जुम्ला । व्यापार व्यवसायबाट आम्दानी वृद्धिका लागि जुम्लाका उद्यमी व्यवसायीले व्यावसायिक योजना बनाउन थालेका छन् । लगानी र श्रम अनुसारको आम्दानी वृद्धि गर्न समय सुहाउँदो व्यावसायिक योजना निर्माण गर्न उद्यमी व्यवसायीहरू जुटेका हुन् ।
तिला गाउँपालिका– ८ का भीमबहादुर रावतले व्यावसायिक योजना नभएकै कारण विगत व्यापारबाट अपेक्षित आम्दानी नभएको बताए । ऋण जोहो गरी व्यवसायको थालनी गरे पनि ठोस योजना नहुँदा घाटा व्यहोर्दै आएको उनले बताए । उनले भने,‘खुद्रा व्यापारदेखि होटल व्यवसाय होस वा कुनै पनि व्यापारमा योजना विना सम्भव रहेनछ । सिजनअनुसारको व्यापार गर्न,उपभोक्ताको मागअनुसार सामान ल्याउने विषयमा ध्यान दिनुपर्दो रहेछ । किर्डाकले योजना बनाउने तालिम दिएपछि केही सहज भएको छ ।’
तिलाकै कर्णजीत रोकायाले भेडा पालन व्यवसायमा दाना पानीदेखि खरिद बिक्री मूल्य निर्धारणको ठोस योजना नबनाउँदा अहिलेसम्म अपेक्षित आम्दानी नभएको बताए । व्यवसाय हचुवाकै भरमा गर्नु भनेको लगानी जोखिममा पर्नु रहेको उनको भनाइ छ । उनी भन्छन्,‘ऋण जोहो गरी थालनी गरेको व्यवसायमा निश्चित लक्ष्य र योजना राखी काम गर्न जरुरी छ । कति आम्दानी गर्ने, कतिलाई रोजगार दिने ? थप लगानी कति गर्ने, जोखिम के के हुन सक्छन् भन्ने कुराको पूर्व आकलन गरी व्यावसायिक योजना सबैले बनाउन जरुरी रहेको छ ।’
व्यावसायिक योजना बनाउने तालिमपछि हाम्रा अधिकांश व्यवसायको लगानी जोखिममा रहेको र बेलैमा व्यावसायिक योजना निर्माणमा ध्यान दिनु पर्ने कूराको अनुभूति भएको होटल व्यवसायी कमला थापाले बताइन् । किर्डाक नेपालले तिला गाउँपालिकाका–एक , ६ देखि ९ का २० जना व्यवसायी उद्यमीलाई व्यावसायिक योजना बनाउने सम्बन्धी तालिम दिएको किर्डाकका सामाजिक परिचालक मुनबहादुर रावत बताउँछन् ।
उनका अनुसार होटल व्यवसायी, खुद्रा व्यापारी, भेडा पालक व्यवसायी, कुखुरा पालन व्यवसाय, फोटो स्टुडियो व्यवसाय सञ्चालनलगायतका उद्यमीलाई ‘व्यावसायिक योजना’ बनाउने बारे तालिम दिइएको छ । तालिमपछि आफ्नो व्यवसायप्रति व्यवसायीहरू जिम्मेवार रहेको पाइयो । पाँच दिनसम्म सञ्चालित तालिममा व्यावसायिक योजनाको फाइदा नबनाउँदा हुने जोखिम, आम्दानी वृद्धिका उपाय, बजार व्यवस्थापनको सिपलगायतका बारेमा सिकाइएको रावतले जानकारी दिए ।
कोरोनापछि हरेक व्यवसायमा घाटामै चलिरहेको गुनासो सुनिएको छ । आर्थिक गतिविधि पनि निकै न्यून भएका देखिन्छ । उनले भने,‘व्यापार किन घाटामा चलिरहेको छ ? ग्रामीण बजारदेखि सदरमुकामको बजारमा कसरी आर्थिक गतिविधि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न, व्यावसायिक योजना निर्माण तथा कार्यान्वयन गरी आम्दानी वृद्धि गर्न तालिमको आयोजना गरेका हौं’