जुम्ला । जुम्लाका ग्रामिण महिला व्यवसायी तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । सिप र प्रविधि पाएपछि आफ्नै गाउँमा व्यवसायीक तरकारी खेती गरेर महिला आत्मनिर्भर बन्न थालेका हुन् । तातोपानी गाउँपालिका वडा नं. ५ की काली रावत तरकारी खेतीबाटै घरखर्च जुटाउने छोरालाई उच्च शिक्षा पढाउन सफल भएकी छन् । गाउँमा रोजगारी छैन् । उत्पादन छैन् । भविष्य छैन् भन्दै विदेशीने यूवाको संख्या बढीरहेको बेला श्रम गरे स्वदेशमै आत्मनिर्भर बन्न सम्भव छ भन्ने उदाहरण समेत काली रावतले पेश गरेकी छन् ।
तरकारी बेचेर बेसिजन (हिँउद)मा करिब ७५ हजार सम्म र सिजन (वर्खामा) झण्डै एक लाख ५० हजार भन्दा बढी आम्दानी हुने गरेको किसान काली रावतले बताईन् । उनले भनिन,‘परिवारको आम्दानी हुने स्रोत केहि छैन् । २०६० सालबाट तरकारी खेती गरेपनि व्यवसायीक खेती सुरु गरेको करिब दुई वर्ष भयो । तर यो अवधिमा कमाई राम्रो भएको छ । पहिला परम्परागत खेती गर्थेउ । अहिले किर्डाकले सिप र प्रविधि दुबै दिएपछि तरकारी खेती फष्टाएको छ ।’
अहिले छिमेकीको खेत समेत लिजमा लिएर तरकारी खेतीलाई विस्तार गरेको जानकारी दिइन् । किर्डाक नेपालले सिप दिनुका साथै झण्डै ३ लाखको लागतमा टनेल हाउस बनाएपछि व्यवसायीक तरकारी खेती गर्न सहज भएको उल्लेख गरिन् । उनका अनुसार गत वर्ष प्याज मात्रै ५ क्वीईन्ट उत्पादन गरेको र अन्य सबै खाले तरकारी नियमित उत्पादन भईरहेको छ ।
उता तिला गाउँपालिका वडा नं. ५ की पाना शाहीले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेकी छन् । उनले आफुले तरकारी खेती मात्र गरेकी छैनन् । आफ्नो जग्गामा किर्डाकले बनाइएको ३ लाख लगानीको बृहत्त टनेलमा तरकारी खेतीको प्रविधिबारे पनि सिकाउने गरेकी छन् ।
उक्त वडामा रहेको नौलो विहानी सिमि उत्पादन समुहका महिलाले उक्त टनेल हाउस मार्फत गाउँ घरमा हुने तरकारीबारे धेरै ज्ञान आर्जन समेत गरेका छन् । स्थानीय महिला रिता नेपालीले पछिल्लो समय ज्ञान पाएपछि खेती गर्दा विउ छनोट,मलजलमा ध्यान दिनु पर्ने कुरामा सचेत भएको बताईन् ।
भने अहिले घरमै जैविक मल समेत उत्पादन गर्न सिकेको जानकारी दिईन् । यता तातोपानी २ बाबिराका महिलाहरुले पनि समुहगत रुपमा तरकारी खेती गरिरहेका छन् । उत्पादन भएपनि बजारको अभाव रहेको उनिहरुको गुनासो छ । किर्डाकले खेत जोत्ने,जौ चुट्ने मेसिन समेत दिँदा कार्यबोझ घटेको बताएका छन् । तर मर्मतका लागि ज्ञान नहुँदा समस्या भएको उनिहरुको भनाई छ ।
वल्ड भिजनको सहयोगमा किर्डाकद्धारा संचालित ‘एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन’ परियोजनाले जुम्लाका तिला,तातोपानी,पातारासी,चन्दननाथ र गुठिचौरमा गरेका गतिविधिको अनुमगन गरिएको छ ।
अनुगमनका क्रममा तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले तातोपानीको उत्पादन तातोपानीमै खपत हुने गरी व्यवस्था मिलाईने बताए । पालिकाका २९ वटै विद्यालयमा अर्गानिक खाजा अनिवार्य गरेकोले समन्वय गरेमा उत्पादनको बजारीकरणमा समस्या नहुने उनको भनाई छ । साथै उनले श्रीनगरकी काली रावत तातोपानीकी अब्ब्ल किसान समेत भएको उल्लेख गरे ।
किर्डाक नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत ललित डाँगीले वल्डभिजनको आर्थिक सहयोग र किर्डाकको साझेदारी संचालित ‘एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन’ परियोजना मार्फत कालि रावत रावत दर्जनौ सफल किसान जन्माएको बताए ।
किर्डाकका सामाजिक परिचालक अजित थापाले किसानलाई उत्पादन बढाउन खेती प्रविधि बारे सिकाईएको बताए । परियोजनाले महिला शक्तिकरण र उत्पादनमा महिला सहभागीता बढाई सक्षम बनाउने उदेश्यले काम गरिरहेको उनको भनाई छ ।
अनुगमनपछि प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले किर्डाकले जुम्लामा कृषि उत्पादन बढाउन,महिला शसक्तिकरण,रैथानेबालीको संरक्षण लगायतका विषयमा उल्लेखीय काम गरेको बताए । परियोजनाका सफल अभ्यासलाई स्थानीय सरकारले निरन्तरता दिनुपर्नेमा जोड दिए ।