जुम्ला । खष भाषा साहित्य र परम्परा झल्कीने संरचना निर्माण गर्ने लक्ष्य सहित जुम्लाको सिंजा गाउँपालिका–२ बिष्टबाडा गाउँमा ‘सिंजा खष संग्राहालय शिलान्यास गरी निर्माण थालियो । २०७६ साल असार ६ गते शिलान्यास गरिएको खष संग्रहालय जुम्लाको परम्परागत घर ‘रातो सेतो कमेरोले पोतेको,माटोकै छानो भएको, ढुंगा माटोको प्रयोग गरिएको संरचना बन्ने अपेक्षा थियो ।
सिञ्जा सभ्यताको ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाहरु झल्किने,जुम्ली पहिचान झल्काउने तथा पर्यटकका लागि अवलोकन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले संग्रहालय बनाउन थालिएपनि हाल उद्श्य विपरित कंक्रीट संचरना मात्रै बनेका छन् ।
निर्माण थालनी भएको ६ वर्षको अवधिमा वर्षेनी संघ प्रदेशले विनियोजन गरेको लाखौ बजेट खर्चिएर खष सभ्यता जोगाउने,जुम्ली पहिचान झल्काउने नाममा कंक्रिट संरचना मात्रै बनाइएको छ । नाम खष संग्रहालय भएपनि संरचना सबै आधुनिक बनेका छन् । कूल ४ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भईरहेको संग्रहालयमा हाल सम्म सरिया,सिमेन्ट प्रयोग गरिएकै पक्की पर्खाल,जस्ता पाता छाएको पक्की भवन दुई वटा र ढलान गरिएको भवन एउटा निर्माण गरिएको छ । झट हेर्दा कुनै पनि दृष्टीले खष संग्रहालय जस्तो देखिन्न ।
पर्यटकहरुले खष संग्रहालय घुम्न आउँदा परम्परागत भन्दा आधुनिक घरमात्रै देख्ने स्थिती छ । यसले गर्दा सभ्यता जोगाउने भन्दा मेटाउने कार्यलाई सरकारी पक्षलेनै प्रसय देखिएको देखिन्छ । कर्णाली प्रदेश सरकार र भु–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहजीकरणमा संग्राहलय निर्माण हुन थालेको हो ।
जसमा २०७६ सालमै नेपाल सरकार उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको ५० लाख सहयोगमा खस संग्रहालय बनाउने काम सुरु भएको थियो । जसमा पछिल्लो वर्षमा सिंजा गाउँपालिकाले पनि लगानी गरिरहेको छ ।
२०७६ सालमा संघीय सरकारबाट विनियोजन ५० लाखमध्ये २० लाख डीपीआरमा खर्च भयो । बचेको ३० लाखमा ४ हजार वर्गमीटर क्षेत्रमा पक्की पर्खाल निर्माण गरिएको छ । पछिल्लो वर्षमा गाउँपालिकाको २५ लाख लगानीमा पुस्तकालय भवन निर्माण गरिएको छ । उपभोक्ता समितिक सचिव महेन्द्र राज तिवारी पुस्तकालय भवन निर्माणमा २५ लाख विनियोजन भएकोमा खर्च २८ लाख भएको र ३ लाख घाटा भएको बताउँछन् ।
त्यस्तै गाउँपालिकाकै आठ लाख लगानीमा स्थानीय परम्परागत भवन निर्माण गरिएको छ । उक्त भवन दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । साथै ५१ लाख लगानीमा संग्रहालय भवन निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकारको १० लाख र सिञ्जा गाउँपालिकाको ४१ लाख लागतमा निर्माण गरिएको उपभोक्ता समिति सचिव तिवारीले उल्लेख गरे ।
हाल सम्म विभिन्न संरचना निर्माणका लागि तीनै तहका सरकारको एक करोड ३४ लाखबढी बजेट खर्च भईसकेको छ । खष संग्रहालयका नाममा पक्की भवन बन्नु गलत भन्दै तिवारी लगायतका केहि स्थानीय सुरुवाती देखिनै आलोचना गर्दै आएका थिए । तर संघ प्रदेशबाट आउने बजेट र स्टमेटलेनै कंक्रिट संरचना बनेका छन् ।
आएको बजेट फिर्ता पठाउनु भन्दा बाध्य भएर कंक्रिट संरचना बनाएका छौ । संग्रहालय निर्माण उपभोक्ता समितिका सचिव समेत रहेका तिवारी संग्रहालयका लागि बनिरहेका संरचनाप्रति सन्तुष्ट छैनन् । उनी भन्छन,‘सुरूदेखि नै संग्रहालयका लागि कंक्रिट संरचना नबनाउ भनेको हो । तर हाम्रो भनाइको सुनुवाइ भएन । अहिले हेर्दा पक्की भवन मात्रै देखिन्छ । यहाँका जानसुन व्यक्तिहरुनै चुप लागेपछि बजेट खर्च गर्नका लागि मात्रै संचरना बनाए जस्तो देखियो ।’
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय अभिलेखालयमा जुम्लाका ३३ वटा सम्पदा सूचीकृत छन् । ती सम्पदा झल्कीने गरी संचरना बन्नु पर्नेमा हचुवाका भरमा संग्रहालय निर्माण भईरहेको स्पष्ट हुन्छ ।
यता सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल गाउँपालिकाको लागनीमा कुनै कंक्रीट संरचना निर्माण नभएको दाबी गर्छन् । पालिकाको लगानीबाट स्थानीय सामाग्री प्रयोग भएको परम्परागत घर निर्माण गरेका छौ । अध्यक्ष धिताल भन्छन,‘त्यहाँ बनेका पक्की संचरना सधै संघ प्रदेशको लगानीमा निर्माण भएका हुन् । संघ प्रदेशको बजेटमै पक्की संचरना बनाउने स्टमेट थियो होला । तर पालिकाले परम्परागत संरचनानै बनाएको छ । अब आगामी बैशाखबाट संग्रहालय संचालनमा ल्याउने तयारी छ ।’
तर संघ प्रदेशकै लगानीमा बनेपनि खष संग्रहालयमा कंक्रीट संरचना बनाईनु उपयुक्त होईन् । सुरुमा चर्को आलोचना पनि भएन् । आएको बजेट फिर्ता नपठाउने मनसायले स्टमेटनुसारकै संरचना बनाइयो । अब सबै संरचनालाई स्थानीयकरण गर्न खष सभ्यता झल्कीने गरी रंगरोगन तथा भित्री बाहिरी व्यवस्थापन गरिने अध्यक्ष धितालले जानकारी दिए ।बिष्टबाडाका स्थानीय गोविन्द तिवारी, तोयानाथ तिवारी, प्रेमनाथ तिवारी र मोतिपुरा तिवारी मिलेर घर नजिकको जिउलो ४ हजार वर्गमिटर जमीन दानमा दिएका छन् ।
सिंजाको छोटो ईतिहास
१४५५ मा राजा जालन्धरले सिञ्जा राज्य स्थापना गरेका थिए। राजा जालन्धर शिवभक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ जोडेर सिञ्जा नाम रहन गएको जनविश्वास छ ।
सिंजा क्षेत्रको शिलालेख, ऐतिहासिक स्थल, पाण्डव गुफा, विराटदरबार, कनका सुन्दरी मन्दिर लगायत ढुंगाले कुँदिएका विभिन्न आकृति छन् । तर,संरक्षण नहुँदा सम्पदा बेवारिसे अवस्थामा छन्। तीनको भग्नावशेष मात्रै भेटिन्छन् ।
तत्कालीन सिञ्जाबाट जारी ताम्रापत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रूप फेला परेका छन् । सिञ्जा सभ्यता खस संग्रहालय सिञ्जा गाउँपालिका वडा नम्बर २ बिष्टबाडामा अवस्थित छ । बिष्टबाडामा १२ देखि १५ औँ शताब्दीको बीचमा निर्माण गरिएका देवल तथा शिलालेख छन् ।