पालिका एकजुट नहुँदा तिलामा खोलियो स्याउ गोदामको ताला

जुम्ला । तिला गाउँपालिकाले सिल गरेको स्याउ गोदामको ताला खोलेको छ । छिमेकी पालिकाहरुले काँचो स्याउ रोक्ने अभियानमा असहयोग गरेपछि तिलाले सिल गरेका गोदामको ताला खोलेको हो । तिलामा काँचो स्याउको निर्यात रोक्न गोदामनै सिल गरिरहेको अबस्थामा जुम्लाकै चन्दननाथ नगरपालिका,गुठिचौर गाउँपालिका र कालिकोटको तिला गुफा नगरपालिकाले धमाधम सिफारिस दिएपछि समस्या भएको तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाले बताईन् ।

एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारको अस्तित्व माथि खेल्ने काम भएको हामीलाई महसुश भएको छ । उनले भनिन,‘हामीले भदौ ५ गतेभन्दा अगाडी स्याउ लिन नपाउने गरी सिल गर्यौ । तर यहि बेला चन्दननाथ नगरपालिकाबाट र गुठिचौर गाउँपालिबाट स्याउ निर्यातको सिफारिस आयो । त्यतिसम्म तिलागुफा नगरपालिकाले समेत सिल गरेका स्याउ लिन सहज हुने गरी सिफारिस दिएको छ । जसका कारण हामीले सिल खोलेका हौ ।’

हरेक वर्ष समस्याको रुपमा बल्जीएको काँचो स्याउको निर्यात रोक्ने सवालमा जुम्लाका स्थानीयतह भने एकजुट देखिएका छैनन् । एक पालिकाले गोदाम सिल गरेका बेला अर्को पालिकाले सिफारिस दिने प्रबृत्तिले समस्या भएको हो । किसान र व्यापारीले स्याउ कुहिन लागेको बाहना गरेपनि स्याउ एउटा पनि नकुहिएको उपाध्यक्ष बुढाको दाबी छ । तिलाबाट भदौ ५ गतेभन्दा अगाडी स्याउ जान नदिने निर्णय भएपनि अन्य पालिकाको सिफारिसले गर्दा समस्यामा पारेको उनको भनाई छ ।

सुरुमा पालिकाले भदौ ५ गते भन्दा अगाडि स्याउ संकलन र निर्यात गर्न नपाउने निर्णय गरेको थियो । उनले भनिन,‘पालिकाको निर्णय विपरित स्याउ संकलन गरेर निर्यात हुन थालेपछि सात वटा गोदाम सिल गरेका थियौ । काँचो स्याउ निर्यातमा हामी निर्मम नै थियौ । तर अन्य पालिकाले सिफारिस दिएर स्याउ निर्यात गरेको भेटियो । व्यापारीले अन्य पालिकाले पठाउने हामीले किन रोक्ने ? भन्दै केही कार्टुन स्याउ सडकमा समेत फालेर बबाद दिए ।’

२५ साउनमा सिल गरिएका गोदाम खोलेर प्याकिङ भएका स्याउको बजार व्यवस्थापनमा सहजीकरण गरिएपनि बगैचामा रहेका स्याउ संकलनमा भने रोक लगाईएको छ ।साउन १३ गते प्रकाशित सुचनामा भदौ ५ गते भन्दा अगाडि स्याउ टिप्न नपाईने भनिएपनि दोस्रो सूचनानुसार भदौ २ गतेपछि संकलन र निर्यात गर्न पाईने भनिएको छ । तर साउन २०÷२१ गतेतिरै टिपेर प्याकिङ गरी निर्यात गर्न लागेको स्याउ भने रोकिएको थियो ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत लाल चन्द्र बुढाले काँचो स्याउ रोक्न सवालमा जिल्लाका अन्य पालिका मौन देखिँदा तिलाले मात्रै कडाई गरेर सम्भव नभएको बताए । हामीले विगतको तुलनामा दुई हप्ता भएपनि काँचो स्याउ रोकेका छौ । उनले भने,’विगतमा तिलाबाट असार अन्तिम र साउन पहिलो सातामै स्याउ निर्यात हुन्थ्यो । तर यश वर्ष साउन २८ सम्म रोक्यौ । तर अन्य पालिकाले रातारात पठाउन थालेपछि किसान र व्यापारीले दबाब दिनु स्वभाविक थियो । कुहिने र किसान मारमा पर्ने अबस्थालाई मध्यनजर गरी सिल खोलिएको हो ।’

२५ साउनमा उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा गएको सुरक्षाकर्मी सहितको टोलीले तिला १ सेरी बजारमा रहेका सात वटा गोदाम सिल गरिएको थियो । व्यापारी पार्वती बुढाको १४२ कार्टुन राखिएको गोदाम,तिला ९ का कमल बुढाको ३९ कार्टुन राखिएको गोदाम,तिला १ का गोरख बहादुर बस्नेतको ४० कार्टुन राखिएको गोदाम र तिला २ का जग रावतका ४० कार्टुन राखिएको गोदाम सहित सात गोदाममा पालिकाले ताला लगाएको थियो ।

जुम्लाका आठै पालिकामा स्याउ खेती हुन्छ । तर यश वर्ष काचो स्याउको संकलन र निर्यातमा तिला गाउँपालिकाले गरेको प्रयास प्रसंशनिय छ । अन्य पालिका मुखदर्शक भईरहेका बेला तिलाले किसानका बगैँचा,व्यापारीका गोदाममै पुगेर काँचो।स्याउ संकलन र निर्यात गर्न रोकेको हो ।

कृषि विकास कार्यालय,आठै पालिका र अन्य सरोकारवाला एकजुट भएर स्याउ संकलन र निर्यातको एकिन समय तोक्न सकेका छैनन् । भने हरेक वर्ष निर्णय भएपनि कार्यानवयनमा सरोकारवाला चुकेका छन् । भने प्रहरी प्रशासनको पनि प्रभावकारी भुमिका देखिएको छैन् । जसका कारण बर्सेनि काँचो स्याउ निर्यात हुने प्रबृत्ती रोकिएको छैन् ।

स्याउको मूल्य निर्धारण,प्रत्यक पालिकामा व्यवस्थित शीत भण्डार,पालिकालेनै खरिद गरिदिने ठोेस नीति नबनेसम्म काँचो स्याउ रोक्ने प्रयास फलामको चिउरा चपाउनु जस्तै हुने कृषि विज्ञहरु बताउँछन् । पछि राम्रो मुल्य नपाईने र घरमै थन्काएर राख्नु पर्ने बाध्यताले छिटै टिपेर निर्यात गर्ने गरेको किसानको भनाई छ । यदपी,स्थानीय सरकारले स्याउ खरिदको जिम्मा लिएको खण्डमा असोज सम्म पनि बोटमै राख्न तयार रहेको किसान बताउँछन् । तर किसानको उत्पादनको जिम्मा लिन सरकार तयार छैन् ।

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस