चट्याङ लागेर एकको मृत्यु, ४ जना घाइते

कैलाली। चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईत भएका छन् । जिल्लाको जोशीपुर गाउँपालिका–३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डगौराको आज बिहान खेतमा काम गर्दै रहँदा चट्याङ लागेर ज्यान गएको हो । 

बिहान करिब ८ बजेको समयमा घरदेखि तीन सय मिटर पूर्व आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डगौराको स्थानीय महापार्वती मेडिकलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ । 

उता, भजनी नगरपालिका ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङबाट घाइते हुनुभएको र उहाँको दाहिने हातमा चट्याङ लाग्दा जलेको छ । घाइते चौधरीलाई उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका तीन बालिकाहरू चट्याङ लागेर गम्भीर घाइते हुनुभएको छ । इलाका प्रहरी सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालका अनुसार घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेका छन् । उहाँहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा बिहान चट्याङ लागेको थियो । 

गम्भीर घाइते बालिकामध्ये एक बालिकाको चट्याङ लागेर आन्द्रा बाहिर आएको छ भने, दुई बालिकाको टाउको चोट लागेको प्रहरी नायव उपरीक्षक पालले बताउनुभयो । 

उपचारका लागि घोडाघोडी अस्पताल लगिएका उहाँहरूलाई थप उपचारका लागि  बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ । 

गोरखापत्र अनलाइन

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस