जुम्ला । तातोपानी गाउँपालिकाले आफ्नो दुई वर्षे प्रगती विवरण सार्वजानिक गरेको छ । २०७९ मा निर्वाचित भएका गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईको नेतृत्वले दुई वर्षमा गरेका कामको प्रगती विवरण सार्वजानिक गरिएको हो ।
बुधबार पत्रकार सम्मेलन मार्फत गाउँपालिका अध्यक्ष चौलागाईले दुई वर्षमा भएका प्रगतीको फेहरिस्त प्रस्तुत गरेका हुन् । प्रगती विवरणनुसार दुई वर्षमा तातोपानीमा २१ वटा नमुना कार्यक्रम संचालन भएका छन् । भने पूर्वाधार विकासले गति लिएको पाईएको छ ।
असारे विकासको अन्त्य गरी पूंजीगत खर्च बढाउने र योजनामा गुणस्तरियता कायम राख्न बैशाखमै योजनाको अन्तिम भुक्तानी दिने लक्ष्य लिएको तातोपानी गाउँपालिकाले चालु आवको बैशाख मसान्तसम्म भौतिक प्रगती ९९ प्रतिशत भएको छ । गत वर्ष ९३ प्रतिशत भौतिक प्रगती भएकोमा यो वर्ष भौतिक प्रगती बढेको छ । त्यसै गरी गत वर्षको तुलनामा भने वित्तिय प्रगती भने न्युन रहेको छ ।
गत वर्ष ८१.६७ प्रतिशत रहेकोमा यसवर्ष बैशाखसम्ममा ५८ प्रतिशतमात्रै भुक्तानी भएको छ ।
प्रगती विवरणनुसार दुई वर्षको अवधिमा पूर्वाधार÷भौतिक विकास तर्फ विद्यालय भवन निर्माण १० वटा,वडा कार्यालय भवन निर्माण २ वटा, प्रशासकीय भवन निर्माण –१ वटा,सार्वजनिक शौचालय ३ वटा,काठेपुल निर्माण ३ वटा, कल्भर्ट पुल १ वटा निर्माण भएका छन् ।
त्यस्तै श्रमदान अभियान अन्तरर्गत ८ वटा योजना निर्माण,स्टिल ब्रिज÷झोलुङ्गे पुल निर्माण २ वटा, न्दिर निर्माण÷मर्मत ४२ वटा सहित अन्य कृषि,पर्यटन,सिँचाई,खानेपानी, पूर्वाधार संरचना २२ वटा लगायत दर्जनौ भौतिक संरचना निर्माण भएका छन् ।
भने,सडक निर्माण तर्फ (धुले, ग्राबेल, सोलिङ्ग,पिसिसि, आरसिसि) सडक ७.२३ किलोमिटर,गोरेटो÷घोरेटो तथा पिसिसि बाटो निर्माण २४.०९६ किलोमिटर,सिचाई कुलो निर्माणपछि ३१ हेक्टर मा सिँचाई सुविधा पुगेको,एकघर एकधारा अभियान अन्तरर्गत दुई हजार पाँच सय २८ घरधुरीमा पानीको पहुँच पुगेको,एक हजार सात सय १० मिटर बृहत्त तटबन्धन निर्माण र २१ सय ५१ मिटरको बृहत्त स्याउ बगैचा घेराबार गरिएको लगायतका पूर्वाधार निर्माण भएका छन् ।

भौगोलिक विकटता,जनस्तरको माग तथा आबश्यकतालाई मध्यनजर गर्दै पूर्वाधार विकासलाई विशेष प्रथामिकता दिएको समेत अध्यक्ष नन्द प्रसाद चौलागाईको भनाई छ । उनले महोत्वकाँक्षी नीति ल्याउने तर बजेट नछुटाउने प्रबृत्तिको अन्त्य गर्दै बजेटनुसारकै नीति ल्याएकोले दुई वर्षको प्रगती सन्तोषजन रहेको उल्लेख गरे । यदपी सिमित स्रोतले धेरै योजनाहरु एकसाथ अघि बढ्न नसकेको उनको भनाई छ ।
यता प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले सम्पन्न भईसकेका योजनाको भुक्तानी लिन उपभोक्ता नआउनु,स्टमेटनुसार काम नभएर बजेट घट्नु केहि योजना निर्माणकै क्रममा रहनु लगायतका कारणले वित्तिय प्रगती विगतको भन्दा कम भएको बताए । पूर्वाधार विकास,चुस्त सेवा प्रवाह,गुणस्तरीय शिक्षा,उद्यमशीलता लगायतका क्षेत्रमा पालिकाले विशेष जोड दिदै आएको उल्लेख गरे ।
चालु आवमा तातोपानीले चालु र पुँजीगत गरी कुल ५५ करोड ६० लाख २५ हजार ७ सय ५८ रुपैया विनियोजन गरेको थियो । जसमा पुँजीगत तर्फ १८ करोड १९ लाख ५६ हजार विनियोजन भएकोमध्य बैशाख मसान्त ७ करोड ९७ लाख ६७ हजार १ सय १३ गरि ४३.८३ प्रतिशत खर्च भएको छ ।

भने चालु तर्फ ३७ करोड ४० लाख ६९ हजार ७ सय विनियोजन भएकोमा २१ करोड ७ लाख ३८ हजार ६ सय २७ अर्थात ५६.३१% (प्रतिशत) खर्च भएको छ । समग्र वित्तिय प्रगती ५२.२३ प्रतिशत वित्तीय प्रगती हाँसिल भएको तातोपानीका योजना शाखा प्रमुख ओम बहादुर चन्दले बताए । उनका अनुसार चालु आवमा मात्रै ११ वटा विभिन्न नीति पारित भएका छन् ।
यी हुन् तातोपानीका दुईवर्षे २१ नमुना काम
- प्रत्येक आर्थिक बर्ष वैशाख मसान्त भित्र गाउँपालिका सञ्चालित योजनाहरुको अन्तिम भुक्तानी दिने नीतिगत व्यवस्था,
असारे विकासको अन्त्य गरी पूंजीगत खर्च बढाउन तथा योजनामा गुणस्तरियता कायम राख्न आर्थिक बर्ष २०७९।८० बाट गाउँपालिकाबाट सञ्चालन हुने वित्तीय समानिकरण अनुदान अन्तर्गतका योजनाको बैशाख मसान्त भित्र अन्तिम भुक्तानी दिने नीतिगत व्यवस्था गरेको र सोको सफल कार्यान्वयन हुँदै आएको छ । गत आर्थिक बर्षको बैशाख मसान्त सम्मको भौतिक प्रगतीको अवस्था ९३ प्रतिशत रहेको थियो भने यस बर्ष बढेर ९९ प्रतिशत पुगेको छ । भुक्तानीको अवस्था भने गत बर्ष भन्दा यस बर्ष केहि कम हुन गएको छ । गत बर्ष ८१.६७ प्रतिशत भुक्तानी दिन सफल भएको थियो भने यस बर्ष ५८ प्रतिशत मात्र भुक्तानी दिन सफल भएका छौं ।
- तातोपानी टाईम्स लागु र खादामुक्त पालिका घोषणा
समयको महत्वलाई ख्याल राख्दै गाउँपालिकाले आयोजना गर्ने हरेका कार्यक्रम तोकेको समयमानै सञ्चालन गर्ने र तोकिएकै समयमै उपस्थित हुने तथा अनुत्पादक क्षेत्रमा हुने खर्चलाई कटौती गर्न गाउँपालिकाको एघारौं गाउँ सभाबाट तातोपानी टाईम्स र खादामुक्त पालिका घोषणा गरी सोको कार्यान्वयन हुँदैं आएको छ ।
- प्रत्येक महिनाको दोस्रो शनिबार श्रमदान अभियान
श्रमदान अभियान मार्फत योजनाहरुको मर्मत संम्भार तथा निर्माण गरी योजनाको लागत घटाउन र आम नागरिकमाझ श्रम संस्कृतिको विकास गरी दिगो योजना व्यवस्थापनमा टेवा पुर्याउन प्रत्येक महिनाको दोस्रो शनिबार श्रमदान कार्यक्रम सञ्चालन गरिदै आएको छ । हालसम्म श्रमदान मार्फत ठुला साना करिब ८ वटा योजनाको मर्मत एंव निर्माण सम्पन्न भएको छ भने श्रमदान अभियान प्रभावकारी बन्दै गएको छ ।
- गाउँपालिकाको पहिचान झल्किने पालिका गान र लोगो निर्माण,
स्थानीय कला संस्कृति, प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसार एंव प्रवर्द्धन गर्न स्थानीय पहिचान झल्कने पालिका गान र लोगोको निर्माण गरी प्रयोगमा ल्याईएको छ ।
- गाउँपालिका र अन्तर्गतका कार्यालयहरुमा डिजिटल हाजिर जडान र सोको कार्यान्वयन
गाउँपालिका र अन्तर्गतका कार्यालयहरुमा गत आव बाट डिजिटल हाजिर जडान गरी कार्यान्वयनमा ल्याईएको छ । जसको मुख्य उदेश्य सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाई संस्थागत सुधारमा ईट्टा थप्नु रहेको थियो जुन अहिले प्रभावकारी रुपमा सञ्चालन भईराखेको छ । डिजिटल हाजिर जडानले कर्मचारीको नियमितता बढाउनुका साथै सेवा प्रवाह चुस्त रुपमा अगाडि बढेको छ ।
- सडक मानव उद्दार तथा पुनर्स्थापना
मानसिक सन्तुलन गुमाई सडकमा भौतारिदैं गरेका ६ जना नागरिकको उद्दार गरी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था संगको समन्वय एंव साझेदारीमा उपचार गरी पुनर्स्थापना गरिएको छ भने केहि नागरिकलाई हालसम्म गाउँपालिकाले खाद्यान्न लगायतका सामाग्रीहरु सहयोग गर्दै आएको छ ।
- अति विपन्न नागरिकका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु
गाउँपालिकाले गत आर्थिक बर्षबाट अति विपन्न र विपन्न नागरिकका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागु गरी सोहि कार्यक्रमबाट निजहरुको स्वास्थ्य बिमा शुल्क र नविकरण शुल्क गाउँपालिकाले बेहोर्दै आएको छ । जसबाट १२ सय भन्दा नागरिकहरु प्रत्यक्ष लाभान्वित भएका छन ।
- गाउँपालिकाको आन्तरिक आय स्रोत बाट प्रशासकीय भवन निर्माण
गाउँपालिकाको आन्तरिक आयस्रोत बाट आफ्नै प्रशासकीय भवनको निर्माण गरी सम्पुर्ण शाखाहरुको सेवा प्रवाह सोहि भवनबाट प्रदान गरिदै आएको छ । आफ्नै भवनबाट सेवा सुचारु गर्दा बार्षिक १० लाख भन्दा बढी घरभाडा बचत हुन आएको छ भने सेवाग्राहीहरुले एकिकृत रुपमा सेवा प्राप्त गर्ने अवसर प्राप्त गरेका छन् ।
- वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन
जनता संग अध्यक्ष कार्यक्रम मार्फत भौगोलिक रुपमा कठिनाई भएका वडा नं ७ र ८ का नागरिकका लागि वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासंगको समन्वय एंव सहकार्यमा उक्त शिविर सञ्चालन गर्दा ४ सय ५ जनाले प्रत्येक्ष स्वास्थ्य उपचार प्राप्त गरेका थिए ।
- २५ वटा स्थानीय कानून निर्माण र सोको कार्यान्वयन
कार्यालयबाट सम्पादन हुने काम कारवाहीलाई चुस्त दुरुस्त राख्न तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थानीय कानून निर्माण गर्न आवश्यक देखिएकाले हालसम्म विभिन्न २५ वटा स्थानीय कानून निर्माण भई कार्यान्वयनमा आएका छन् ।
- निशुल्क एम्बुलेन्स सेवा सञ्चालन
आम नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि गर्ने उद्देश्यले जेष्ठ नागरिक, अति विपन्न तथा गर्भवती महिलाका लागि निशुल्क तथा अन्य नागरिकका लागि सस्तो भाडादरमा एम्बुलेन्स सेवा सुचारु गरिएको छ । जसअन्तर्गत हाल सम्म दुई सय भन्दा बढी नागरिकले निशुल्क सेवा प्राप्त गरिसकेका छन् ।
- शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक कचहरीको थालनी
सामुदायिक विद्यालयमा देखिएका समस्या, गुनासो र सुझाबहरु संकलन गरी समाधानका उपाय खोज्न तथा शैक्षिक गुणस्तर उकास्न यसै आर्थिक बर्ष बाट शैक्षिक कचहरीको शुरुवात गरिएको छ । हालसम्म तातोपानी गाउँपालिका वडा नं ३ लिताकोट, वडा नं ५ लाम्रा र वडा नं ७ पातरसाँगुमा सरोकारवालाहरुको सहभागितामा शैक्षिक कचहरी सम्पन्न भएको छ ।
- विद्यार्थी शिक्षक अनुपातमा शिक्षक दरबन्दी मिलान
गाउँपालिका अध्यक्ष ज्युको नेतृत्वमा सामुदायिक विद्यालयमा गरिएको शैक्षिक अनुगमन बाट विद्यालयको भौतिक तथा शैक्षिक अवस्था, विद्यार्थी शिक्षकको संख्या सहितको विवरण टिपोट गरी विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गरिएको थियो । उक्त निर्णय चित्त नबुझि शिक्षकहरुले गाउँपालिका विरुद्ध अदालतमा मुद्दा दर्ता गरेपनि कानून सम्मत भएको भनि सम्मानित अदालतबाट गाउँपालिकाको निर्णयलाई सदर गरेको थियो ।
- गिडिदह सम्मेलन तथा क्षेत्रफल नापजाँच सम्पन्न
तातोपानी गाउँपालिका वडा नं ४ मा अवस्थित जुम्ला जिल्लाकै ठुलो ताल गिडिदह सम्मेलन २०७९ असोज ६ देखि ८ गते सम्म सञ्चालन गरिएको थियो । गिडिदह सम्मेलनको मुख्य उद्देश्य उक्त दहको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनु रहेको थियो । सम्मेलनमा जनप्रतिनिधि, कर्मचारी, पर्यटन व्यावसायी, पत्रकार, स्थानीय लगायतका सहभागि रहेको थियो । त्यसैगरी हालसम्म उक्त तालको क्षेत्रफलको बारे कुनै आधिकारिक तथ्यांक नभेटिएकाले काठमाण्डौं विश्वविद्यालय संगको सहकार्यमा हालै सो तालको क्षेत्रफल नापजाँच कार्य सम्पन्न भएको छ । जसअनुसार तालको लम्बाई १५१० मि चौडाई ३१० मिटर र गहिराई ४२.८ मिटर रहेको पाईएको छ भने समुन्द्री सतहदेखि ३४८५ मिटरमा अवस्थित रहेको छ ।
- घर बिमा कार्यक्रम लागु
तातोपानी गाउँपालिका भित्र रहेका करिब ३३ सय घरधुरीका लागि घर बिमा कार्यक्रम शुरु गरिएको छ । विभिन्न समयमा आईपर्ने विपद् तथा भुकम्पबाट घरहरु क्षेति हुन पुगि नागरिकको धनजनको क्षेति हुने भएकाले सोको न्युनिकरण गर्न गाउँपालिकाले शिखर ईन्स्योरेन्स संग घर बिमा गरेको छ । हालसम्म १२ सय घर घरबिमा कार्यक्रमबाट लाभान्वित भएका छन् ।
- स्थानीय उपजमा आधारित दिवा खाजा कार्यक्रम लागु
हाल सञ्चालनमा भईरहेको दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन गर्नका लागि विश्व खाद्य कार्यक्रम (WFP) संगको साझेदादरीमा स्थानीय उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम लागु गरिएको छ । यस कार्यक्रम बाट विद्यार्थीहरु पत्रु खाजाबाट टाढा रहि रैथाने/स्थानीय खाद्यान्नबाट बन्ने परिकार खाजाको रुपमा प्राप्त गर्नेछन् जसले उनिहरुको पोषण अवस्थापमा सुधार भई शारिरीक तथा शैक्षिक क्षेत्रमा सुधार हुने विश्वास लिईएको छ ।
- जेष्ठ नागरिकलाई न्यानो कपडा तथा अति विपन्न विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण
जेष्ठ नागरिकहरुको स्वस्थ्यलाई मध्यनजर गर्दै तथा उनीहरुलाई चिसोबाट बचाउन प्रत्येक बर्ष न्यानो कपडा वितरण गरिदै आएको छ । यस कार्यक्रम बाट हालसम्म ५५० भन्दा बढी जेष्ठ नागरिकहरु प्रत्येक्ष रुपमा लाभान्वित भएका छन् । भने अति विपन्न विद्यार्थीहरुलाई समेत प्रत्येक आर्थिक बर्ष विद्यालय युनिफर्म सहित शैक्षिक सामाग्री वितरण गरिदैं आएको छ ।
- सहयात्रा तेस्रो परियोजना लागु
तातोपानी गाउँपालिका भित्र रहेका २९ वटै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न, बालबालिकाको सर्वोत्तम हितमा काम गर्न, किशोरीहरुमाझ यौन तथा स्वास्थ्य प्रजनन सम्बन्धी सचेतना अभिवृद्धि गर्न तथा जलवायु परिवर्तनबाट विभिन्न क्षेत्रमा पर्न गएको असरलाई न्युनिकरण गर्न सेभ द चिल्ड्रेन र किर्डाक नेपाल संगको साझेदारीमा सहयात्रा परियोजना लागु गरिएको छ ।
- विपद् बाट प्रभावित नागरिकका लागि तत्काल राहत वितरण
जाजरकोट जिल्लाको रामीडाँडालाई केन्द्रविन्दु भई कार्तिक १७ गते गएको ६.४ रेक्टर स्केलको भुकम्पका कारण केहि घरमा भौतिक क्षति हुन पुगेको र उक्त भौतिक क्षति हुन पुगेका वडँ नं ३, ७ र ८ का जम्मा ९ जना र बाढी पहिरोबाट पिडित ४ जनालाई तत्कालै खाद्य सामाग्री र लत्ता कपडा सहित राहत वितरण गरिएको छ ।
- ५१२ घरधुरी सुरक्षित नागरिक आवास कार्यक्रमबाट लाभान्वित हुने
सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत तातोपानी गाउँपालिकाका ५१२ वटा घर पुर्ण रुपमा माटो/खरको छाना मुक्त हुनेछन । हालसम्म सिमित रकम उपलब्धताका कारण प्रत्येक घरधुरीलाई रु ५० हजारका दरले ७० लाभावन्वित घरमुलीलाई अन्तिम भुक्तानी दिईएको छ ।
- सञ्चार सेवामा आम नागरिकको पहुँचमा वृद्धि
तातोपानी गाउँपालिका वडा नं ४ स्थित हाँकु लाग्ना टावर सम्म विद्युत लाईन विस्तार गरी चौबिसै घण्टा टेलिफोन सेवा सञ्चालनमा आएको छ । त्यसैगरी वडा नं ८ मा अवस्थित थलालेमा 4G सहितको टेलिफोन सेवा विस्तार गरिएको छ । हाल वडा नं ७ र ८ का केहि वस्तीहरु बाहेक अन्य वस्तीहरु सञ्चार सेवासंग जोडिएका छन् ।



