७० लाख पेश्की लिएका ठेकेदारले सुरु गरेनन् ‘रारा खानेपानी’ आयोजनाको काम

ठेकेदार भन्छन: असारमा पेश्की रकम लिएकोले दसैंपछि आयोजनाकाे काम सुरुवात हुन्छ

जुम्ला। स्वस्थ खानेपानी नागरिकको संवैधानिक अधिकार हो । नेपालको संविधान, २०७२ मा मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा लेखिएको ‘प्रत्येक नागरिकलाई स्वच्छ Advanced तथा सरसफाइमा पहुँचको हक हुनेछ’ भन्ने कुरा संविधानमा नै सीमित भएको छ ।

तिला गाउँपालिका – १ रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ भयो । काकाकुल रारा गाउँमा खानेपानीको चरम समस्या छ । अहिले गाउँमा २०३५ सालमा निर्माण गरिएका चार वटा सार्वजनिक खानेपानीका धारा छन् । दैनिक ४ घण्टा पानी आउने धाराबाट दुई सय ६० घरधुरीले पानी खाई रहेका छन् । कहिले काँही धारामा पानी नआउदा एक घण्टा टाढा दुरीमा रहेको तिला नदिको दुषित पानी खाने गरेका छन् ।

४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीणर् हुँदै छ। मूल पनि सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो । गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ ।

रारागाउँको मुनि कणर्ाली राजमार्गको जुम्ला सडकखण्ड छ । सडकमुनि तिला नदी अनवरत बगिरहेको छ । तर, नदीमा पिउनयोग्य पानी बग्दैन । रारा गाउँवरिपरि पर्याप्त उर्वर जमिन छ । तर, पानी अभावले रारागाउँ नै मरुभूमि भएको छ । ‘घरवरिपरिका करेसाबारी बाँझै छन्, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । उत्पादन हुने जमिन छ, तर सुक्खा छ । नदीको पानी खेर गइरहेको छ । सुक्खा जमिनमा उभिएर तिला नदी हेरेर बस्छौं,’ स्थानीय धनराज रावतले भने ।

राष्ट्रिय जनगणना ०७८ अनुसार रारामा दुई सय ६८ घरधुरी र एक हजार ६ सय २६ जनसंख्या छ । शुद्ध पानीको मुहान नहुँदा ‘एक गाउँ एक वडा’ भएको रारागाउँका नागरिकले दैनिक समस्या भोगिरहेका छन् ।

यही गाउँलाई प्रयाप्त खानेपानीको पहँचमा ल्याउनका लागि १४ वर्ष पहिले संघियता अघि बृहत खानेपानी आयोजना निर्माण थालिएको थियो । त्यो आयोजना पनि सफल नभएर नागरिकले खानेपानी खान पाएनन् । त्यो आयोजनाको के कति बजेट खर्च भयो एकिन छैन । आयोजना किन असफल भएको कसैको चासो पनि भएन । अहिले पनि असफल आयोजनाका निर्माण सामग्री जीआई पाइप तिला गाउँपालिका – ८ पुरुगाउँको खोलामा लथालिंग फालिएको देखिन्छन् ।

खानेपानीको पहिलो आयोजना असफल भएपछि आयोजना रद्द गरी गत आर्थिक वर्ष २०८०/०८१ देखि दोस्रो आयोजना सुरु गरिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् । उनले भनिन् गतवर्ष आयोजनाको दुई करोड बजेट हो । ७० लाख ठेकेदारले पेश्की रकम लिए । अरु बजेट एक करोड ३० लाख रुपियाँ फ्रिज भयो । गत वर्षको असारमा ठेकेदारले ७० लाख बजेट पेश्की लिएपनि खानेपानी आयोजनाको काम सुचारु गरेका छैनन् ।

रारा गाउँ खानेपानी आयोजना ४ करोड बजेटमा तीन वर्षमा आयोजना सम्पन्न गर्ने गरी गत वर्षको असारमा निर्माण कम्पनी शिवदेउती, सुलोचना, बजु जेभीसंग सम्झौता भएको हो ।

गाउँमा तीन वर्षभित्र खानेपानी पुर्‍याउने गरी संघीय सरकार, राष्ट्रिय योजना आयोग, गैरसरकारी संस्था यूएनडीपी र गाउँपालिकाको संयूक्त लगानीमा खानेपानीको योजना निर्माण गर्न थालिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।

तिला गाउँपालिका -६ बाट रारा गाउँसम्म मुहानको संरचना १५ किलोमिटर टाढा रहेको छ । यो आयोजनामा गत वर्ष असारदेखि आयोजना सूरुवात भएको हो । गाउँपालिका प्राविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईका अनुसार गत वर्षको असार ११ गते ठेक्का सम्झौता भएको हो । निर्माण व्यवसायीले असार २१ गते मात्रै पेश्की रहेका लिएका हुन् । साउन भदौँ महिनामा निर्माण साम्रगी पाईप ल्याउनु पर्ने हो । बाढीपहिरोले सडक पटक पटक अवरुद्ध हुदा सामग्री ल्याउन सकेनन् । उनले भने, असोज १० गते खानेपानीको पाईप खन्ने लाइन दिएका छौँ । अब पाइपको लाइन खन्न सुरु हुन्छ । दुई वर्षमा खानेपानी आयोजना सम्पन्न हुन्छ ।

शिवदेउती, सुलोचना, बजु जेभीका निर्माण व्यवसायी दिनेशराज उपाध्यायका अनुसार गत वर्षको असारमा ठेक्का सम्झौता भएको हो । ठेक्का सम्झौतापछि ७० लाख बजेट पेश्की लिएका छौँ । चालु आर्थिक वर्षको साउन भदौँमा बर्षादका कारण काम हुन सकेन । उनले भने, अब दसैँपछि आयोजनाको काम सुचारु गर्ने तयारी गरेका छौँ । ठेक्का सम्झौता भएको समय अगाबै दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस