
जुम्ला । जुम्लाको तिला गाउँपालिका भौगोलिक रुपमा जिल्लाकै सबैभन्दा विकट पालिका हो । तिला गाउँपालिका वडा नं.६,७,८ र ९ नम्बर वडाका गाउँबस्ती निकै विकट क्षेत्रमा छन् । जहाँबाट अहिले पनि सदरमुकाम आउँदा एक बास बस्नु पर्छ । भने गाउँमा दैनिक उपभोग्य सामानदेखि निर्माण सामाग्री पिठ्युमै बोकेर लिनु पर्ने बाध्यता छ ।
२०७४ पछि तिला गाउँपालिकाले गाउँ गाउँमा सडक नपुराएको होईन् । हरेक वर्ष बाढीले पहिरो भत्काउने र मर्मत संभार गर्ने काम पनि भयो । तर तिलाका ६, ७, ८ र ९ का ग्रामीण बस्तीलाई राजमार्गसँंग तिलानदी माथि पुल बनेकै कारण त्यहाँका गाउँमा सडक पुगेर पनि भारी बोक्न र पैदल हिड्न बाध्य छन् ।
सडक डिभिजन जुम्लाले भने तिलाबासीको समस्यलाई मध्यनजर गर्दै तिला गाउँपालिका १ सेरी बजार नजिक तिलानदी माथी मोटरेवल स्टिल ब्रिज निर्माण गरिरहेको छ । १५ करोड बढीको लगानीमा उक्त पूल निर्माण भईरहेको छ । तिलाका दुर्गम गाउँलाई राष्ट्रिय सडक संजालसँंग जोड्नका रारालिहीमा निर्माण भईरहेको पूल कोशे ढुंगा सावित हुने अपेक्षा गरिएको छ ।
उक्त पूल निर्माणको ठेक्का खड्का निर्माण सेवा जुम्लाले पाएको छ । पहिलो डिजाईन अनुसार काम हुन नसकेपछि पुनःडिजाईन स्टमेट गरी करोडौ घाटा व्यवहोरेर पनि पूल निर्माणलाई अघि बढाइएको निर्माण कम्पन्नीले बताएको छ ।
पुल निर्माणले तिलाका दुर्गम बस्तीलाई आर्थिक आयआर्जनसँंग जोडिने अपेक्षा गरिएको छ । पुल निर्माणसँंगै गाउँमा गाडी पुग्ने कुराले तिलाबासी उत्साहित छन् । स्थानीय हरि रोायकाले पुल बनेपछि भारी बोक्ने बाध्यता अट्ने आशामा रहेको बताए ।
पूलःनिर्माणले गति लिन थालेपछि तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले खुसी व्यक्त गरेकी छन् । दुर्गम तिलाका बस्तीलाई राजमार्गमा जोड्न पूल निर्माणका लागि पहल गर्ने सबैलाई धन्यबाद दिएकी छन् । भने छिटो पूल सम्पन्न गर्न समेत निर्माण पक्षलाई अनुरोध गरेकी छन् ।
तिला–६ का वडाध्यक्ष जंग रावलले अर्को वर्ष सम्म तिला गाउँका गाडी पुराउने लक्ष्य राखिएको बताए । सडक पुगेपनि पुल नबन्दा प्रयोग विहिन सडकमा आगामी वर्षमा गाडी गुड्ने उल्लेख गरे । उनले आफ्नो पहिलो प्रथामिकता नै वडाबासीलाई यातायात पहुँचमा पु¥याउने रहेको बताए ।
वर्षाले काम प्रभावित नगरेको खण्डमा असार भित्रै सम्पन्न गर्ने गरी काम तिब्र गतिमा भईरहेको छ । निर्माण कम्पन्नीले २० जना भन्दा बढी जिल्ला बाहिरकै जनशक्ति परिचालन गरेर पूल स्टकचर जडानको काम भईरहेको छ ।
खड्का निर्माण सेवाका सुमन खड्काले पूल निर्माण असार भित्रै सकिने गरी काम भईरहेको बताए । उनले भने,‘भ्याट बाहेक १५ करोड बजेटमा पूल निर्माणको सम्झौता भएको हो । काम अन्तिम चरणमा छ । हाल सम्म ९÷१० करोडको काम भईसक्यो भुक्तानी पाएका छैनौ । सडक डिभिजनमा पैसा छैन् । आगामी आवमा उक्त पूलका लागि ८० लाख मात्रै सुनिश्चित भएको छ । बजेट अभावका बीच कामलाई बढाई रहेका छौ । यदपी बजेट नहुँदा निकै समस्या भईरहेको छ ।’
स्टकचर जडानमा खटिएका प्रेम शर्माले कुनै बाधा अड्चन नआएको खण्डमा एक महिनामा फिट गरेर सकिने बताउँछन् । पुल निर्माणको सबै सामाग्री आईपुगेको र जडानको काम पनि अन्तिम चरणमा पुगेको उनको भनाई छ ।
निर्माण कम्पन्नीका प्रतिनिधि भक्त बहादुर तिवारीले हाल ट्रस जडानको काम चलिरहेको र ग्यामिल पर्खाल लगायतका काम बाँकी रहेको बताए । उनका अनुसार बढीमा तीन महिनापछि पूलमा गाडी गुड्ने गरी निर्माण भईरहेको छ । पूल निर्माणको काम ७० प्रतिशत भन्दा बढी भईसकेको छ ।
जुम्लाका सबै गाउँमा सडक पुगेपनि खोला नदीहरुमा पूल निर्माण नहूँदा गाडी गुडेका छैनन् । पालिकाको लगानीमा पूल निर्माण सम्भव नभएपछि बजेट जुटाउन पालिका प्रमुखहरु संघ प्रदेशमा समेत धाईरहेका छन् ।