जुम्ला । सिंजा गाउँपालिका वडा नं ४ शनिगाउँमा आयाेजित नि:शुल्क स्वास्थ्य शिविरबाट ३२० जना स्थानीय नागरिक लाभान्वित भएका छन् ।
गाउँपालिकाकाे आयाेजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्राविधिक सहयाेगमा संचालित शिविरबाट वडा नं ४ का ३ सय २० स्थानीय प्रत्यक्ष लाभान्वित भएकाे सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए ।
उनका अनुसार गाउँमै स्थानीय विभिन्न राेगकाे निशुल्क परिक्षण गरि उपचारमा सहज गर्ने उदेश्यले शिविर आयाेजना गरिएकाे हाे ।
कूल स्वास्थ्य जाँच गरिएका कूल ३ सय २० जना मध्य सबैभन्दा बढी हाडजाेर्नी सम्बन्धी ११० जनाकाे चेकजाँच गरिएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक तथा हाडजाेर्नी विशषज्ञ डाक्टर पुजन राेकायाले जाँच गरेका थिए ।
त्यस्तै मनाेसामाजिक परामर्श सेवा ५० जना,स्त्री राेग सम्बन्धी ६५ जना,समान्य चिकित्सकीय परामर्श सेवा ५० जना र अन्य ४५ जना सहित कुल ३ सय २० जनाले शिविरबाट सेवा लिएका छन् ।
अध्यक्ष धितालका अनुसार शनिवार नराकाेट स्वास्थ्य चाैकीमा समेत शिवीर संचालन हुने छ । सिंजा गाउँपालिकाले नागरिककाे राहतका लागि गाउँमै विभिन्न खाले स्वास्थ्य शिविर संचालन गर्दै आएकाे छ ।



