तातोपानीले गर्यो दुई हजार घरधुरीको घरबीमा,पाँच लाख क्षतिपुर्ति पाउने

तातोपानी गाउँपालिकाको कार्यालय

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाका दुई हजार बढी घरधुरीको घरबीमा गरेको छ । भूकम्प लगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिबाट नागरिकलाई राहत दिन तातोपानीले घरबीमा गरेको हो ।

पहिलो चरणमा पालिकाका दुई हजार ७८ घरधुरीको घरबीमा गरिएको छ । पालिकाका कुल तीन हजार तीन सय घरधुरीमध्ये पहिलो चरणमा दुई हजार ७८ घरधुरीको बीमा गरिएको हो । प्राय: गाउँमा परम्परागत शैलीकै घर भएको र भूकम्पलगायत बाढी पहिरोले कर्णालीमा ठूलो भौतिक क्षति हुने गरेको छ । विज्ञले कर्णाली भूकम्पीय उच्च जोखिममा रहेको दाबी गरेका छन् । गत कात्तिक १७ गते जाजरकोट भूकम्पको धक्काले जुम्लाको दर्जन बढी घरमा क्षति पुर्‍याएको थियो ।

त्यसमा तातोपानी–८ का प्रेमबहादुर शाहीको घर पूरै भत्किएपछि उनी विस्थापित भए । पालिकाले दिएको सामान्य राहतले केही दिनको छाक टरे पनि आवास बन्न सकेन । महिनौ दिन खुल्ला आकाशमा बस्न बाध्य भए । प्राय: विपद्बाट क्षति भएपछि नागरिकले तत्काल राहत नपाउने, पाए पनि आवश्यकता परिपूर्ति नहुने समस्या छ । गत वर्षको असोजमा आएको बाढी पहिरोले घर भत्किएका जुम्ली नागरिकले कतैबाट राहत पाउन सकेनन् । स्थानीय सरकारले दिएको एक त्रिपाललगायतका सीमित लत्ता कपडाले घरको आवश्यकता पूरा गर्न सकेन ।

बढ्दो भूकम्पीय जोखिम, बाढी पहिरोले गर्ने क्षति र बीमा नगरेका कारण नागरिकले बेहोर्नु परेको घाटा नोक्सानलाई मध्यनजर गर्दै जुम्लाका आठ पालिकामध्ये तातोपानीले मात्रै नागरिकको राहतका लागि घरबीमा कार्यक्रम ल्याएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इंले बताए । उनका अनुसार बढ्दो भूकम्पीय जोखिम र त्यसले गर्ने क्षतिलाई मध्यनजर गर्दै तातोपानीले पहिलो चरणमा दुई हजार ६८ घरधुरीको बीमा गरेको छ ।

अध्यक्ष चौलागाईंले भने, ‘विपद आएर क्षति भइसकेपछि पालिकाले दिएको १०/१५ हजार राहतले कुनै आवश्यकता पूर्ति हुने देखिएन । सबैलाई थोरैथोरै राहत दिनुभन्दा एकमुष्ट बीमा गरिदिएपछि नागरिक पनि ढुक्क पालिका पनि ढुक्क । त्यही राहत दिने रकमकै बीमामा लगानी गरेका छौं । अब विपद्बाट घर भत्किएको खण्डमा नागरिकले उचित राहत पाउने छन् ।’

बाढी पहिरोपछि राहत वितरणमा ढिलाइ हुने, तथ्यांक संकलनमै महिना बित्ने, तत्काल राहत नपाएको भन्ने गुनासो उत्तिकै आउनेजस्ता समस्या रहेकाले घरको बीमा नै गरिदिएपछि सबै समस्याबाट मुक्त भइने अध्यक्ष चौलागाईंले उल्लेख गरे ।

शिखर इन्स्योरेन्स कम्पन्नी लिमिटेड जुम्लाले दुई हजार ७८ वटा घरको बीमा पोलिसिसमेत पालिकालाई हस्तान्तरण गरी लागू भइसकेको छ । पालिकाले प्रतिघरको ४४३ रुपैयाँ ७५ पैसाका दरले नौ लाख २२ हजार ११२ रुपैयाँ प्रिमियम शुल्क इन्स्योरेन्सलाई बुझाइसकेको छ । ४४३ रुपैयाँ पालिकाले तिरिदिएर कुनै क्षति भएको खण्डमा तातोपानीबासीले पाँच लाख बराबरको क्षतिपूर्ति पाउने छन् । जिल्लाकै नमुना कार्यक्रमका रूपमा घरबीमा नागरिक पनि उत्साहित भएका छन् ।

यता शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले पालिकाले कुनै विपद् पर्दा त्रिपाल लिएर जानुभन्दा नागरिकको बृहत्तर हित हुने खालको घरबीमा नमुना कार्यक्रम ल्याएको बताए । उनले स्थानीय सरकारले यस्ता जनमुखी कामलाई विशेष जोड दिए पनि नागरिकको जीउधन सुरक्षा सरकारको अनुभूति हुने उल्लेख गरे ।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले नागरिकको राहत र उद्धारसँगै उचित क्षतिपूर्ति व्यवस्थापनका लागि बीमा कार्यक्रम ल्याइएको बताए । पालिकाले पाँच लाख बराबर क्षतिपूर्ति पाउने गरी रकम तिरेको त्योभन्दा बढीको बीमा गर्न स्वयम् व्यक्तिले रकम थप्नु पर्ने उनको भनाइ छ ।

इन्स्योरेन्स कम्पनीका अनुसार जुम्लामा घरबीमा गर्नेको संख्या निकै न्यून छ । तातोपानी दुई हजार ७८ सहित गरेर जुम्लाभर तीन हजार ४७८ घरधुरीको मात्रै बीमा गरिएको छ । १९ हजार घरधुरीमध्ये अझै साढे १५ हजार घरधुरी बीमाको पहुँच बाहिर छन् ।

प्रकाशित मिति : २०८१ असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस