चिनजानका आधारमा सहकारीको लगानी बढेपछि ऋण असुलीमा समस्या देखिएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस