६ वर्षमा जुम्लाका ८ पालिकाको बेरुजु २ अर्व, कुन पालिकाको कति ?

ताताेपानीमा बेरुजु फछ्र्यौट समिति गठन

जुम्ला । जुम्लाका आठ स्थानीयतहको हालसम्म सवाँ दुई अर्ब बेरुजु रहेको पाइएको छ । एक नगरपालिका र सात गाउँपालिका सहित जुम्लाका आठ पालिकाको २०७४ यता दुई अर्ब १७ करोड बढी बेरुजु रहेको पाइएको हो । आर्थिक वर्ष २०७४÷७५ देखि आ.व.०७९÷८० सम्म ६ वर्षको अवधिमा जुम्लाका आठ वटा स्थानीयतहको बेरुजु २ अर्ब १७ करोड २७ लाख २० हजार रुपैया बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ ।

संघियता कार्यान्वयनपछि जनताको घरदैलोको सरकार रुपमा रहेको स्थानीयतहले नीतिसंगत भन्दा माथि उठेर मनमर्जी रुपमा बजेट खर्च गर्दै आएको मलेपको प्रतिवेदनले औल्याउदै आएको छ ।यदपी,असुल उपर गर्नुपर्ने र नियमित गर्नु पर्ने (सैदान्तीक) बेरुजु बढी देखिएको छ । यसले गर्दा स्थानीयतहमा जनप्रतितिधि तथा कर्मचारीहरु नीति भन्दा व्यवहारिकता र हचुवामा भुक्तानी गरेको देखीन्छ । कतिपय भुक्तानी बढी गएको,कतै बील भन्दा बढी,कतै काम भन्दा बढी भुक्तानी गर्नुले पनि बेरुजु बढ्दै गएको हो ।

महालेखाको प्रतिवेदन अनुसार २०७४ साल यता बितेको ६ वर्षमा जुम्लाका आठ पालिकाको बेरुजु मात्रै सवाँ दुई अर्ब रहेको छ । जसमा सबैभन्दा बढी बेरुजु तिला गाउँपालिकाको ३९ करोड ५७ लाख २० हजार रहेको छ । भने जुम्लाको एकमात्र चन्दननाथ नगरपालिका बेरुजु बढी हुने दोस्रो स्थानीयतहमा छ । जसको ६ वर्षमा ३७ करोड १६ लाख ५५ हजार बेरुजु रहेको छ ।

भने सबैभन्दा कम गुठिचौर गाउँपालिकाको १४ करोड ५८ लाख २९ हजार बेरुजु हाल सम्म कायम रहेको छ । कनकासुन्दरी गाउँपालिकाको २४ करोड १४ लाख ७३ हजार,हिमा गाउँपालिकाको २४ करोड ३९ लाख ८७ हजार,पातारासी गाउँपालिकाको २२ करोड १५ लाख ५४ हजार २०७४ साल यतादेखी बेरुजू रहेको छ ।

त्यस्तै तातोपानी गाउँपालिकाको २१ करोड २५ लाख ७६ हजार,सिंजा गाउँपालिकाको ३३ करोड ७३ लाख २६ हजार गरी जुम्लाका आठ पालिकाको हाल सम्मको बेरुजु कूल सवाँ दुई अर्ब रहेको पाइएको हो । बेरुजु बढ्दै जाँदा स्थानीयतहको आर्थिक सुशासन माथि प्रश्न खडा हुदै आएको छ । यदपी पछिल्ला वर्षमा स्थानीयतह सचेत हुदै गएका छन् । सुरुका वर्षमा स्थानीयतहका केहि नीति नियम राम्ररी नबुझ्दै काम गर्दा बेरुजु बढेपनि अहिले सुधार गर्दै गएका हुन् ।

तातोपानीमा बेरुजु फछ्र्यौट समिति
सुरुका वर्षमा बेरुजु बढेपछि पछिल्ला वर्षमा आर्थिक सुशासनमा स्थानीयतह सचेत हुदै गएका छन् । जुम्लाको तातोपानी गाउँपालिकाले भने ०७४ यतादेखिको बेरुजु फछ्यौट गर्न जिल्लामै पहिलाको बेरुजु फछ्र्यौट समिति बनाएको छ ।

बेरुजुलाई शुन्यमा झार्ने उदेश्यले समितिनै गठन गरिएको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतले बताए । विगत भन्दा आफु आएदेखी तातोपानीको बेरुजु घट्दै गएको समेत उनको भनाई छ । विगतमा करोडमा हुने बेरुजु हाल लाखमा भएको त्यसलाई शुन्यमा झार्ने तातोपानीको अभियान छ ।

तातोपानी ६ का वडाध्यक्ष विशाल खड्काको संयोजकत्वमा बेरुजु फछ्र्यौट समिति गठन गरिएको छ । स्थानीय सरकार संचालनदेखि हाल सम्म रहेको बेरुजुलाई फछ्र्यौट गर्ने गरी खड्काको संयोजकत्वमा समिति गठन गरिएको हो । जसको सदस्यमा वडाध्यक्ष अम्मर बहादुर रोकाया,वडाध्यक्ष तिलक रावत,वडासदस्य सरस्वती शाही,आलेप अंगत सेजुवाल,लेखापाल शिवराज न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायत रहेका छन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले सुशासनमा तातोपानीलाई जिल्लामै पहिलो बनाउने अभियानका साथ अघि बढेको बताए । काम गर्ने क्रममा केही कमजोरी भएपनि जनप्रतिनिधि कर्मचारीको गलत नियत कहिलेनैनभएको अध्यक्ष चौलागाईको भनाई छ । मलेपले असुल उपर गर्नुपर्ने,नियमित गर्नु पर्ने भन्दै लगायत औल्याएको विषयलाई सुधार गर्दै जाने समेत अध्यक्ष चौलागाईले उल्लेख गरे ।

प्रकाशित मिति : २०८१ साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस