जुम्ला – तातातोपानी गाउँपालिका -४ स्थित गिडिदहलाई पर्यटकिय सम्पदामा सुचिकृत गर्न कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलसँग माग गरिएकाे छ । वडाअध्यक्ष अमर बहादुर रोकायाले मुख्यमन्त्री कँडेललाई ज्ञापनपत्र बुझाउँदै यस क्षेत्रको पर्यटन प्रवर्द्धनसहित पर्यटकिय सम्पदामा सुचिकृत गर्न माग गरेका हुन् ।
वडाध्यक्ष राेकाया अनुसार गिडिदह, जुम्ला जिल्लाको तातोपानी गाउँपालिकामा अवस्थित, कर्णाली प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थलहरूमा गनिन्छ। समुद्र सतहदेखि करिब ३,४८५ मिटर उचाइमा रहेको यो दह घना जङ्गलले ढाकिएको छ र नेपालकै राष्ट्रिय झन्डाको आकारमा विभाजित छ। यो क्षेत्र नापजाँचका आधारमा कर्णाली प्रदेशका तालहरूमध्ये तेस्रो गहिरो दहको रूपमा चिनिन्छ।
गिडिदहको प्राकृतिक र जैविक विविधता यसलाई एक अद्वितीय गन्तव्य बनाउँछ। यहाँ विष्टज्यू, बजेडीखोला, दुधवाडीखोला जस्ता स्रोतहरूले दहलाई जीवन प्रदान गर्ने कुरा ज्ञापन पत्रमा उल्लेख छ।
दहको अधिकतम लम्बाइ १,५१० मिटर, चौडाइ ३१० मिटर र गहिराइ ४२.८ मिटर रहेको छ। पानीको कुल आयतन ७३,५०,३२३,९९ घन मिटर छ भने गिडिदह विभिन्न प्रजातिका जडिबुटीहरू, रुखहरू, चराहरू र लोपोन्मुख जनावरहरूको पाइन्छन्।
गिडिदह क्षेत्रका फुलचौल्या, लामाचौर र पानसय पाटन धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थानहरू मानिने वडाध्यक्ष रोकायाले बताए।
उनले मुख्यमन्त्री कँडेललाई बुझनएको ज्ञापनपत्रमा गिडिदह र जुम्लाका अन्य पर्यटकीय स्थलहरूको प्रवर्द्धन, संरक्षण र विकासका लागि माग गरिएको छ ।
पर्यटकीय सम्पदाको सूचीकरण: कर्णाली प्रदेशको पर्यटकीय सम्पदामा गिडिदहलाई समावेश गर्न, पर्यटन गुरुयोजना निर्माण: जुम्लाका प्रमुख पर्यटकीय स्थलहरू समेट्ने गुरुयोजना बनाउन र त्यसका लागि बजेट सुनिश्चित गर्न, पर्यटन सडक निर्माण: गिडिदहसम्मको पहुँच सुधार्न २० कि.मि. सडक निर्माणका लागि बजेट विनियोजन गर्न, सिमसार क्षेत्र घोषणा: गिडिदह क्षेत्रलाई सिमसार क्षेत्रका रूपमा संरक्षण गर्न नीतिगत पहल गर्न, मोटरेबल पुल निर्माण: गिडिदह जाने मार्गमा शोभानदीमा मोटरेबल पुल निर्माणका लागि बजेटको व्यवस्था गर्न र विद्युत उत्पादन योजना: गिडिदहको जलस्रोत प्रयोग गरी विद्युत उत्पादन सम्भाव्यता अध्ययन गर्न र यसलाई गौरवको योजना बनाउन माग गरिएकाे छ ।
तातोपानी गाउँपालिकाले गिडिदहको महत्त्व बुझेर विभिन्न पहलहरू सुरु गरिसकेको छ। राष्ट्रिय ताल संरक्षण विकास समितिको सहकार्यमा, वातावरण विज्ञहरूको टोलीले यस क्षेत्रको विस्तृत नापजाँच गरिसकेको छ।
तथापि, गिडिदहको उचित विकास र प्रवर्द्धनका लागि संघीय तथा प्रदेश सरकारको साथबिना स्थानीय तहको प्रयास सीमित हुने देखिएको हुनाले मुख्यमन्त्रीबाट थप काम हसने अपेक्षासहित ज्ञापनपत्र बुझाइएको वडाध्यक्ष रोकायाले बताए।
तर, सडक र सञ्चारजस्ता आधारभूत पूर्वाधारको अभाव, कमजोर नीति कार्यान्वयन, र बजेट अभावले यी गन्तव्यहरूको विकासलाई अवरुद्ध बनाइरहेको उनको बुझाइ छ।
“गिडिदहको संरक्षण र विकास जुम्लाको मात्र नभई सम्पूर्ण कर्णाली प्रदेशकै समृद्धिको मार्ग बन्न सक्छ,” उनले भने, “यसलाई नेपालको पर्यटकीय नक्शामा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न प्रदेश सरकारको नीतिगत निर्णय अत्यन्तै महत्त्वपूर्ण हुनेछ।”
मुख्यमन्त्री कँडेलको जुम्ला भ्रमणका क्रममा प्रस्तुत गरिएको ज्ञापनपत्रले कर्णाली प्रदेश सरकारले गिडिदह र जुम्लाका अन्य गन्तव्यहरूको समग्र विकासमा अग्रसर हुने आशा गरिएको उनको भनाई छ।



