जुम्ला । सांसदहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रधानमन्त्रीको समय नमिलेका कारण अन्तिम समयमा दीक्षान्त समारोह रोकिएको भन्दै आपत्ति समेत जनाएका छन् ।
बैठकमा राष्ट्यि प्रजातन्त्र पार्टीका संसदीय दलको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एतिहासकै झुट प्रधानमन्त्री केपी शर्मा ओली भएको बताए । उनले सम्पूर्ण तयारी भईसकेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहलाई अन्तिम समयमा स्थगित गर्न लगाएको भन्दै आपत्ति जनाए।
दीक्षान्तका लागि विभिन्न स्थानबाट पुगेका विद्यार्थीको खर्च कसले व्यहोर्ने भन्दै प्रश्न गरे ? उनले भने,‘दिक्षान्त समारोहमा सहभागी हुन आएका विद्यार्थीको खर्च,तयारीमा लागेको सबै खर्च प्रधानमन्त्रीले तिर्नु तिर्नुपर्छ । हुकुमी शासनले चल्दैन् । अन्तिममा आएर आउन सक्दीन भन्न मिल्छ ।’
साथै सांसद शाहीले नेपालले भारतबाट मात्रै ६ खर्बको स्याउ निर्यात गर्ने र जुम्लाको स्याउलाई बाटोमा लागु औँषध ल्याए जस्तो गरी जाँच हुने गरेको प्रति पनि आपत्ती जनाए । कर्णाली राजमार्गको दुरावस्थाले पनि नागरिकलाई भएको सास्ती प्रति सरकारको ध्यानर्कषण गराए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि स्थगित गरिएको थियो । भाद्र २३ गतेका लागि तय भएको दीक्षान्त समारोह मध्यरात स्थगित भएर आगामी कार्तिक २८ गते गर्ने मिति तय भएको छ ।