जुुम्ला । दशैँ राष्ट्यि उद्योग दिवसका अबसरमा जुम्लाका १० जना उद्यमी पुरस्कृत भएका छन् । जुम्लाको उत्पादनलाई प्रशोधन गरी जिल्ला भित्र र जिल्ला बाहिर पुराएर बजारीकरण गर्दै आएका १० जना उद्यमी पुरस्कृत भएका हुन् ।
जसमा श्रृष्टि एण्ड संशार फलफूल उत्पादन तथा प्रशोधन उद्योग संचालक नारायणी चौलागाँई,लक्की आलु चिप्सका उद्योगका संचालक सख्खी कठायत, हस्तना डेरी उद्योगका संचालक हस्तना न्यौपाने, खरायो पालन उद्योगका संचालक पदमवहादुर रोकाया, चुलि हिमाली उद्योगका संचालक टेकवहादुर बुढा पुरस्कृत भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीले बताए ।
उनका अनुसार विष्णु कृषि तथा पशुपंछि उद्योग संचालक हिम वहादुर रावल, महत भैँसि पालन उद्योग संचालक गोपाल महत,मालिका तेल प्रशोधन उद्योग संचालक सुर वहादुर रावत, र कैलाश फलफुल नर्सरी उद्योग संचालक गोर्खवहादुर भण्डारी पुरस्कृत भएका हुन् ।
स्थानीय उत्पादनको प्रशोधन तथा बजार प्रर्बद्धनमा निर्वाह गरेको उल्लेखीय भुमिकाको कदर गर्दै सम्मानपत्र सहित पुरस्कृत गरिएको छ । उद्यमी नारायाणी चौलागाईले पुरस्कृत हुँदा उद्यमशीलता प्रति थप जिम्मेवारी बढेपनि जुम्लामा अनुदान पचाउनका लागि खोलिएका नक्कली उद्योगलाई बन्द गर्न अभियान चलाउनु पर्ने बताईन् ।
उत्पादनको आधार भन्दा पहुँचको आधारमा अनुदान दिने परिपाटीले वास्तविक उद्यमी राज्यको सेवा सुविधाबाट बन्चित छन् । उनले भनिन,‘गाउँमै उद्योग संचालन गरी रैथाने बस्तुको बजारीकरण र अर्गानिक अचार उत्पादन गरेर राम्रै आम्दानी भईरहेको छ । उद्योगहरुले आयाआर्जन वृद्धिमा सहज छ । स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरु जिल्ला बाहिर लिनका लागि सहज वातावरण नहुँदा समस्या छ ।’
वास्तविक उद्यमीको विकास र लगानी बढाउन राज्यले लगानी गर्नुपर्ने उनको माग छ । स्थानीय उत्पादनले बजार नपाएर थन्कीएको छ । अनुदान पचाएर उद्योगमा ताल्चा लगाउनहरुसंग सरकार निरिह छ । हस्तना डेरी उद्योगका संचालक हस्ताना न्यौपानेले भनिन,‘राज्यले उत्पादनका आधारमा मात्र अनुदान दिनुपर्छ । लाखौ लगानी गरी डेरी खोल्यो तर खुद्रा पसलबाट पनि दुधदहि विक्रि हुँदा समस्या छ । व्यापार व्यवसायमा पनि एकद्धार प्रणाली नहुँदा काम गर्न कठिनाई छ । अनुदानका लागि उद्योग स्थापना हुने क्रम बढ्दो अवस्थामा रहेकाले नियमन गर्न जरुरी छ ।’
यता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगीले जुम्लामा हाल सम्म ४ हजार ४ सय ३० वटा उद्योग दर्ता भएको बताए । उद्योग दर्ता संख्याको आधारमा हजारौ यूवाले रोजगारी पाउनु पर्नेमा अनुदान सकिएपछि बन्द हुने उद्योगले राज्यको अनुदानको दुरुपयोग गरेको उल्लेख गरे ।
रोजगारी सृजना,उत्पादनको बजारीकण र आर्थिक समृद्धीको मेरुदण्ड मानिएको उद्योग क्षेत्र अनुदान मुखी भएको अनुगमन तथा निरिक्षणको पाटोलाई बलियो गर्नुपर्ने उनको भनाई छ । जुम्लाका आठै पालिकामा बजार अनुगमनदेखि उद्योगको नियमन कार्यलाई तिब्रता दिईने प्रमुख योगीले उल्लेख गरे ।



